सिंगापुरबाट स्वदेश फर्किए देउवा दम्पती, महाधिवेशनको अवरोध के होला?

सिंगापुरबाट स्वदेश फर्किए देउवा दम्पती, महाधिवेशनको अवरोध के होला?
तस्विर : अर्काइभ

काठमाडौं : उपचारका लागि भन्दै सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमती आरजु देउवासहित स्वदेश फर्किएका छन्। पार्टीको नेतृत्व उप-सभापति पूर्णबहादुर खड्कालाई दिएर उनी कात्तिक १२ गते सिंगापुर गएका थिए। उनी शुक्रवार बेलुका स्वदेश फर्किएका हुन्। 

देउवालाई स्वागत गर्न विमानस्थलमा कांग्रेस कार्यवाहक सभापति पूर्ण बहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतसहितका नेता र समर्थक विमानस्थल पुगेका थिए। जेन-जी आन्दोलनको दोस्रो दिन उनी र आरजु प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका थिए।

सैनिक अस्पतालमा उपचार गरेर स्वस्थ भएका उनी पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भएर पार्टीको नेतृत्व खड्कालाई दिएको घोषणा गरेका थिए।

अब आफू सक्रिय राजनीतिमा नआउने घोषणा गरेर सिंगापुर गएका उनी स्वदेश फर्कँदा पनि पार्टीको विशेष महाधिवेशन गर्ने कि नियमित भन्ने सहमति हुन सकेको छैन। 

बिहीबारको केन्द्रीय समितिको बैठकमा पार्टीका महामन्त्री गगन थापाले देउवा आफ्नो सम्बोधनमा महाधिवेशन मंसिरमा गर्ने भनेर मिति तोक्ने पक्षमा भए पनि अन्य नेताको अनुरोधमा मिति उल्लेख नभएको भन्दै नियमित अधिवेशन नभए विशेष महाधिवेशन गर्नुको विकल्प नभएको बताएका थिए।

कात्तिक २८, २०८२ शुक्रबार २३:४७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।