‘जेन-जी’ आन्दोलन निराशाको विस्फोट थियो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनलाई समाजमा व्याप्त निराशाको शक्तिशाली अभिव्यक्ति भन्दै यसले पुस्ताहरूबीच संवादको नयाँ ढोका खोलेको टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौं नागरिक समूहद्वारा आयोजित ‘व्यवस्था, अवस्था र निकास’ विषयक अन्तरक्रियामा बोल्दै उनले उक्त आन्दोलनले नेपाली समाज र राजनीतिमा नयाँ आयाम थपेको बताए।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन-जी क्रान्तिले आफ्नो पुस्तासँग मात्र नभई नयाँ र पुरानो पुस्ताबीच सार्थक संवाद हुनैपर्छ भन्ने गम्भीर सन्देश दिएको बताए।
‘यो जेनजी क्रान्तिले एउटा नयाँ आयाम थपेको छ,’ श्रेष्ठले भने, ‘यसले हामीले संवाद गर्नुपर्छ भन्ने सिकाएको छ। आफूले आफूसँग र आफ्नो पुस्तासँग मात्र होइन, पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ। यो एउटा नयाँ दृष्टिकोण बनेको छ।’
श्रेष्ठका अनुसार, गत भदौ २३ र २४ गतेको घटनाले शासन, संविधान कार्यान्वयन र राजनीतिक पद्धतिप्रतिको जनअसन्तुष्टिलाई एकैपटक सतहमा ल्याइदियो। लामो समयदेखि थुप्रिएका निराशाहरूलाई आन्दोलनले छोटो समयमै प्रभावकारी ढङ्गले व्यक्त गरेको उनको विश्लेषण छ।
‘हाम्रो समाजमा विद्यमान शासन, संविधान र राजनीतिक पद्धतिप्रतिको दृष्टिकोणमा व्याप्त निराशालाई त्यस घटनाले एकैचोटि व्यक्त गर्यो,’ उनको भनाइ थियो, ‘यसले नसुनिएका कुराहरू अब नसुनी नहुने रहेछ भन्ने देखायो। छोटो समयमा प्रभावकारी रूपमा सन्देश प्रवाह हुनु सकारात्मक पक्ष हो। तर, यस क्रममा भएको क्षतिलाई भने शिक्षाको रूपमा लिनुपर्छ।’
उनले संविधानमा रहेका कमीकमजोरीहरूलाई समयमै सच्याएर अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिए।
कात्तिक २९, २०८२ शनिबार १२:५४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।