युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वर्ष पुगेको अवसरमा आयोजित समारोहमा सहभागी हुँदै दुवै देशबीचको ऐतिहासिक मित्रता, साझेदारी र भविष्यका सम्भावनाबारे जोड दिएकी छिन्।

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति शुभकामना व्यक्त गर्दै दुई देशबीचको पारस्परिक सम्मान, साझा लोकतान्त्रिक मूल्य र दीगो मित्रताको परम्परालाई स्मरण गरिन्।

हालैको जेनजी आन्दोलनपछि नेपाल लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै उनले भनिन्, “यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ, र आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हामी तयारी गरिरहेका छौँ।”

अस्ट्रेलियाबाट प्राप्त मैत्री, विकास सहयोग तथा लोकतान्त्रिक रूपान्तरणप्रतिको समर्थनप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा अस्ट्रेलियाले गरेको योगदान नेपालको प्रगतिका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताइन्।

उनले नेपाल-अस्ट्रेलियाबीच विभिन्न अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एक-अर्कालाई दिएको सहयोग र समर्थनले दुवै देशका साझा मूल्य तथा हितलाई अझ मजबुत बनाएको उल्लेख गरिन्। “नेपाल विश्व शान्ति र स्थिरताप्रति प्रतिबद्ध छ, र यस क्षेत्रमा अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको हामी उच्च प्रशंसा गर्छौँ,” उनले भनिन्।

अस्ट्रेलियामा अध्ययनरत हजारौँ नेपाली विद्यार्थी र त्यहाँ बसोबास गर्ने करिब दुई लाख नेपालीले दुवै देशबीचको सम्बन्धलाई ‘जीवित सेतु’को रूपमा मजबुत बनाइरहेको भन्दै उनले शिक्षा, व्यापार, प्रविधि, पर्यटन र नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरिन्।

नेपाल २०२६ सम्ममा एलडीसीबाट स्नातक हुने प्रक्रियामा द्रुतगतिले अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अस्ट्रेलियाबाट प्राप्त निरन्तर सहयोगप्रति आभार प्रकट गरिन्।

समारोहमा उनले नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनको योगदानलाई विशेष रूपमा प्रशंसा गरिन्। कार्यकाल समाप्त भएर स्वदेश फर्किन लागेकी राजदूत जोन्स्टनलाई उनले आगामी जिम्मेवारीका लागि शुभकामना पनि दिइन्।

अन्त्यमा प्रधानमन्त्री कार्कीले नेपाल–अस्ट्रेलिया मैत्रीपूर्ण सम्बन्ध पुस्तौँ–पुस्तासम्म अझ प्रगाढ र समृद्ध बन्दै जानुपर्ने अपेक्षा व्यक्त गरिन्।

कात्तिक २९, २०८२ शनिबार १९:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।