एनपीएलको स्ट्रिमिङ अधिकार पाएपछि मोबायोटिक्स र अकामाईसँग प्राविधिक सहकार्य गर्दै डिसहोम

एनपीएलको स्ट्रिमिङ अधिकार पाएपछि मोबायोटिक्स र अकामाईसँग प्राविधिक सहकार्य गर्दै डिसहोम

काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणको ओटीटी अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेपछि उच्च गुणस्तर र अवरोधरहित प्रसारण सुनिश्चित गर्न डिशहोमले विश्वप्रसिद्ध प्रविधि कम्पनीहरू मोबायोटिक्स र अकामाईसँग प्राविधिक सहकार्य गरेको छ।

आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने एनपीएलका सम्पूर्ण ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिनेछ।

नेपाल क्रिकेट संघ (क्यान)बाट प्रशारण अधिकार पाएपछि डिशहोमले दर्शकलाई उत्कृष्ट अनुभव प्रदान गर्न आईपीएल जस्ता ठूला प्रतियोगितामा प्रविधि सहकार्य गरेका कम्पनीहरूसँग हात मिलाएको हो।

मोबायोटिक्स एक अग्रणी ओटीटी प्लेटफर्म निर्माण गर्ने कम्पनी हो, जसले लाखौं दर्शकले एकैपटक सहज रूपमा भिडियो हेर्न सक्ने प्रणाली बनाउँछ। यसअघि आईसीसी च्याम्पियन्स ट्रफीमा बंगलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले यसैको प्लेटफर्ममार्फत सहजै हेरेका थिए।

त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’सँग सहकार्य गर्दै आएको छ। यसले इन्टरनेटमा सामग्रीलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउँछ, जसले गर्दा भिडियो स्ट्रिमिङमा कुनै अवरोध आउँदैन।

कति शुल्क, कहाँ हेर्ने?
‘डिशहोम गो’ मार्फत एनपीएलका खेल हेर्न दर्शकले निश्चित शुल्क तिर्नुपर्नेछ।

क्यानले तोकेअनुसार नेपालका लागि ३०० रुपैयाँ, मध्यपूर्वका लागि ५०० रुपैयाँ र अन्य देशका लागि १० अमेरिकी डलर शुल्क लाग्नेछ।

यो शुल्क तिरेपछि विज्ञापनरहित रूपमा खेलको मज्जा लिन सकिनेछ। यसपटक एनपीएलका खेलहरू युट्युबमा भने प्रत्यक्ष प्रसारण हुने छैनन्।

दर्शकले मोबाइल, एन्ड्रोइड टिभी र वेब ब्राउजरबाट ‘डिशहोम गो’ प्रयोग गर्न सक्नेछन्। यसका लागि खल्ती, इसेवा, भिसा वा मास्टरकार्डमार्फत विश्वभरबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।

डिशहोमले आफ्नो नयाँ संस्करणको एप गुगल प्ले स्टोरमा उपलब्ध गराइसकेको छ भने आईओएस प्रयोगकर्ताका लागि केही दिनमै उपलब्ध हुने जनाएको छ।

कात्तिक २८, २०८२ शुक्रबार ११:२०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।