एपीएलको टिकट नभएकालाई मैदान नआउन प्रहरीको अनुरोध
काठमाडौं : जिल्ला प्रहरी परिसर, काठमाडौंले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ओपनिङ खेलका लागि सम्पूर्ण टिकट बिक्री भइसकेको भन्दै टिकट नभएका दर्शकहरूलाई मैदान वरपर भिडभाड नगर्न अनुरोध गरेको छ।
नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो क्रेज र उत्साहका कारण आजको खेलका लागि सबै टिकट बिक्री भएको हो। खेल हेर्न ठूलो संख्यामा दर्शक आउने अनुमान गरिएकाले सम्भावित भीड र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले अग्रिम सूचना जारी गरेको हो।
प्रहरीद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘आज मिति २०८१ मंसिर १ गते कीर्तिपुर स्थित खेल मैदानमा हुने नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ।’
टिकट नभएका समर्थकहरू मैदान बाहिर जम्मा हुँदा सुरक्षाकर्मीलाई व्यवस्थापनमा कठिनाइ हुने र अनावश्यक भीड बढ्ने भएकाले प्रहरीले सबैलाई घर वा अन्य स्थानबाटै खेलको मज्जा लिन आग्रह गरेको हो।
मंसिर १, २०८२ सोमबार १०:३७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।