कतारबाट फर्किएर बिर्यानीको लोभलाग्दो ब्रान्ड बनाएका जेन-जी उद्यमी रवि
१९ वर्षको उमेरमै रोजगारीको खोजीमा कतार पुगेका एक युवक। काम धेरै, कमाइ थोरै हुन्छ। कामबाट घर फर्किँदा एक दिन कतारको चिया चाख्ने अवसर मिल्छ। त्यो कडक चियाको स्वाद मुखमै बसिरहन्छ। मनमा लाग्छ- यही स्वाद नेपालीलाई पनि चखाउन पाए! १३ महिनासम्म पसिना बगाएर जम्मा भएको डेढ लाख रुपैयाँ सहित व्यवसायी बन्ने रहर बोकेर उनी स्वदेश फर्किन्छन्। समयले उनलाई हाँडी बिर्यानी रेष्टुरेण्ट तर्फ मोड्छ। अनि बन्छन् ‘हाँडी बिष्ट्रो एण्ड’ क्याफेका मालिक।
यो कथा हो पाल्पा चापपानी-६ का २८ वर्षीय रवि पाण्डेको। जेन-जी पुस्ताका पाण्डेले काठमाडौंमै बसेर अहिले दिनमा १००० प्लेट बिर्यानी बेचिरहेका छन्, ६० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन्। अनि यही माटोमा बसेर महिनामा ५ लाखसम्म आम्दानी गरिरहेका छन्।
सानैमा बुबा गुमाएपछि...
रवि पाल्पाको चापपानी-६ मा सामान्य परिवारमा जन्मिए। बुबा भारतमा मजदुरी गर्नुहुन्थ्यो। जेनतेन घरपरिवार चल्दै थियो। कमाउन भारत गएका बुबा बिरामी परेर घर फर्किनुभयो। 'म ८ वर्षको थिए। बुवालाई क्षयरोग(टिबी) भएको रहेछ। उपचार गर्दा पनि निको भएन। बुबा बित्नुभयो,' रविले भने।
बुबा बितेपछि घरमा आर्थिक समस्या देखिन थाल्यो। रवि आफन्तकोमा बसेर पढ्नलाई नवलपरासीको बर्दाघाट गए। 'आमा घरमै हुनुहुन्थ्यो। आमाको उमेर पनि धेरै भएको थिएन। सबैको सल्लाहमा आमाले दोस्रो विवाह गर्नुभयो,' रविले भने।
नवलपरासीको बर्दाघाटबाट २०६९ सालमा एसएलसी सकेर काठमाडौं आउँदा उनी १५ वर्षका थिए। ८ वर्ष हुँदा नै बुबा गुमाएका रवि जिम्मेवारीको भारी बोकेर काठमाडौं आए। प्रदर्शनी मार्गको पद्मोदय क्याम्पसमा ११ कक्षामा नाम लेखाए। अनि न्युरोडको एक होलसेल पसलमा काम थाले। कामको थकाइले बिस्तारै क्याम्पस जाने जाँगर लाग्न छाड्यो। जसोतसो १२ कक्षा पास गरे। त्यसपछि उनलाई यहाँ दुःख गर्न भन्दा विदेश गए बढी पैसा कमाउन सकिन्छ की भन्ने भएछ। वरपरका मान्छेहरूले पनि विदेश जान सुझाएपछि रवि कतार गए।
...अनि नेपाल फर्किए
कतारमा उनी एक साउथ इन्डियन रेष्टुरेण्टमा काम गर्थे- किचेन हेल्परको रुपमा। त्यो समयमा उनले विभिन्न परिकारहरू बनाएको देखे/सिके। दिनको १४ घण्टासम्म किचेनमै बस्नुपर्थ्यो। उनमा बिस्तारै काम प्रति वितृष्णा जाग्न थाल्यो। ' मलाई त्यो काम गर्दा एकदमै गाह्रो भइरहेको थियो। कहिले कहिलेकाँही त १४ घण्टासम्म बस्न पनि पाइँदैन थियो। खुट्टा दुखेर टेक्दै नसक्ने अवस्था हुन्थ्यो,' रविले दुःख सम्झिँदै सुनाए।
