अवैध डिम्ब सङ्कलन मुद्दामा महान्यायाधिवक्ता सविताको कुनै भूमिका नभएको कार्यालयको दाबी
काठमाडौं : जेनजी सरकारको महान्यायाधिवक्ता सविता भण्डारीले आफन्त जोगाउन गम्भीर अपराधमा मुद्दा नै नचल्ने निर्णय गरेको समाचार प्रति महान्यायाधिवक्ताको कार्यालयले आपत्ति जनाएको छ।
उकेराले पहिलो पटक प्रकाशन गरेको ‘महान्यायाधिवक्ताको स्वार्थ’ तथा ‘आफू जोडिएको संस्थालाई डिम्ब तस्करी मुद्दामा क्लिनचीट दिएको’ भन्ने समाचारप्रति महान्यायाधिवक्ताको कार्यालयले आपत्ति जनाउँदै स्पष्टिकरणसहित प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
कार्यालयले समाचारमा प्रकाशित धेरै अंश तथ्यहीन र कानुनी प्रक्रिया नबुझी लेखिएका दाबी गरेको छ।
‘सि.आई.बी. १० (०८१/८२) ले डा. स्वस्ती शर्मा लगायतविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत कसूर भएको भन्दै २०८२/१/१५ को वारदात देखाइ २०८२/३/२९ मा केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दिएको थियो। सोही जाहेरीको आधारमा भएको अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा २०८२/५/१ मा पेश भएको थियो,’ विज्ञप्तीमा भनिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले पर्याप्त कानुनी आधार नदेखिएको भन्दै ‘मुद्दा नचलाउने’ निर्णय गरी फाइल उच्च सरकारी वकिल कार्यालय, पाटन पठाएको थियो। पाटन कार्यालयले पनि सो निर्णयलाई सदर गर्दै मिसिल निकासाका लागि महान्यायाधिवक्ताको कार्यालय पठाएको विज्ञप्तिमा उल्लेख छ।
महान्यायाधिवक्ता स्वयंले उक्त मुद्दामा निर्णय गर्न नमिल्ने भएकाले, नियम बमोजिम नायब महान्यायाधिवक्तालाई निर्णय गर्न तोकिएको थियो। नायब महान्यायाधिवक्ताले उपलब्ध प्रमाण, मिसिल र कानुनी आधारको अध्ययनपछि २०८२/६/३१ मा मुद्दा नचलाउने निर्णय गरेको कार्यालयले जनाएको छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ ले बाल हिंसा वा बाल यौन दुर्व्यवहारसम्बन्धी कसूरका रूपमा सो घटना स्पष्ट रूपमा नपर्ने भएकाले मुद्दा नचलाउने निष्कर्षमा पुगेको कार्यालयको दाबी छ।
महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान प्रतिवेदन, प्रमाण र कानुनका आधारमा निर्णय भएको तर सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रकाशित गरेको आरोप लगाएको छ।
‘माननीय महान्यायाधिवक्ताज्यूको निर्णयमा कुनै भूमिका नरहेको कुरा स्पष्ट छ, त्यसैले भ्रम नफैलाइदिन सबैलाई अनुरोध गर्दछौं,’ कार्यालयले भनेको छ।
कात्तिक २८, २०८२ शुक्रबार २१:२५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।