विज्ञापन बोर्डको निर्देशन लत्त्याउँदै एनपिएलको मैदानमा जुवा छिर्‍यो, बाउन्ड्रीमा डाफाको विज्ञापन

विज्ञापन बोर्डको निर्देशन लत्त्याउँदै एनपिएलको मैदानमा जुवा छिर्‍यो, बाउन्ड्रीमा डाफाको विज्ञापन

काठमाडौँ : गत वर्ष नेपाल प्रिमियर लिगको मैदानमा अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट ब्रान्डमार्फत युवामा जुवाको प्रचार गराएको पुष्टि भएपछि विज्ञापन बोर्डले नेपाल क्रिकेट सङ्घलाई सचेत गरायो,विज्ञापन ल्याउने कम्पनीलाई कारबाही गर्यो।

एनपिएलमा जुवाको बिज्ञापन ब्रान्ड लजिक र टिसिएमले ल्याएको देखिएपछि यी दुवै कम्पनीमाथि तीन महिना प्रतिबन्ध र १० हजार जरिवाना लागेको थियो।

एनपिएल-२ को सबै  विज्ञापन क्यानको एनपिएल गभर्निङ काउन्सिलले ल्याउँदा मैदानमा अनलाइन जुवा खेलाउने कम्पनी डाफाबेटले जुवा प्रतिबन्ध भएको देशमा जुवाको प्रचार गर्न प्रयोग गर्ने डाफान्युजको विज्ञापन राखेको छ।

शनिवार कीर्तिपुरको मैदानमा पुग्दा बाउन्ड्रीमा डाफान्युजको विज्ञापन राखिएको थियो। विज्ञापन बोर्डले गत भदौ १ गते क्यानलाई चेतावनी दिँदै नेपालमा  गैरकानुनी मानिने जुवा कम्पनीको प्रचार नगर्न भनेको थियो। जसमा बोर्डले डाफान्यूजको नाम नै तोकेर यस्ता जुवा खेलाउने कम्पनीको प्रचार नगर्नु भनेको छ। तर क्यानले बोर्डको सो निर्देशन ठाडै उलङ्घन गरेको छ।

बोर्डको पत्रमा 'नेपाल प्रिमियर लिगका खेलहरूका सम्बन्धमा ट्वान्टी फस्ट सेन्चुरी मिडिया(टिसिएम)  विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट विज्ञापन सहित प्रसारण गरेको, जुवा खेल्ने खेलाउने साइट (वानएक्स बेट,बुल्फत्रिपल सेभेन, डाफान्यूज)  लगायतका विज्ञापनहरू खेलाडीका टी-सर्ट, ग्राउन्डमा राखिएको र खेलमा बेटीङ्ग समेत गरिएको भनी यस बोर्डमा प्राप्त उजुरी उपर अनुसन्धान गरी देहाय बमोजिम कारबाही गर्ने गरी विज्ञापन बोर्डको मिति २०८२।४।२१ र २९ को बोर्ड बैठकबाट निर्णय भएको’ भनिएको छ। 

निर्णयमा गैर कानुनी विज्ञापन ल्याउन संलग्न देखिएको भन्दै एनपिएलको स्ट्राटेजिक कम्पनी ब्रान्ड लजिक र भारतीय कम्पनी टिसिएममाथि कारबाही गर्दै तीन महिना नेपालमा विज्ञापन सम्बन्धी कुनै काम नगर्न प्रतिबन्ध र १० हजार जरिवानाको निर्णय गरेको थियो।

क्यानलाई कार्वाही र निर्देशनको पत्र।बोर्डले  क्यानलाई सचेत गराउँदै ‘नेपाल क्रिकेट संघ (CAN) को हकमा नेपाल क्रिकेट सङ्घले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेस नगरेको र च.नं. २९ मिति २०८२/०४/२६ गतेको पत्रमा कार्य व्यस्तताको कारण पत्रहरूको जवाफ पेस गर्न नसकिएको भन्दै पेस गरेको जवाफ चित्त बुझ्दो नभएको भन्दै बोर्डले निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ एवं अन्य प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराइएको' उल्लेख छ। 

तर दोस्रो सिजनमा क्यान सचिव पारस खड्का कै सक्रियतामा डाफान्यूजको प्रचार हुन लागेको छ। जसको लागि मैदानको बाउन्ड्रीमा डाफान्यूजको विज्ञापन राखिएको छ। 

