भदौ २२ मा देउवालाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको गगनको खुलासा, भने "एमालेले समाज सम्हाल्दैन"

भदौ २२ मा  देउवालाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको गगनको खुलासा, भने

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयपछि डिस्कर्ड भएको छलफल र आक्रोशबारे पार्टी सभापती शेरबहादुर देउवालाई जानकारी गराउँदा पनि गम्भिर नभएपछि संसदीय दलको नेता नै बदल्न छलफल गरेको खुलाए।

विहिबार पार्टीको केन्द्रिय समिती बैठकमा कुरा नचपाई प्रष्ट रूपमा भदौ २२ गते राती पार्टीको संसदीय दलको नेता बदल्नेबारे छलफल भएको खुलाए। 

बैठकमा यसको कारण खुलाउँदै उनले भने " २२ गते बेलुका पार्टी सभापति शेरबहादुर दाईलाई सबै कुराहरु भनिसके पछाडि भाइहरुको कुरा ठिक हो ठिक हो तर ओली मान्दैन ओली मान्दैन भनेपछि म एउटा निष्कर्षमा पुगेँ," उनले भने " अर्को महामन्त्री (विश्वप्रकाश शर्मा)ले त लगातार सभापती अब प्रधानमन्त्री नभन्नुस् भनिराख्नु भएको थियो। २२ गते चाहिँ म आजित भएर सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता फेर्नुपर्छ भन्ने बैठकमा म पनि थिएँ।"

अब एमालेसँग सहकार्य गरिराख्यो भने झन् परनिर्भरता बढ्छ भन्ने निष्कर्षका साथ संसदीय दलको नेता बदल्न भदौ २२ गते राति छलफल भएको भन्दै उनले भने " जसले एकदम धेरै जिम्मा लिएर बोलिराख्नु भएको छ केहि नेताहरु पनि त्यो बैठकमा हुनुहुन्थ्यो।"

आफु दलको नेता लड्दा २५ भोट मात्र आएको र फेरि लड्न जाँदा झन् घट्ने होला भन्दै उनले संसदीय दलको नेता बदल्न छलफल भएको बताए।

सभापति देउवालाई दलको नेता राखिरह्यो भने एमालेसँग कांग्रेस जसरी टाँसिएको छ त्यसले झन झन डिपेन्डेन्ट हुदै जाने  निष्कर्षमा पुगेर दलको नेता बदल्ने छलफलमा जुटेको उनको तर्क थियो।

एमालेले समाज सम्हाल्दैन

महामन्त्री थापाले बैठकमा एमालेले खालि समाजमा उत्तेजना फैलाउने तर नसम्हाल्ने बताए। थापाले एमालेको चरित्रलाई “उत्तेजना फैलाउने र समाजलाई ध्रुवीकरणतर्फ लैजाने” पार्टीको रूपमा चित्रित गरे। 

उनले भने “एमालेले समाजलाई सम्हाल्दैन, उथलपुथल बढाउँछ। त्यसको चरित्र नै उस्तै छ। अहिले पनि त्यसले आक्रोश र बेचैनीलाई भड्काउने काम गर्छ।”

उनले कांग्रेसको चरित्र त्यस्तो नभएको भन्दै बहु धुर्विय संवाद र संयमबाट समाजलाई सम्हाल्नु पर्ने बताए। उनले अहिलेको सङ्कटलाई ‘एमालेको शैली’ले होइन, ‘संवाद र सुधारको शैली’ले मात्रै पार गर्न सकिने बताए।

“नेपाली कांग्रेसको क्यारेक्टर त्यस्तो होइन। हामीले संवाद र संयमबाट समाजलाई सम्हाल्ने पार्टी बन्नुपर्छ" उनले भने।

कांग्रेसभित्रको असन्तुष्टि र आत्मसमीक्षा:

थापाले बैठकमा आफ्नै पार्टी नेतृत्वप्रति समेत कठोर आत्मसमीक्षा गरे। उनले भित्रभित्रै सन्तुष्टि वर्षौँदेखि जम्दै आएको र  भाद्र २३ र २४ गते विस्फोट भएको बताए।

“त्यो आक्रोश घुसपैठले होइन, संचित असन्तुष्टीको विस्फोट थियो। भाद्रमा नभएको भए मंसिरमा हुन्थ्यो,” उनले भने “हामीले जनताको आक्रोश र बेचैनी बुझ्न सकेनौं। हामीले थाहा पाएनौं कि समाज हामीभन्दा धेरै अगाडि पुगेको छ।”

 विशेष महाधिवेशन मात्र विकल्प

थापाले कांग्रेसको नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने र पार्टी सभापति देउवा पनि मंसिरमा महाधिवेशन गर्न राजी भएको दाबी गरे। उनले कार्यवाहक सभापति तोक्ने विज्ञप्तिमै महाधिवेशन मंसिरमा भनेर लेखिएको तर केही नेताको आग्रहमा काटिएको दाबी समेत गरे।

“अब महाधिवेशन आन्तरिक मात्रै होइन, राष्ट्रिय विषय हो। हामीले जनतालाई भन्नुपर्छ यो पुरानो कांग्रेस होइन, नयाँ कांग्रेस हो,” उनले भने। 

उनले नम्बर भए पनि नैतिकता नभएको भन्दै महाधिवेशनमार्फत कांग्रेसले ‘नैतिक प्राधिकार’ पुनः स्थापित गर्नुपर्ने अवस्था आएको बताए।

“आज हामीसँग नम्बर छ, तर नैतिकता छैन। वैधानिक निर्णय मात्रै होइन, जनस्वीकृति पनि जरुरी हुन्छ,” उनले भने।

 उनले संवाद, समावेशिता र युवा सशक्तीकरण पार्टीको केन्द्रबिन्दु बन्नुपर्ने, पुरानो शक्ति संरचना तोड्ने र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने अभियान सुरु गर्नुपर्ने, युवा पुस्ताको असन्तुष्टि, समाजको तीव्र सहरीकरण र बिदेसिएका युवाको बदलिँदो सोचबारे समेत बोले।

“हाम्रो राजनीति आशाको वाचा गर्ने क्षमताबाट टाढा भइसकेको छ। यो पुनः स्थापित गर्न नेतृत्वको सोच बदल्नैपर्छ,” उनले भने।

उनका अनुसार, अहिले कांग्रेसले पुरानो सोच, नेतृत्व र कार्यशैली त्यागेर नयाँ पुस्ताको सोच आत्मसात् नगरे भविष्यमा अस्तित्व सङ्कटनिम्त्याउँछ।

उनले भने “हामीले सोसल मिडियाको युगमा पनि उही २० वर्ष पुरानो भाषण शैली अपनाएका छौँ। समाज हामीभन्दा धेरै अगाडि छ। हामीले त्यसको गति बुझ्नैपर्छ।”

थापाले युवा पुस्तालाई ‘सिर्फ कार्यकर्ता होइन, निर्णायक शक्ति’ को रूपमा अघि ल्याउन आग्रह समेत गरे। उनले भ्रष्टाचार, राज्य स्रोतको दुरुपयोग र दण्डहीनताको संस्कृतिलाई “साझा समस्या” भन्दै सबै दल जिम्मेवार बन्नुपर्ने बताए।

“समाजमा बढ्दो निराशा कुनै एक दलको कारण होइन। हामी सबै जिम्मेवार छौँ। कांग्रेसले आत्मसुधार गरेर बाटो देखाउनुपर्छ,” उनले भने।

कात्तिक २८, २०८२ शुक्रबार ०१:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।