राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्न रास्वपालाई परियारको सुझाव, फेरि भेट भए सहकार्य गर्ने बाचा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टीबाट राजीनामा गरेका छन्। महामन्त्रीलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका छन्।
राजीनामा पत्रमा परियारले रास्वपाको सदस्य भएर वैकल्पिक राजनीतिक अभियानमा सहभागी हुन पाएकोमा आभार व्यक्त गरेका छन्। उनले पार्टीभित्र रहँदा देश र पार्टीको हितमा इमान्दार प्रयास गरे पनि विचारलाई संस्थागत गर्न नसकिएको कमजोरी आफ्नै भएको उल्लेख गरेका छन्।
परियारले नेपाली समाजको विशिष्ट यथार्थअनुसारको वैकल्पिक राजनीतिक विचार निर्माण हुन नसक्दा आफू दुःखी रहेको बताए।
परियारले हालैको भदौ २३–२४ को जेनजी विद्रोहलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै यसले नेपाली राजनीतिको परम्परागत जडताललाई तोडिदिएको दाबी गरेका छन्। उनले यो आन्दोलनले यथास्थितिमा अब देशको राजनीति अगाडि नबढ्ने प्रमाणित गरिसकेको छ भन्दै नयाँ पुस्ताले समकालीन चेतना निर्माणमा ठूलो भूमिका खेलेको बताए।
उनले हर राजनीतिक दल र नेताले बदलिँदो समाजलाई समझेर नयाँ दिशाबाट सोच्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
राजीनामा पत्रमा परियारले नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, पुराना अवधारणाको पुनःपरिभाषा र संगठनहरूको पुनर्गठन गर्ने ऐतिहासिक दायित्व अहिलेको पुस्तामाथि आएको उल्लेख गरेका छन्। यही कारण आफू नयाँ राजनीतिक अभियानमा सक्रिय बन्नुपर्ने आवश्यकता महसुस भएको कारण पार्टी त्याग्न बाध्य भएको उनले राजीनामा पत्रमा स्पष्ट पारेका छन्।
परियारले कात्तिक २८ गतेदेखि रास्वपाको कुनै पनि जिम्मेवारी वा सामान्य सदस्यता समेत नरहने बताएका छन्। रास्वपामा रहँदा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले भविष्यमा देश निर्माण र समाज रूपान्तरणका राजनीतिक यात्रामा फेरि भेट भए सहकार्य हुने उल्लेख गरेका छन्।
रास्वपाभित्र चलिरहेको नेतृत्व बहस, असन्तुष्टि र वैकल्पिक राजनीतिक दिशाबारेको चर्चा बीच सन्तोष परियारको राजीनामा आएको हो।

कात्तिक २८, २०८२ शुक्रबार १५:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।