प्रचारबिनै प्रदर्शनमा आएको सुरक्षाको ‘धागो’ एकदिन पनि हलमा नटिक्ने खतरा
काठमाडौं : फरक-फरक भूमिकामार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै आएकी अभिनेत्री हुन् सुरक्षा पन्त। दश वर्षअघि ‘अझै पनि’ बाट अभिनय यात्रामा लागेकी पन्तले केही फिल्मपछि ‘आमा’, ‘बुलाकी’बाट आफ्नो हाइप बढाइन्।
दर्जनौँ फिल्ममा काम गरिसकेकी उनलाई त्यतिबेलाका अधिकांश फिल्मले राम्रो चर्चा दिलाए। उनी मिडियामा पनि उत्तिकै सक्रिय रहिन्। ‘गोपी’ फिल्मले पैसा नकमाए पनि उनको चर्चा निकै चुलिएको थियो। अहिले भने उनी अभिनीत फिल्म हलमा चलेको र उत्रिएको पत्तै हुन छाडेको छ।
शुक्रबार (आज) बाट उनी अभिनित फिल्म ‘धागो’ हलमा प्रदर्शनमा आएको छ। तर यो फिल्म हलमा लागेको दर्शकलाई पत्तै छैन। फिल्म प्रदर्शनमा आएको न कतै चर्चा भयो, न प्रचार-प्रसार नै भयो।
फिल्मका निर्माता, कलाकार तथा निर्देशकले फिल्मको प्रचारप्रति खासै चासो देखाएनन्। फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त नै छिन्। उनले आफैले पनि प्रचारमा खासै वास्ता देखाएकी छैनन्। किन हो। त्यो त उनैले जानून्।
नेपालमा राम्रै प्रचार-प्रसार गर्दा पनि हल पाउन गाह्रो हुने अवस्था छ। हलवालाले फिल्मको पब्लिसिटी छ कि छैन भन्ने आधारमै शो दिने गरेका हुन्छन्। तर यो फिल्म पब्लिसिटी बिनै हलमा लागेको छ। यो फिल्म बिहान हलमा चलेर बेलुकै उत्रिन बेर छैन!
किन भने फिल्म हलमा लागेको खबर दर्शकलाई थाहा नै छैन। दर्शकलाई मात्र होइन, फिल्मको को-अर्डिनेटरले हलमा लाग्दैछ भनेर पत्रकारहरूलाई इमेल नगरेको भए त पत्तो पनि लाग्ने थिएन। अभिनेत्री सुरक्षा पन्तकै मुख्य भूमिकाको फिल्मको यति दयनीय स्थिति बनेको छ।
नेपाल र भारतका केही हलमा पनि प्रदर्शन हुने भनिएको यो फिल्मको अवस्था के हुन्छ। अहिल्यै भन्न सकिने अवस्था छैन। परिवार नै बसेर हेर्ने जस्तो फिल्म बनाएको भए यति खर्च नगरे पनि हुन्थ्यो। सानो फिल्म बनाएर युट्युबमै राखिदिएको भए युट्युबका दर्शक त बढ्थे नी। जे होस्, यो फिल्मले निर्माता त डुबाउने भयो नै सुरक्षालाई पनि डुबाउने खतरा छ।
यसअघि प्रदर्शनमा आएको पन्तका ‘जेरी अन टप’, ‘कोशेढुङ्गा’ र ‘पिताम्बर’मा पनि उही समस्या देखियो। उनी मुख्य भूमिकामा रहेको फिल्म ‘कोशेढुङ्गा’ ले त उनलाई झन् चिप्ल्याइदियो।
‘कोशेढुङ्गा’ ले उनलाई मात्र होइन निर्माताको पनि हरिबिजोग बनाइदियो। अब ‘धागो’ को हालत पनि यस्तै त होला! यस्तो पारा रहिरहे सुरक्षाकै हरिबिजोग हुने देखिन्छ। कि के हो सुरक्षा जी ?
कात्तिक २८, २०८२ शुक्रबार १६:५९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।