काम सकेर कोठामा पुगेपछि सुत्नु भन्दा बढी मोबाइलमै समय बिताउन थाले। 'मलाई नेपाल नै फर्किएर सानो भएपनि आफ्नै केही गर्छु भन्ने लागिरहेको थियो। अनि व्यवसाय कसरी गर्ने? कस्ता कुरामा ध्यान दिने ? नयाँ कुरा के गर्न सकिन्छ? जस्ता जिज्ञासाहरू इन्टरनेटबाट मेट्न थाले,' रविले भने।
यहीक्रममा रविले एकदिन त्यति बेलाको भारतको चर्चित चियाको ब्रान्ड 'चायोज'को भिडियो देखेछन्। त्यसपछि त उनले सपना देखेछन्। चिया पसल खोल्ने- त्यो पनि नेपाल फर्किएर।
तर उनलाई लागेछ। नेपालमा चिया त गल्ली-गल्लीमा पाइन्छ। अरू भन्दा फरक कसरी गर्ने त ? त्यसपछि उनी कतारका धेरै ठाउँमा डुलेछन्। फरक स्वादको चियाको खोजीमा। 'यतिसम्मकी म ४५ रुपैयाँ भाडा तिरेर २० रुपैयाँको चिया चाख्न समेत गए,'उनले भने।
उनले कतारका धेरै चिया स्टलहरू धाए। अनेक ‘फ्लेबर’का चिया चाखे। त्यहाँ सबैभन्दा बढी बिक्री हुने कडक चिया थियो। रविलाई पनि त्यो साह्रै मन पर्ने। 'त्यो चियाका लागि एक प्रकारको ‘लिकुइड’ पाइन्थ्यो। त्यसलाई दूधमा हालेपछि चिया तयार हुन्थ्यो,' रविले भने '१३ महिनामा जम्मा गरेको डेढ लाख मध्यबाट ५० हजारको कडक चिया किनेर लगेजमा प्याक गरे।' अनि व्यवसाय गर्ने सपना बोकेर रवि नेपाल फर्किए।
बिर्यानीले दिलायो सफलता
रविले कतारबाट फर्किँदा ५० हजारको कडक चियामा प्रयोग हुने ‘लिकुइड’ ल्याएका थिए। फर्किए लगत्तै ‘लोकेशन हन्टिङ’मा हिँडिहाले। उनलाई कुनै मलको बाहिर विदेशी स्टाइलमा सानो चियाको स्टल राखेर सुरू गर्ने मन थियो। तर भनेको जस्तो भएन। कसैले भाडा महँगो भने त कोहिले उमेर देखेर पत्याएन। यो फुच्चेले के गर्ला भन्नेहरू धेरै थिए। रवि थाकेका थिएनन्। नेपाल आएपछि चियाको ब्रान्ड खोल्ने सपना बोकेर ठाउँ खोज्न थाले। ‘चिया संसार’ भनेर लोगो बनाए, स्ट्याम्प तयार गरे, कप अर्डर गरे। 'यतिसम्म की म स्ट्याम्प बनाएर कोठाको भित्तामा छाप हानेर बस्ने गर्थे,' रविले भने। तर सटर नपाएपछि अर्डर गरेका ती सामान लिन पनि गएनन्।
अब खाली सटर नभएपनि केही न केही सुरु गर्छु भन्ने सोच्दै डुल्न छाडेका थिएनन्। बसन्तपुरमा चलिरहेको क्याफे बिक्रीमा लेखेको देख्दा उनले मन थाम्न सकेनन्। आफूसँग एक लाख मात्र थियो। आँट गरेर क्याफेको मूल्य सोध्न भित्र पसे। सोधे पनि। जवाफ आयो ९ लाख। पैसाको कारण रोकिएनन् रवि। किनभने उनीसँग आत्मविश्वास थियो, आँट थियो अनि गरेरै छाड्ने दृढ संकल्प पनि। आफन्तहरूसँग पैसा जोहो गरे। अनि सुरू भयो रविको व्यवसायीक यात्रा।
