नेपाल टेलिकमको नाफा २३ प्रतिशतले घट्यो, ब्याज आम्दानी र अन्तर्राष्ट्रिय कलमा भारी गिरावट
काठमाडौं : नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा खुद नाफामा २३.८२ प्रतिशतको गिरावट व्यहोरेको छ।
बैंकको ब्याजदर घट्नु र विदेशी कलबाट हुने आम्दानीमा कमी आउनुलाई नाफा घट्नुको प्रमुख कारण देखाइएको छ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार, यस अवधिमा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसअनुसार कम्पनीको नाफा ४१ करोड ४४ लाख रुपैयाँले घटेको हो।
वित्तीय विवरणअनुसार कम्पनीको सञ्चालन आयमा सामान्य कमी आए पनि कुल आय र नाफामा भने उल्लेख्य गिरावट देखिएको छ। कम्पनीको कुल आय गत वर्षको १० अर्ब ६ करोडबाट ५.८९ प्रतिशतले घटेर यो वर्ष ९ अर्ब ४७ करोडमा झरेको छ। यस्तै, करअघिको नाफा पनि १८.९० प्रतिशतले घटेर २ अर्ब ८८ करोडमा सीमित भएको छ।
कम्पनीको प्रति शेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ४५ पैसा कायम भएको छ।
नेपाल टेलिकमले नाफा घट्नुमा मुख्यतया चारवटा कारणहरू रहेको बताएको छ।
ह्वाट्सएप, भाइबर जस्ता ओटीटी सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट आउने आगमन कलमा भारी गिरावट आएको छ। यसले गर्दा अन्तरआवद्धता आय गत वर्षको तुलनामा करिब ११ करोड रुपैयाँ (१७.२९ प्रतिशत)ले घटेको छ।
बजारमा ब्याजदर घटेका कारण मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानीमा करिब ५० करोड रुपैयाँले कमी आएको छ, जसले गर्दा कुल ब्याज आम्दानी ४९ प्रतिशतले घटेको छ। कर्मचारी बीमा र अवकाशसम्बन्धी खर्चमा वृद्धि भएका कारण कुल कर्मचारी खर्च ८.८ करोड रुपैयाँले बढेको छ।
बढी लागत र कम प्रतिफल आउने विकट तथा दुर्गम स्थानहरूमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लगानी गर्दा कम्पनीको सञ्चालन लागत बढेको टेलिकमले जनाएको छ।
मंसिर १, २०८२ सोमबार १२:३७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।