मिसेस् मंगोल टिनाको प्रसव पीडा र खुसी:सुत्केरी भएर घर जाँदा छिमेकीको लाजले भागेँ

मिसेस् मंगोल टिनाको प्रसव पीडा र खुसी:सुत्केरी भएर घर जाँदा छिमेकीको लाजले भागेँ

टिना आले मगर फेशन डिजाइनिङमा रमिरहेकी छिन्। जाडो मौसममा लगाउने कपडा र ठुलो साइज भएका व्यक्तिहरूको लागि उनी विशेष पहिरन बनाउने गर्छिन्। लामो समय अध्ययनमा सक्रिय उनी यस क्षेत्रमा लागेको भने धेरै भएको छैन।

यस क्षेत्रमा नयाँ भए पनि उनले ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको अनुभव गरेकी रहिछन्। बहिनीसँग मिलेर यस काममा अघि बढेकी उनले अहिले भने आफै सबै कारोबार गर्ने गर्छिन्।

उनी ‘मिसेस् मंगोल नेपाल-२०२५’ विजेता समेत रहेकी उनी पाल्पामा जन्मिएकी हुन्। पाल्पाको किसान परिवारमा जन्मिएकी उनी ठुलो परिवारमा हुर्किइन्। उनको पाँच दाजुभाइ र पाँच दिदी बहिनी छन्। सानै उमेरमा बिहे भएर सानै उमेरमा आमा बनेकी उनको एक सन्तान छन्।

उनै फेशन डिजाइनर टिनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :

०००

पाल्पामा जन्मिएँ, हुर्किएँ। अहिले ललितपुरमा बस्छु। ठुलो परिवारमा हुर्किरहँदा निकै रमाइलो हुने नै भयो। सानो हुँदा आफ्नो परिवारको संख्या भन्न लाज पनि लाग्थ्यो। तर अहिले सोच्दा खुसी लाग्छ। केही दुख, अप्ठ्यारो पर्दा हामीलाई हामी मात्र भए पनि पुग्छ।

म दिदीबहिनी मध्येमा काइँली छोरी परेँ। परिवारमा कोही बिरामी भयो भने हामीले नै पाँच/दश हजार मात्र उठाए पनि धेरै राहत हुन्छ। पढ्दा पढ्दै मेरो बिहे भयो। बिहे पछि अझ भन्दा सन्तान भए पछि आफ्नो पढाइलाई निरन्तरता दिन सकिनँ।

हाम्रो समयमा १५/१६ वर्ष उमेरको भए पछि छोरीको बिहे गर्ने उमेर भयो भन्ने चलन थियो। मेरो अनि १८ वर्षको उमेरमा त सन्तान जन्मिसकेको थियो। छिट्टै नानी भए पछि चैँ पढाइमा रोक लगाउनु पर्यो। पढाइलाई निरन्तरता दिन समय लाग्यो।

घरमा बा आमा, दाइभाउजू, दिदीको बिचमा खेलेर खाएर हुर्किएको। बिहे पछि अर्को घरमा जाँदा त अलि अप्ठ्यारो त हुने नै रहेछ। सुरुमा अप्ठ्यारो लागेको थियो। तर गाह्रो भने मैले खासै महसुस गरिनँ। हाम्रो एक छोरा छ। अनि श्रीमानको काकाको छोरी, मेरो नन्द पनि सानी थिइन्।

उसलाई हाम्रो अर्को सन्तान जसरी हुर्कायौँ। त्यै भएर जन्म दिएको सन्तान एउटा भए पनि कर्म दिनेमा दुइजना छन्। बिहे गरेको अर्को वर्ष नै हाम्रो सन्तान भयो। त्यसबेला अहिले जस्तो केही थाहा थिएन। सबै कुरा नौलो, निकै अनजान भइयो।

अहिले बच्चाहरू हुर्किएको, आफ्नो ठाउँमा पुगेको अनि आफूलाई समय दिन पाएको देख्दा त खुसी पनि लाग्छ। तर त्यसबेला त निकै गाह्रो भएको थियो। एक समयमा त झन् अब मेरो जिन्दगी सक्यो भन्ने सम्म भएको थियो।