रविले चिया बेच्ने सपना पूरा गरे। आज भन्दा ७ वर्ष अगाडि काठमाडौंमा मट्का चियाको ट्रेन्ड अहिले जस्तो थिएन। रविले मट्का चिया सँगै मोःमो चाउमीन सबै बेच्न थाले। उनले कतारमा साउथ इन्डियन रेष्टुरेण्टमा देखेका परिकारहरू ट्राइ गर्न थाले। दिनरात पकाउँदै खाँदै अरूलाई चखाउन थाले। यही क्रममा बिर्यानी बेच्नका लागि तयार भयो। चियामा भन्दा बढी मार्जिन बिर्यानीमा देखेपछि रवि बिर्यानीमै फोकस भए। बिस्तारै ग्राहक दोहोर्याएर आउन थाले। बिर्यानी खोज्न थाले। अनि रविले पनि यसैलाई प्राथमिकतामा राखेर व्यापारलाई अगाडि बढाए।
कोभिडको झड्का
व्यवसाय बढ्दै गर्दा अचानक कोभिड आयो। ‘लकडाउन’ले पसल बन्द भयो। चार महिनाको खटाइ पछि विश्राम गर्न पाएका रविलाई केही दिन त रमाइलै लाग्यो। तर बिस्तारै ऋणले थिच्न थाल्यो। सहकारीको किस्ता र सटर भाडाको बिल थुप्रिँदै गयो। तीन महिनापछि पसल त खुल्यो। तर अवस्था नाजुक थियो। पसल खोलेको केही समयमै दोस्रो ‘लकडाउन’ सुरू भयो।
‘लकडाउन’को समयमा रवि ऋणका कारण दबाबमा परे। दिनमा १५ हजारको व्यापार हुन्छ भन्दै झूट बोलेर मागेको ऋण कसरी तिर्ने ? यो कुराले बेलाबेलामा उनलाई नसताउने होइन। तर उनले त्यो समयलाई सदुपयोग गर्न छाडेनन्। चुनौतीलाई अवसरको रुपमा हेरे। कसरी व्यवसायलाई नयाँ तरिकाले अगाडि बढाउन सकिन्छ। व्यवसायलाई ब्रान्ड कसरी बनाउने बारे अध्ययन गरिरहे। रवि घाटामा गएको व्यवसायलाई माथि उठाउन चाहन्थे। उनी यस्तो मान्छेको खोजीमा थिए। जसले केही रकम ल्याएर को-फाउन्डरको भूमिका निभाओस्। यही बीचमा रविसँग रोजालिन अर्याल को-फाउन्डरको रुपमा जोडिइन। अब व्यापारलाई अघि बढाउन दुई वटा दिमागले काम गर्ने भयो। रवि एक्लै भएनन्। रवि र रोजालिनले सीमित मेनु राखेर बिर्यानीमा फोकस गर्ने योजना बनाए। लकडाउन सकियो। अनि आयो ‘हाँडी बिष्ट्रो’लाई बिर्यानीको ब्रान्ड बनाउने सोच।

सामान्य क्याफेबाट चार आउटलेटसम्म
कतारमा काम गर्दा साउथ इन्डियन रेष्टुरेण्टमा काम गरेका रविलाई बिर्यानी बनाउन उति गाह्रो थिएन। उनी बिर्यानी चाख्न भारतको हैदराबाद समेत गए। अनि आफै किचेनमा गएर बिर्यानी बनाउन थाले।
