एनपीएलमा बेटिङ गर्न बंगलादेशबाट प्रचार, माध्यम बने साकिब अल हसन

एनपीएलमा बेटिङ गर्न बंगलादेशबाट प्रचार, माध्यम बने साकिब अल हसन

काठमाडौं : बंगलादेशका चर्चित क्रिकेटर तथा पूर्वकप्तान शाकिब अल हसनले नेपालको घरेलु क्रिकेट प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपीएल)को नाममा अनलाइन सट्टेबाजी कम्पनीको खुलेआम प्रचार गरेका छन्।

नेपालमा सट्टेबाजी पूर्ण रूपमा गैरकानुनी भए पनि शाकिब जस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडीलाई प्रयोग गरेर यस्ता कम्पनीहरूले नेपाली खेलकुदमा आफ्नो सञ्जाल फैलाउने प्रयास गरिरहेका छन्।

शाकिबले आफ्नो आधिकारिक फेसबुक पेजबाट सट्टेबाजी कम्पनी ‘वानएक्सबेट’को लोगो अंकित पोस्टर सेयर गर्दै एनपीएलको प्रचार गरेका हुन्। उनले सेयर गरेको पोस्टरमा ‘NPL 2025, CRICKET AT ITS BEST!’ लेखिएको छ भने माथिपट्टि प्रायोजकको रूपमा 1XBET को लोगो स्पष्ट देखिन्छ।

उनले आफ्नो पोस्टको क्याप्सनमा लेखेका छन्, ‘नेपाल प्रिमियर लिग नोभेम्बर १७ बाट सुरु हुँदैछ। अप्रत्याशित र जोशले भरिपूर्ण- म नेपाल प्रिमियर लिगलाई यही कारणले माया गर्छु! यहाँ भविष्यका स्टारहरू चम्किन्छन्।’

‘टुर्नामेन्टका खेलहरूमा रु ४०० बाट बेट लगाउनुहोस् र हरेक हप्ता १५ प्रतिशत क्यासब्याक पाउनुहोस्। वास्तविक पैसा सिधै तपाईंको खातामा फिर्ता! र नयाँ खेलाडीहरूका लागि — अझ राम्रो स्वागत बोनस पाउन मेरो प्रोमो कोड SH75VIP प्रयोग गर्नुहोस्’, उनको पोस्टमा भनिएको छ।

नेपालमा मुलुकी अपराध संहिता, २०७४ ले सट्टेबाजीलाई दण्डनीय अपराध मानेको छ। संहिताको दफा १२५ अनुसार, सट्टाबाजी गर्न वा गराउनु गैरकानुनी हो।

यस्तो कार्यमा संलग्न व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। तर, विदेशमा दर्ता भएका यस्ता अनलाइन प्लेटफर्महरूले सामाजिक सञ्जाल र चर्चित व्यक्तित्वहरूलाई प्रयोग गरी नेपाली कानुनको धज्जी उडाइरहेका छन्।

अनलाइन सट्टेबाजी कम्पनीहरूले आफ्नो प्रचारप्रसारका लागि विश्वभरका चर्चित खेलाडीहरूलाई करोडौं रकम दिएर ब्रान्ड एम्बेसडर बनाउने गरेका छन्। शाकिब अल हसन पनि यस्तै कम्पनीहरूसँग पटक-पटक जोडिएका छन्। उनीहरूले खेलाडीको लोकप्रियतालाई दुरुपयोग गर्दै युवाहरूलाई सट्टेबाजीको दलदलमा फसाउने रणनीति अपनाएका हुन्छन्।

एक खेल विश्लेषक भन्छन्, ‘जब शाकिब जस्ता खेलाडीले यस्तो पोस्ट गर्छन्, उनका लाखौं फ्यानहरू, जसमा नेपाली युवाहरू पनि पर्छन्, उनीहरूलाई यो सामान्य हो भन्ने भ्रम पर्न सक्छ। यसले युवाहरूमा सट्टेबाजीको लत बढाउने र खेलमा म्याच फिक्सिङ जस्ता विकृति भित्र्याउने जोखिम बढाएको छ।’

कात्तिक २९, २०८२ शनिबार १३:२२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।