अमेरिकामा ४३ दिन लामो ‘सटडाउन’ अन्त्य, १४ लाख कर्मचारीले तलब पाउने
एजेन्सी : अमेरिकामा विगत ४३ दिनदेखि जारी सरकारी कामकाज ठप्प हुने अवस्था (सटडाउन) अन्त्य भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सरकारी फन्डिङ बिल (खर्च विधेयक) मा हस्ताक्षर गरेपछि यो समस्या समाधान भएको हो।
ट्रम्पको हस्ताक्षरसँगै अब अमेरिकाका करिब १४ लाख सरकारी कर्मचारीले ४३ दिनपछि तलब पाउने बाटो खुलेको छ।
यो बिल तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) बाट २२२ विरुद्ध २०९ मतले पारित भएको थियो भने माथिल्लो सदन (सिनेट) ले यसलाई पहिले नै पास गरिसकेको थियो।
नयाँ व्यवस्था अनुसार सरकारलाई आगामी ३१ जनवरीसम्म सञ्चालन खर्च उपलब्ध हुनेछ। साथै, ३१ जनवरीसम्म सरकारी एजेन्सीहरूले कर्मचारी कटौती गर्न पाउने छैनन्।
बिलमा हस्ताक्षर गर्नुअघि राष्ट्रपति ट्रम्पले भने, ‘देश योभन्दा राम्रो स्थितिमा कहिल्यै थिएन। यो एक महान दिन हो।’
यो बिल पास भए पनि स्वास्थ्य बिमासम्बन्धी विवाद भने सुल्झिएको छैन। यसमा ‘ओबामा केयर’ भनिने स्वास्थ्य बिमा कार्यक्रमको सहुलियत (सब्सिडी) थप्ने विषय समावेश गरिएको छैन। हालको व्यवस्था अनुसार यो सहुलियत ३१ डिसेम्बर २०२५ मा सकिँदैछ।
डेमोक्रेटिक पार्टीका नेताहरूले स्वास्थ्य बिमाको सहुलियतका लागि संघर्ष जारी राख्ने घोषणा गरेका छन्।
हाउसका डेमोक्र्याट नेता हकिम जेफ्रिजले भने, ‘यो लडाइँ सकिएको छैन। हामी गरिब र मध्यम वर्गीय अमेरिकीहरूका लागि स्वास्थ्य बिमा सस्तो बनाउन आज, भोलि र अर्को महिना पनि लडिरहने छौँ।’
उता, राष्ट्रपति ट्रम्पले भने ओबामा केयरको सहुलियतलाई ‘बिमा कम्पनीको नाफा र जनताका लागि विपत्ति’को संज्ञा दिएका छन्।
उनले बिमा कम्पनीलाई सहुलियत दिनुभन्दा जनतालाई सिधै पैसा दिनुपर्ने धारणा राख्दै सरकार खुलेपछि दुवै पार्टीसँग मिलेर यसको समाधान खोज्ने बताएका छन्।
कात्तिक २८, २०८२ शुक्रबार ०७:५५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।