अब तयार भएको बिर्यानीलाई ग्राहकसम्म कसरी पुर्याउने ? कस्तो प्रिजेन्टेसन दिने ? मूल्य कति राख्ने ? भन्ने विषयमा ध्यान दिन थाले। त्यतिबेला बिर्यानीको मूल्य ५ सय देखि ६ सय राखे। त्यहीबिचमा एक दिन एकजना ग्राहकले बिर्यानीको मूल्य सोधेर फर्किएर गएपछि सबैले पाँच सयको बिर्यानी खान नसक्दा रहेछन् भन्ने लागेर उनीहरूले फुच्चे बिर्यानीपनि बनाए। जसलाई २५० मा बेच्न थालियो। अहिले यहाँ २१९ रुपैँयामा फुच्चे बिर्यानी पाइन्छ।
ग्राहकलाई बिर्यानीको स्वादले तान्न थाल्यो। सस्तो मै बिर्यानी पाइने भएपछि दिउँसो खाजा खाने समयमा बस्ने ठाउँ समेत नपाइने अवस्था आयो। त्यसको केही समयपछि त १७५ रुपैयाँमै बिर्यानी दिन थाले। यसपछि व्यवसायले गति लियो।
रवि र रोजालिन हौसिए। उनीहरूलाई लाग्यो सधैँ आफूले मात्र बिर्यानी बनाएर कसरी होला र ! अनि उनले एउटा रेसिपी तयार पारेर स्टापलाई पनि सिकाउन थाले। स्टापले बिर्यानी बनाउन सिकेपछि रवि व्यापारलाई कसरी बढाउने भन्ने तिर लागे।

एक दिन रवि र को-फाउन्डर रोजालिन गंगबु हुँदै बसन्तपुर जाँदै गर्दा ‘फ्लोर अन रेन्ट’ लेखेको देखे। शानदार घरको पहिलो तलामा सीसा लगाइएको ठाउँमा ‘हाँडी बेस्ट्रो’ खोल्न पाए कस्तो हुँदो हो है ! एकअर्काबीच गफगाफ भयो। त्यहाँ दिइएको नम्बरमा फोन लगाइहाले। भाडाँको कुरा मिलेपछि उनीहरू नयाँ आउटलेटका लागि तयार भए। तिमी बसन्तपुर हेर म गंगबु हेर्छु....स्कुटरमा गफ गर्दै उनीहरू बसन्तपुरतिर लागे।
केही दिनपछि गंगबुमा दोस्रो आउटलेट खुल्यो। सुरूसुरूमा सोचे जस्तो नभएपनि विस्तारै व्यापारले गति लियो।
दोस्रो आउटलेटमा पनि राम्रो व्यापार हुन थाले पछि त्यसको तेस्रो महिनामै बौद्धमा अर्को आउटलेट पनि खुल्यो।
केही महिना अघि भक्तपुरको राधेराधेमा हाँडी बिष्ट्रोको चौथो आउटलेट पनि खुलेको छ। अहिले हाँडी बिष्ट्रोबाट दिनमा एक हजार प्लेट बिर्यानी बिक्री भइरहेको छ। व्यापारको १५ देखि २० प्रतिशत होम डेलिभरीबाट हुन्छ।
चार आउटलेट एक ‘सेन्ट्रल चिकेन’ र हेड अफिसमा गरि उनका ६० जना कर्मचारी छन्। 'सुरूसुरूमा काउन्टरमा आफै बस्नुपर्छ पैसा यताउता होला की भन्ने लाग्थ्यो। तर त्यस्तो सोच्नु गलत रहेछ। व्यवसायमा सिस्टम बनाइयो भने निकै सहज हुँदो रहेछ,' रविले भने। उनले अहिले सबै आउटलेटमा म्यानेजर राखेका छन्।
रविलाई व्यवसाय अगाडि बढाउन नबिल बैंकको सीआरएस कार्यक्रम अन्तर्गतको एसएसई फेलोशिपले निकै सहयोग गर्यो । ‘सोचलाई उद्यममा परिणत गरेर स्मार्ट तरिकाले व्यवसाय गर्न एक वर्ष लामो त्यो कार्यक्रमले मलाई निकै सहयोग गर्यो,’ रविले भने।