सुरुमा त गर्भवती भएको पनि थाहा भएन। बान्ता होला जस्तो हुन्थ्यो। पिरियड भइरहेको थिएन। तर मैले म गर्भवती भएँ भन्ने नै सोचेकी थिइनँ। निकै असहज भएको जस्तो भए पछि जँचाउन जाँदा गर्भवती भएको थाहा पाएँ।

चार महिनासम्म अलि ग्राहै भएको हो। त्यसबेला केही थाहा पनि भएन। गर्भवती भयो, भन्दा भयो भन्ने मात्र थियो। अहिले जति ख्याल गर्नुपर्छ, यस्तो गर्न पर्छ, उस्तो गर्न पर्छ भनेर आइरहेको छ। त्यो केही पनि भएन। खासै मतलब पनि गरिएन। उमेर नै त्यस्तै थियो कि ! बच्चा हुने भयो भने पछि श्रीमानले अलि बढी ‘सेक्योर’ महसुस गर्ने रहेछ। ‘ल मेरो श्रीमती म सँगै हुने भयो’ भन्ने जस्तो। मलाई चैँ त्यसबेला खासै उत्सुकता पनि थिएन। कति छिटो आमा बन्न लागे भन्ने लागेको थियो।

गर्भावस्थाको नौ महिना कस्तो कस्तो ! हाम्रो पाल्पा बजारमै भए पनि पानीको अभाव थियो। पानी लिन अलि तल नै जानु पर्थ्यो। भोलि बाबुलाई जन्म दिएको, आज जस्तो गाग्री बोकेर ठमठम परेर हिँडेको थिएँ। कसैले नबोक्नु पनि भनेनन्। मलाई पनि असहज भएन। एकदम सक्रिय हुन्थे। कपडाहरू पनि धारामै गएर निकै हेर्थे।

बाबु जन्माउनु भन्दा एक दिन अघि साथीहरूसँग फिल्म पनि हेर्न गएको थिएँ। त्यसबेला म गर्भवती छु भनेर साथीहरूले पत्याएकै थिएन। त्यसबेला मेरो खासै तौल बढेको थिएन। सानै उमेर भएर पनि होला। के गर्ने/नगर्ने समेत थाहा थिएन। खुब निन्द्रा लाग्थ्यो। तर भर्खर बिहे भएको कारण घरमा के भन्ला भनेर निदाउनै सक्दिन थिएँ।  

त्यसबेला खान मन लागेको सब खाएँ। पुलाउ खुब खान मन लागेको थियो। निकै खाएँ। अहिले सामाजिक सञ्जालमा हेर्दा मुड स्विङ हुन्छ भन्छ। तर मैले त त्यो पनि अनुभव गरिनँ। अहिले जस्तो खुलेर कुरा गर्ने चलन नभएर पनि होला। केही थाहा नै नहुने रहेछ।

अहिले अरूले उत्सव जस्तै रमाइलो गरेको देख्दा आफूले गर्न पाइनँ त्यसबेला भन्ने लाग्छ। व्यथा लाग्ने समयमा मलाई पेट भन्दा पनि ढाड निकै दुखेको थियो। पानीहरू मजाले बग्न थाले पछि हस्पिटलमा गएका हौँ। घर नजिकै हस्पिटल भएको कारणले बच्चा जन्माउन सजिलो हुन्छ भनेर व्यथा लागे पछि नि हिडेरै हस्पिटल गयौँ।

बिहान चार बजे तिर व्यथा लागेको। बेलुका छ/सात बजेको बिचमा मैले नर्मल नै बाबुलाई जन्म दिएँ। त्यसबेला मलाई जस्तो गाह्रो भयो। त्यो सम्झिएर पनि मैले अर्को सन्तान जन्माउन सकिनँ।

मेरो अगाडि एक जनाले जुम्ल्याहा सन्तान जन्माएको देखेँ। त्यो देखे पछि झन् मलाई निकै गाह्रो भएको थियो। व्यथा लाग्ने समय सम्म त मैले बच्चा जन्माउन सक्दिन होला भन्ने लागेको थियो। सासू र दिदी साथमै हुनुहुन्थ्यो। श्रीमान् चैँ प्रसूति कक्ष बाहिर ओहोरदोहोर गरिराख्नु भएको थियो।

