शेख हसिनाविरुद्ध ‘मानवता विरुद्धको अपराध’ मुद्दामा सोमबार फैसला, मृत्युदण्डको माग
एजेन्सी : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध लागेको 'मानवता विरुद्धको अपराध' सम्बन्धी मुद्दामा अदालतले सोमबार आफ्नो फैसला सुनाउने भएको छ।
बीबीसी बंगला सेवाका अनुसार, विशेष न्यायाधिकरणले स्थानीय समयअनुसार बिहान ११ बजे फैसला सुनाउनेछ।
अभियोजन पक्षले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमां खान कमालका लागि अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ। यो फैसलालाई लिएर देशमा उच्च सतर्कता अपनाइएको छ।
फैसलाको संवेदनशीलतालाई ध्यानमा राख्दै सर्वोच्च अदालतले सेना मुख्यालयलाई पत्र लेखेर न्यायाधिकरण (ट्राइब्युनल) वरपरको सुरक्षा व्यवस्था कडा पार्न सेना परिचालन गर्न अनुरोध गरेको छ।
फैसला सुनाउने क्रममा बंगलादेश टेलिभिजन (बीटिभी) ले त्यसको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ।
गत वर्ष बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको संलग्नता रहेको आरोप छ। ती घटनाहरूलाई 'मानवता विरुद्धको अपराध' ठहर गर्दै उनीमाथि मुद्दा चलाइएको हो।
सोही आन्दोलनका कारण हसिनाले सत्ता गुमाउनु परेको थियो र उनी देश छाडेर भाग्न बाध्य भएकी थिइन्। त्यसयता उनी भारतमा शरण लिइरहेकी छिन्।
मंसिर १, २०८२ सोमबार ०८:१८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।