पहिलाको तुलनामा अहिले उनी टिमलाई हेर्ने शैलीदेखि कार्य-व्यवस्थापनसम्ममा धेरै परिवर्तन महसुस गर्छन्। नेतृत्व, व्यवस्थापन र निर्णय क्षमतामा उल्लेखनीय सुधार आएको बताउँछन्।
व्यवसाय सुरू गर्दा लिएको ऋण चार वर्षमा तिरेर सकियो। अहिले रवि व्यवसायको ‘मार्केटिङ स्ट्राटेजी’ बनाउनमा व्यस्त हुन्छन्। कतारमा हुँदा एउटा सानो चिया स्टल थाप्ने सपना बोकेर नेपाल फर्किएका रविको सपना फेरिएको छ। अहिले उनी हाँडी बिष्ट्रोलाई कम्तीमा देशका प्रमुख सहरहरूमा फैलाउने योजनामा छन्।

सातै प्रदेशलाई बिर्यानी चखाउने योजना
बिहानको समयमा रविको अफिसमा पुग्दा उनी आफ्ना स्टापलाई क्लास दिइरहेका भेटिन्छ। ग्राहकसँग कस्तो व्यवहार गर्ने देखि खानाको गुणस्तरसम्म ध्यान दिन स्टापहरूलाई सुझाइरहेका हुन्छन्।
उनले ‘कन्टेन्ट क्रिएटर’ समेत 'हायर' गरेका छन्। अफिसमा बसेर सामाजिक सञ्जालका लागि कन्टेन्ट पनि बनाइरहेका छन्। ‘मलाई 'मनीटक्स' भन्ने कार्यक्रमले धेरै नै प्रेरणा दिएको थियो। त्यहाँ व्यवसायीहरूका कुरा सुनेर मलाई पनि व्यवसाय गर्न उर्जा दिएको थियो। त्यसैगरी मेरो कुरा सुनेर एक जनाले भएपनि व्यवसाय सुरू गरोस भन्ने मेरो चाहना छ,’ रविले भने।
त्यसैले उनले आजभोलि व्यापार गर्दा आफूले गरेका गल्तीलाई नयाँ आउने युवाहरूले नदोहोर्याउन भनेर टिकटकबाट त्यसो नगर्न सुझाव दिइरहेका हुन्छन्।
उनी विभिन्न सामाजिक कार्यक्रमहरूमा पनि सहभागी हुने गरेका छन्। विभिन्न संस्थाले दिने उद्यमशीलता तालिममा समेत भाग लिने गरेका छन्।
हिजो पैसा सापट माग्दा कसैले नपत्याउने रविका पछि आज धेरै मान्छे छन्। जो उनको सोचमा लगानी गर्न चाहन्छन्।
कतारको रेष्टुरेण्टमा १४ घण्टासम्म लगातार उभिएर काम गर्दाका दिन सम्झँदा रवि मुस्कुराउँछन्। ‘त्यो बेला मैले व्यवसाय गर्ने सपना नदेखेको भए आज पनि म कतारमै पसिना बगाइरहेको हुन्थेँ। तर आज म आफ्नै देशमा उद्यमी बनेको छु,” उनी भन्छन्।
परिस्थिति जस्तोसुकै होस आत्मविश्वास, निरन्तरता र लगनशीलता भयो भने सफलताले आफै खोज्दै आउने बताउँछन् रवि।
‘जबसम्म तपाईंले जिन्दगीमा सपना देख्नुहुन्न नी, तबसम्म तपाईंको हातमा केही पर्ने वाला छैन। मैले यो कुरा कतै पढेको थिए। यो कुरालाई सबैले मनन गर्नुपर्छ,’रविले भने।


कात्तिक ३०, २०८२ आइतबार ११:०६:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।