कारबाहीको  पत्रमा अनुसार क्यानको सो काम सिधै गैर कानुनी देखिन्छ। पत्रमा, ‘विज्ञापन(नियमन गर्ने) ऐन र नियमावली अनुसार बोर्डमा सूचिकृत नभई विज्ञापन कारोबार संलग्न रहेको तथा प्रचलित कानुन विपरीतका विज्ञापन प्रदर्शन गरेको भन्दै दुवै एजेन्सीलाई दश/दश हजार रुपैयाँ जरिवाना गरेको छ’ उल्लेख छ। 

गत वर्ष आयोजना भएको नेपाल प्रिमियर लिगमा मैदानको बाउन्डीदेखी बिच भागमा बुल्फत्रिपल सेभेनको प्रचार भएको थियो। यो पाली डाफाबेटको सरोगेट भित्रिएको छ।

बोर्डले भदौ १३ मा समेत सार्वजनिक सुचना निकालेर व्यक्तिदेखि संस्थासम्मलाई डाफान्युजसहितका अनलाइन जुवा प्रवर्धन|हुने बिज्ञापन नगर्न अनुरोध गर्दै सूचनाको अटेर गरे कार्वाही हुने चेतावनी दिएको थियो।

यस विषयमा उकेराले क्यान प्रवक्ता छुम्बी लामालाई सोध्दा आफूलाई जानकारी नभएको गैर जिम्मेवार जवाफ दिए।

विज्ञापन बोर्डले नै विज्ञापन नगर्न भनेको डाफान्यूजको विज्ञापन किन राखेको भन्ने प्रश्नमा क्यान प्रवक्ता लामा भन्छन् ‘कहाँ कारबाही गरेको छ? तपाईँसँग पत्र भए पठाइदिनुस् न ल। के रहेछ म माथि फरवार्ड गरिदिन्छु। सजिलो हुन्छ नि त।’

पारसको बल मिच्याईँ,कानुनको खिल्ली

देशभित्र कुनै पनि प्रतियोगिता आयोजना हुँदा विज्ञापन बोर्डबाट पास भएका विज्ञापनको मात्रै प्रचार गर्न पाइन्छ। तर क्यानले देशमा गैरकानुनी मानिने जुवा कम्पनीको विज्ञापन सिधै ल्याएको छ। यसमा क्यान सचिव पारस खड्का प्रत्यक्ष संलग्न देखिन्छन्।

बोर्डले निकालेको सूचना नेपाल जस्ता सबै प्रकारका जुवा खेल्न र खेलाउन प्रतिबन्ध लागेको देशमा  कम्पनीको प्रभाव बढाउन डाफाबेटले सरोगेट कम्पनी डाफान्युजको सहारा लिने गरेको छ। खेल प्रतियोगितामा मिडिया पार्टनरको आवरणमा आए पनि उद्देश्य एनपिएलको नाममा जुवा खेलाउने हुन्छ। गत वर्ष वुल्फ७७७ ले यही गरेको थियो।

क्रिकेट सङ्घले नै जुवाको प्रचार गरेपछि गत वर्षको संस्करणमा फ्रेन्चाइज टिमले पनि जुवाको प्रचार गरेका थिए। गत वर्ष लुम्बिनी लायन्सको जर्सीमा बेटिङ वेबसाइट ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’, सुदूरपश्चिम रोयल्सले ‘बाबु८८’को सरोगेट कम्पनी ‘बाबु८८ स्पोर्ट्स’ यसका अलावा विराटनगर किंग्सले बेटिङ वेबसाइट ‘बिजे८८’को सरोगेट कम्पनी ‘बिजे८८ स्पोर्ट्स’को प्रचार गरेको थियो। 

यो वर्ष सुदूरपश्चिमले जुवा कम्पनीको सरोगेट कम्पनी ल्याएको छ। उकेराकर्मी कात्तिक २९ गते त्रिवि क्रिकेट मैदानमा पुग्दा दिपेन्द्रसिङ्ग ऐरीले लगाएको जर्सीमा बाजी sports लेखिएको जर्सीमा देखिएका थिए। 

जुवा सम्बन्धी के छ कानुनी व्यवस्था ?

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ। दफा ३ को उपदफा १ मा लेखिएको छ, ‘कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन।’

तर, कानुनी छिद्रको फाइदा उठाउँदै प्रतिबन्धित सट्टाबाजीको ‘सरोगेट विज्ञापन’ भइरहेको छ। कानुनमा सरोगेट विज्ञापनको बारेमा स्पष्ट व्यवस्था नभए पनि अनलाइन जुवाको प्रचारको कानुन यसमा आकर्षित हुने देखिन्छ।

कात्तिक ३०, २०८२ आइतबार ०२:५९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।