नेपाली च्यानलका लागि एनपीएल प्रसारण अधिकार ‘घाटाको व्यापार’

नेपाली च्यानलका लागि एनपीएल प्रसारण अधिकार ‘घाटाको व्यापार’

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारण अधिकार बिक्री प्रक्रियामा अपारदर्शी र विवादास्पद निर्णयहरू गर्दा नेपाली टेलिभिजन च्यानलहरू गम्भीर व्यावसायिक संकटमा परेका छन्।

प्रतियोगिताको प्रमुख अन्तर्राष्ट्रिय ब्रोडकास्टर ‘स्टार स्पोर्ट्स’ र ओटीटी प्लेटफर्म ‘डिशहोम गो’ दुवैले विज्ञापनरहित प्रसारण गर्ने भएपछि, नेपाली च्यानलका लागि एनपीएलको प्रसारण अधिकार खरिद गर्नु ‘घाटाको व्यापार’ बन्ने देखिएको छ।

क्यानले सुरुमा ‘एकलौटी’ (Exclusive) अधिकार दिने वाचा गरे पनि अन्तिम समयमा आएर बोली फेर्दै भारतीय च्यानल स्टार स्पोर्ट्सलाई विना प्रतिस्पर्धा भित्र्याएपछि नेपाली मिडिया लगानीकर्ताहरूमाथि ठूलो अन्याय भएको छ। यो घटनाले प्रतियोगिता सुरु हुनुअघि नै क्यानको कार्यशैलीलाई गम्भीर विवादमा तानेको छ।

किन बन्यो घाटाको व्यापार?
कुनै पनि टेलिभिजन च्यानलले प्रसारण अधिकारमा गरेको करोडौंको लगानी विज्ञापन बिक्रीबाट उठाउने गर्छ। तर, एनपीएलको हकमा दर्शकले दुईवटा सहज र उच्च गुणस्तरका विकल्पमा विज्ञापनबिना नै खेल हेर्न पाउने भएका छन्।

क्यानले नेपाली टेलिभिजनको प्रसारण अधिकारको टेन्डरमा सहभागी नेपाली च्यानलहरूलाई पठाएको आधिकारिक इमेलमा ‘स्टार स्पोर्ट्स’ले विज्ञापनरहित प्रसारण गर्ने स्पष्ट उल्लेख छ गरेको छ।

यसका अलावा ओटीटी अधिकार पाएको डिशहोमले जारी गरेको प्रेस विज्ञप्तिमा ३०० रुपैयाँ शुल्क तिरेपछि विज्ञापनरहित लाइभ स्ट्रिमिङ हेर्न सकिने जनाइएको छ।

जब दर्शकले टेलिभिजनमा ‘स्टार स्पोर्ट्स’ र मोबाइलमा ‘डिशहोम गो’ मार्फत बिना कुनै विज्ञापनको झन्झट खेल हेर्न पाउँछन्, तब बारम्बार विज्ञापन देखाउने नेपाली च्यानलमा कोही पनि आकर्षित हुने सम्भावना रहँदैन। दर्शक नै नभएपछि विज्ञापनदाताले लगानी गर्ने प्रश्नै उठ्दैन।

रातारात बदलियो ‘एक्सक्लुसिभ’ अधिकार, नेपाली च्यानललाई धोका
क्यानले कात्तिक १८ गते प्रसारण अधिकारको टेन्डर आह्वान गर्दा नेपालभित्रका लागि ‘एक्सक्लुसिभ’ टेलिभिजन अधिकार दिने स्पष्ट पारेको थियो। यसको अर्थ थियो, जसले ठेक्का पाउँछ, उसले मात्र नेपालमा एनपीएल देखाउन पाउनेछ। यही विश्वासमा नेपाली च्यानलहरूले करोडौंको लगानीसहित व्यावसायिक योजना बनाएका थिए।

तर, जब स्टार स्पोर्ट्सको प्रवेश निश्चित भयो, क्यानले रातारात आफ्नो वाचा तोड्यो। बुधबार टेन्डर खोल्नुभन्दा केही घण्टाअघि मात्र क्यानले सहभागीहरूलाई इमेल पठाउँदै भन्यो, ‘स्टार स्पोर्ट्सको संलग्नताका कारण अब ‘एक्सक्लुसिभ’ अधिकार ‘नन-एक्सक्लुसिभ’ मा परिवर्तन गरिएको छ। कृपया सोहीअनुसार आफ्नो प्रस्ताव संशोधन गरी पेश गर्नुहोस्।’

यो निर्णयले नेपाली च्यानलहरूको सम्पूर्ण योजना चौपट पारेको छ। उनीहरूले एकलौटी बजार पाउने आशामा गरेको तयारी अब अन्योलमा परेको छ। यसका नेपाली टेलिभिजन च्यानलहरूलाई भोलिसम्म प्रपोजल पेश गर्न दिइने भनिएको छ। जसको बिड पनि भोलि दिउँसो १ बजे नै खुल्नेछ।

ओटीटी अधिकारमा पनि अख्तियारमा उजुरी, सचिव खड्कामाथि स्वार्थको आरोप
टेलिभिजन अधिकार मात्र होइन, ओटीटी अधिकार बिक्रीमा पनि गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रतिस्पर्धी कम्पनी एमएसएम भिडियो प्रालिले क्यानले १ करोड १४ लाख रुपैयाँ बढी प्रस्ताव गर्दागर्दै कम रकम प्रस्ताव गर्ने डिशहोमलाई ठेक्का दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ।

उजुरीमा क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्काको स्वार्थ बाझिएको गम्भीर आरोप छ। खड्का डिशहोमका ‘ब्रान्ड एम्बासडर’ हुन्। आफैँले प्रचार गरेको कम्पनीलाई निर्णायक तहमा बसेर ठेक्का दिनुले यो निर्णयमा व्यक्तिगत स्वार्थ र मिलेमतो रहेको उजुरीकर्ताको दाबी छ।

कानुनी प्रक्रियाको ठाडो उल्लंघन
क्यानको यो सम्पूर्ण प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ को ठाडो उल्लंघन भएको छ। ऐनअनुसार कुनै पनि ठेक्का आह्वान गर्दा कम्तिमा १५ दिनको समय दिनुपर्छ, तर क्यानले जम्मा ७ दिनको म्याद राखेर प्रक्रिया टुंग्याउन खोज्यो। यसबाहेक, स्टार स्पोर्ट्सलाई टेन्डर प्रक्रियाबिनै सिधै सम्झौता गर्नुले क्यानको अपारदर्शी र गैरकानुनी कार्यशैलीलाई थप पुष्टि गर्छ।

सोमबारबाट लिग सुरु हुँदै गर्दा शनिबारसम्म घरेलु प्रसारण अधिकार कसले पाउने भन्ने टुंगो नलाग्नुले क्यानको चरम अव्यवस्थापन देखाउँछ। पुरानै गल्तीबाट पाठ नसिक्दै क्यानले फेरि एकपटक नेपाली क्रिकेटको साखमाथि प्रश्न उठाएको छ, जसले अन्तर्राष्ट्रिय पहुँचको नाममा आफ्नै घरेलु साझेदारहरूलाई धोका दिएको छ।

एनपीएलबारे उकेराको श्रृंखला:

कात्तिक २८, २०८२ शुक्रबार १२:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।