पारदर्शिताको मागको बलमा बनेको सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति विवरण गोप्य, दुई मन्त्रीले अझै बुझाएनन् विवरण
काठमाडौं : जेनजी आन्दोलनको बलमा बनेको सरकारका १० मन्त्रीमध्ये आठ जनाले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक भएको छैन। पारदर्शीको मागमा सरकार बने पनि मन्त्रिपरिषद्मा रहेका सदस्यहरू नै यसमा चुकेका छन्।
भ्रष्टाचारको विरोध र पारदर्शिताको मागसहित भदौ २३ र २४ मा भएको आन्दोलनबाट सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको थियो। यो बिचमा उनीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रवार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणमा उल्लेख छ।
सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले अझै सम्पत्ति विवरण बुझाएका छैनन्। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले बुझाउने सम्पत्ति विवरण सार्वजनिक हुने गरेकोमा पछिल्लो समय भने गोप्य राख्ने गरेको छ। सम्पत्ति विवरण लुकाएकोमा यस अगाडिका सरकारको आलोचना हुँदै आएको थियो। तर पारदर्शिता र जबाफदेहिताको म्यान्डेटसहित बनेको कार्की नेतृत्वको सरकारले समेत सम्पत्ति विवरण सार्वजनिक गरेको छैन।
कात्तिक २८, २०८२ शुक्रबार १८:२२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।