कास्की कारागारबाट भागेका १ सय ९८ कैदीबन्दी अझै फरार
कास्की : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन्।
आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जना मध्येमा कोही आफैं फर्किएको र केहीलाई प्रहरीले पक्राउ गरेको थियो। कारागार नफर्कि हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार उनीहरू मध्येमा १३ जना विदेशी रहेका छन्।
विदेशीहरूमा ११ जना भारतीय र दुई जना चिनियाँ रहेका छन्। कास्कीबाट भागेका मध्येमा १९ जना अन्य जिल्लामा समातिएका थिए। त्यसैगरी अन्य जिल्लाबाट भागेका सात जना कास्कीमा पक्राउ परेको जनाइएको छ। कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए।
उनले भने , “प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेका मध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन्। केहीलाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो। फरार रहेकाको खोजी प्रहरीले गरिरहेको छ।” फरार कैदीहरूमा लागुऔषधसम्बन्धी मुद्दा र लामो समयको सजाय तोकिएका बढी रहेका छन्।
आजीवन कारावासको सजाय तोकिएका दुई जनामध्ये एक जनालाई म्याग्दीबाट पक्राउ गरिएको र एक जना अझै फरार रहेको बताइन्छ। आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागारले गत असोज १२ गते सूचना जारी गरी असोज २० गतेसम्म फर्कन समय दिएको थियो। तर तोकिएको समयभित्रमा कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको प्रहरीले खोजविन गरिरहेको छ।
कारागार प्रशासनले फरार रहेकाहरू प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कानुनअनुसार कारबाही हुने जनाएको छ।
कात्तिक २८, २०८२ शुक्रबार १९:४४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।