निर्माणाधीन कोबाङ-जोमसोम सडक आठ वर्षदेखि अलपत्र
मुस्ताङ : राष्ट्रिय गौरवको आयोजना ‘बेनी-जोमसोम-कोरला’ सडक अन्तर्गत पर्ने कोबाङ-जोमसोम खण्ड निर्माण कम्पनीको निरन्तर ढिलासुस्तीका कारण आठ वर्षदेखि अधुरै छ।
७४ किमीमध्ये करिब १७ किमिमा कालोपत्र र संरचना निर्माण अधुरै रहेकाले यातायात र स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेपिरहेका छन्।
मुस्ताङको घाँसादेखि माथिल्लो भूभागसम्म कालोपत्र भइसके पनि कोबाङ–जोमसोम खण्डका तीन स्थानमा काम अझै रोकिइरहेका छन्। आर्थिक वर्ष २०७३/७४ मा पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर चौडा सडक कालोपत्रसहित निर्माण गर्ने गरी ७० करोड रुपैयाँमा ठेक्का पाएको थियो। सुरुआती वर्षमा कामले गति लिन थाले पनि केही समयपछि निर्माण कम्पनीले कामै नजार्दा परियोजना अलपत्र पर्न गएको हो।
लामो समयसम्म काम अघि नबढेपछि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो। पटक–पटकको ताकेतापछि जेभीको मुख्य कम्पनी गौरी–पार्वतीले जिम्मा लिएर काम सुरु गरे पनि निर्माण आंशिक रूपमा मात्र अघि बढेको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार कम्पनीलाई कूल ठेक्का रकमको ०.०५ प्रतिशत जरिवाना तोकिएको छ। हालसम्म सातौँ चरणसम्म म्याद थपिइसकेको र भौतिक प्रगति ९० प्रतिशत तथा वित्तीय प्रगति ८० प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी इञ्जि. बाबुसाहेव बैठाले जानकारी दिए।
गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीका अनुसार टुकुचे क्षेत्रमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी प्राविधिक सडक विस्तारका काम बाँकी छन्। त्यस्तै मार्फा–राजखोला क्षेत्रमा करिब १,२०० मिटर तथा जोमसोमको पुथाङ विमानस्थलदेखि नेपाली सेनाको ब्यारेकसम्म ५०० मिटर सडकमा कालोपत्र र संरचना निर्माण गर्न बाँकी छ।
अधिकारीका अनुसार मंसिर मसान्तभित्र सबै काम सक्ने लक्ष्य राखिएको छ। “हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका छौँ। हाल धान काट्ने समयमा कामदार घर गएकाले रोकिएको भए पनि एक हप्ताभित्रै काम निरन्तर हुन्छ,” उनले भने।
कोबाङ–जोमसोम खण्ड कालोपत्र नहुँदा पर्यटक, स्थानीय बासिन्दा, सवारी चालकदेखि पैदलयात्री सबैले वर्षौंदेखि कठिनाइ भोगिरहेका छन्। यो खण्ड पूरा भएपछि मुस्ताङ–म्याग्दी सिमानास्थित घाँसादेखि कागबेनी–मुक्तिनाथसम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
कात्तिक २९, २०८२ शनिबार १४:०५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।