गाउँका युवामा ऊर्जा भरिदिने दानबहादुर जो अशक्त छन् तर आत्मनिर्भर

गाउँका युवामा ऊर्जा भरिदिने दानबहादुर जो अशक्त छन् तर आत्मनिर्भर

कञ्चनपुर : कञ्चनपुर दोधारा-चाँदनी-८ का दानबहादुर सुनार शारीरिक रूपमा पूर्ण रूपमा अशक्त भए पनि आत्मनिर्भर जीवनको उदाहरण बनेका छन्।

जन्मिँदा सामान्य रहेका दानबहादुर चार वर्षको उमेरमा बिरामी परेपछि क्रमशः शरीर सुक्दै गयो। अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा भए पनि उनको मनोबल, सीप र संघर्ष गर्ने क्षमताले नयाँ पहिचान दिएको छ।

उपचारका लागि परिवारले जित्दो प्रयास गरे पनि आर्थिक अभाव र समयमा रोगको सही निदान नहुनुले अवस्थालाई जटिल बनायो। हाल दानबहादुरले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। भत्ता मात्र जीवन धान्न पर्याप्त नहुँदा उनले आफ्नै सीपमा भर परेर आम्दानीको उपाय खोज्न थाले, र त्यही संघर्षले आज परिवारको आर्थिक सहारा बन्न सकिएको छ।

आमा उषा सुनारका अनुसार घरमा बिग्रिएको एउटा रेडियो नै दानबहादुरको सीप यात्रा सुरु गर्ने माध्यम बन्यो। ‘त्यही रेडियो छामछुम गर्दै मर्मत सिक्यो,’ उनी भन्छिन्, ‘अब त मोबाइलको डिस्प्ले बदलिदिनेदेखि रेडियो, टर्च, बुफर मर्मत सबै गर्छ।’ पछिल्लो समय उनले गाउँका युवालाई हाउस वायरिङ सिकाउन पनि सुरु गरेका छन्।

दानबहादुर भन्छन्, ‘भत्ता मात्रै पुग्दैनथ्यो, त्यसपछि यिनै हात-आँखाले गर्न सकिने कामतिर लागेँ। गाउँमा कोही पैसा दिएर जान्छन्, कोही सेवा पनि पाउँछन्। जति भए पनि यही नै आम्दानीको सहारा बनेको छ।’ परिवारको कमजोर आर्थिक अवस्थाले आफ्नो सीपलाई अझ व्यावसायिक बनाउन नसकेको दुःखेसो पनि उनले सुनाए।

‘थोरै आम्दानी भए पनि घरमा ठुलो राहत पुगेको छ,’ दानबहादुर भन्छन्, ‘अर्कालाई पनि हाउस वायरिङ र मर्मत सिकाएर आत्मनिर्भर बन्न प्रेरित गराउन खोज्छु।’

शारीरिक रूपमा पूर्ण अशक्त हुँदा पनि आत्मबल, सीप र पौरखले कसरी जीवन बदल्न सक्छ भन्ने उदाहरण बनेका दानबहादुर अहिले दोधारा–चाँदनीका युवाका लागि प्रेरणाको स्रोतसमेत बनेका छन्। 

कात्तिक २९, २०८२ शनिबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।