गुह्येश्वरी प्रशोधन केन्द्रको निरीक्षण गर्दै मन्त्री घिसिङ, भने- ‘पशुपतिमाथिको बागमतीमा कतैबाट ढल मिसाइनुहुन्न’

गुह्येश्वरी प्रशोधन केन्द्रको निरीक्षण गर्दै मन्त्री घिसिङ, भने- ‘पशुपतिमाथिको बागमतीमा कतैबाट ढल मिसाइनुहुन्न’

काठमाडौं : शहरी विकासमन्त्री कुलमान घिसिङले पशुपति क्षेत्रभन्दा माथि सुन्दरीजलसम्मको बागमती करिडोरमा कुनै पनि स्थानबाट ढल सिधै नदीमा मिसाउन नदिन निर्देशन दिएका छन्।

शनिबार गुह्येश्वरीस्थित ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गर्दै उनले सबै ढललाई प्रशोधन केन्द्रमा ल्याएर प्रशोधन गरेपछि मात्र नदीमा पठाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

‘हाम्रो मुख्य उद्देश्य पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनै पनि ठाउँमा ढल नदीमा मिसिन नदिने हो,’ मन्त्री घिसिङले भने, ‘सबै ढल गुह्येश्वरी प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र पशुपति क्षेत्रमा सफा पानी पठाउनुपर्छ।’

निरीक्षणका क्रममा ढल सङ्कलन गर्ने पाइपलाइनमा विभिन्न स्थानमा अवरोध रहेको पाइएको उनले बताए।

‘केही ठाउँमा समस्या रहेछ। चार-पाँच ठाउँमा अवरोध हुँदा सबै ढल प्रशोधन केन्द्रसम्म आइपुगेको छैन र सिधै बागमतीमा मिसिएको छ,’ उनले भने, ‘त्यसलाई सफा गर्न आवश्यक उपकरण आइसकेको छ र हामी तत्काल काम सुरु गर्दैछौं।’

मन्त्री घिसिङले प्रशोधन केन्द्रले तोकिएको मापदण्डअनुसार काम गरे/नगरेको र भविष्यमा यसको सञ्चालनलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भनेर जानकारी लिन पनि आफू निरीक्षणमा आएको स्पष्ट पारे।

कात्तिक २९, २०८२ शनिबार १०:०४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।