बाबुलाई जन्म दिएपछि निकै हल्का अनुभव गरेकी थिएँ। भुँडीमा यसरी हात राख्दा त हात नै भित्र गएको जस्तो अनुभव गरेको थिएँ। ‘छोरा भयो’ भन्ने सुनेँ। तर तत्काल बोकौँ, हेरौँ भन्ने नै लागेन। आफू चैँ उड्न लागेको जस्तो आनन्द महसुस गरिराखेँ।  

भोक पनि निकै लाग्यो। स्तनपान पनि हस्पिटलमै गराएको हो। सुरुमा त गार्हो नै भएको हो। तर पछि मजाले दूध आयो। घर जाने बेलामा छिमेकीहरू देखेर निकै लाज लागेको थियो। कसैले केही भन्ला कि भनेर म त दौडेर घर भित्र छिरेँ।

पहिलो पटक आफ्नो सन्तान देख्दा पनि लाज पो लागेको थियो। यसलाई कसरी लिएर हिँड्ने होला भन्ने मन लागेको थियो। बाबु ठुलो निकै राम्रो थियो। सासूले सुत्केरी स्याहारमा पनि कुनै कमी गराउनु भएन। त्यै भएर हो, म अहिले पनि निकै बलियो छु।

१५ दिन पछि माइती गएँ। एक दुई महिना त्यहाँ पनि मजाले बसेँ। बाबु भए पछि पूर्ण रूपमा बाबुलाई नै समय दिएँ। आफ्नो पढाइ, काम सब छोडेर प्राथमिकतामा बाबु पर्यो। बाबु स्कुल जाने भए पछि फेरि पढ्न थाले। स्नातक तह सम्म पढाइलाई पुर्याए। काम पनि गर्न थाले।

श्रीमान् वैदेशिक रोजगारीमा जानु भयो। अनि म काठमाडौँमा आएर बाबुलाई पढाउन थाले। नानी र बाबु हेर्ने, अनि आफ्नो कामहरू पनि गर्ने गरेर मेरो दिन गयो। दुइजना नानीबाबुलाई हेर्न पर्दा अर्को सन्तानको चाहना नै भएन।

कहिले कहीँ निकै डर लाग्थ्यो। दुइलाई छेउ पारेर म बिचमा पनि सुतेको छु। उनीहरूलाई स्याहार्ने, पढाउने सबै काम गर्दागर्दै समय भएको थाहै भएन। बाबु सानै देखि आज्ञाकारी भएर निस्कियो। त्यै भएर पनि मैले गाह्रो भएको महसुस गरिनँ।

१२ कक्षा पढुन्जेल सम्म बाबु खासै घरबाट बाहिर निस्केन। त्यसपछि उच्च शिक्षाको लागि अस्ट्रेलिया गयो। नानु एमबिबिएस गर्नमा लाग्यो। बाबुले नेपालमै केही गरोस् भन्ने लाग्छ। म सँग अहिले प्रशस्त समय छ। तर उनीहरू साथमा छैनन्।

सानै उमेरमा बिहे भयो। बच्चा भयो। उनीहरू हुर्कियो। अहिले आफूलाई बिहे नै नभए जस्तो लाग्छ। एक चरणको जिम्मेवारी पुरा भयो। त्यै भएर पनि स्वतन्त्र भएको महसुस गर्छु।

आमा हुनु भनेको ठुलो जिम्मेवारी रहेछ। जसमा भरपुर ममता हुन्छ। आफूलाई बिर्सेर भए पनि सन्तानलाई अगाडी राख्न सक्ने क्षमता हुने रहेछ। धेरै कुरा जानिएन। तर समयले सब सिकाउने रहेछ। अब बाँकी समय म आफैलाई दिने अनि सामाजिक काममा बिताउने सोचमा छु।

कात्तिक ३०, २०८२ आइतबार १९:२७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।