नेपाली युवतीलाई चिनियाँसँग विवाह गराउने धन्दा, चार चिनियाँ नागरिक पक्राउ
काठमाडौं : काठमाडौंको सोह्रखुट्टेमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ सञ्चालन गरी नेपाली युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराउने धन्दामा संलग्न रहेको आरोपमा चार चिनियाँ नागरिक पक्राउ परेका छन्।
अध्यागमन विभागले विशेष सूचनाका आधारमा शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, व्यावसायिक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले विशेषगरी गरिब, विपन्न तथा विकट क्षेत्रका युवतीहरूलाई लक्षित गरी चिनियाँ नागरिकसँग विवाह गराइदिने गरेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ’, महानिर्देशक तिवारीले राससलाई जानकारी दिए।
विभागका अनुसार, उनीहरूले यसरी विवाह गराएर केही महिलालाई चीन पठाइसकेको समेत खुलेको छ।
पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन्। उनीहरूमध्ये केही व्यक्ति लामो समयदेखि फरक-फरक प्रकृतिको भिसामा नेपाल आउजाउ गरिरहेको पनि विभागले जनाएको छ।
कात्तिक २९, २०८२ शनिबार ०८:२४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।