वीपी प्रतिष्ठानबाट बर्खास्त डा. रेग्मी निजामती अस्पतालका कार्यकारी निर्देशक !

वीपी प्रतिष्ठानबाट बर्खास्त डा. रेग्मी निजामती अस्पतालका कार्यकारी निर्देशक !

काठमाडौं : बिदा स्वीकृत नगरी निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक भएको भन्दै डा. मोहन चन्द्र रेग्मीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवाबाट बर्खास्त गर्यो।

प्रतिष्ठानको कार्यकारिणी समितिको २०८२ कात्तिक २ को बैठकले प्रतिष्ठानमा स्थायी रहेका रेग्मीलाई बर्खास्त गर्ने निर्णय गर्यो। बर्खास्तको कारण देखाइयो प्रतिष्ठानमा हाजिर हुन पटक–पटक गरिएको पत्राचारपछि पनि हाजिर हुन नआउनु।

२०८२ कात्तिक २ मा पेस भएको प्रस्तावमा ‘प्रतिष्ठानको २०८२ असार २३ गतेको पत्रबाट प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०.७ अन्तर्गत सेवाबाट स्वतः खारेज गर्ने कारबाही प्रक्रिया अगाडि बढाउन फायल पेस गरिएको’ उल्लेख छ।

बैठकले प्रस्ताव अनुसार २०८२ जेठ १५ देखि लागु हुनेगरी स्वत बर्खास्त गर्ने निर्णय गर्दै नगद, जिन्सी र कागजातहरूको बरबुझारथ गर्न डा. रेग्मीलाई अनुरोध गरिसकेको छ।

बर्खास्त अगाडि रेग्मीसँग प्रतिष्ठानले स्पष्टीकरण सोधेको देखिएन। लामो अवधिसम्म बिना सूचना गैर हाजिर भएकोलाई सेवाबाट स्वतः खारेज गर्नु परेमा शिक्षक या कर्मचारी उपर गरिने कारबाही वा सजायको सम्बन्धमा निजको स्पष्टीकरण लिने कार्यविधि समितिले अपनाउनुपर्ने छैन भन्ने व्यवस्था बमोजिम बर्खास्त गरिएको प्रतिष्ठानको तर्क छ।

डा. रेग्मी दुई वर्ष अघिदेखि निजामती कर्मचारी अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा आएका थिए। त्यसपछि उनी अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भए। उकेरालाई प्राप्त तथ्य हेर्दा डा. रेग्मी बिदा स्वीकृत नगराई निजामती कर्मचारी अस्पतालको निर्देशक नियुक्त भएको प्रस्टै देखिन्छ। प्रतिष्ठानले हाजिर हुन अनुरोध गर्दा उनी हाजिर भएको देखिएन।

पहिलो चरणमा डा. रेग्मी निजामती कर्मचारी अस्पतालमा काजमा प्रवेश गरेका थिए। एमाले नेतृत्वको सरकारमा उनी काज हुँदै त्यही अस्पतालको निर्देशक बने।

डा. रेग्मीलाई निजामती कर्मचारी अस्पतालमा काजमा पठाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० वैशाख १७ मा प्रतिष्ठानलाई पत्र लेखेको थियो। त्यो बेला डा. रेग्मीले मन्त्रालयमार्फत निजामती अस्पतालबाटै सेवा सुविधा उपलब्ध गराउने गरी दुई वर्ष काजमा खटाइदिन प्रतिष्ठानमा अनुरोध  गरेका थिए।

डा. रेग्मीले २०८० जेठ १० मा जेठ १६ बाट कायम हुने गरी प्रतिष्ठानसँग बिदा मागेका थिए। प्रतिष्ठानको कार्यकारिणी समितिको २०८० जेठ १० मा बसेको बैठकले सञ्चित घर बिदा र बिरामी बिदा भुक्तान भई सकेको भन्दै बाँकी अवधि बेतलबी बिदा स्वीकृत गर्यो। 

२०८० जेठ १० को कार्यकारिणी समितिको डा. रेग्मीलाई सम्बोधन गर्दै गरेको निर्णयमा ‘२०८० जेठ १५ सम्म सञ्चिति घर बिदा र बिरामी बिदा गरी जम्मा ३३३ दिन र बाँकी अवधि ३९७ दिनलाई बेतलबी बिदा स्वीकृत गर्ने निर्णय गरिए’को उल्लेख छ। प्रतिष्ठानले २०८० जेठ १६ बाट लागु हुनेगरी बिदा स्वीकृत गरेकोबारे २०८० जेठ १५ मा डा. रेग्मीलाई पत्रमार्फत जानकारी गराएको देखिन्छ।

स्वास्थ्य मन्त्रालयले २०८० जेठ २८ मा निजामती कर्मचारी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानको सहकुलपतिको जेठ २४ को निर्णय अनुसार निजामती कर्मचारी अस्पतालमा डा. रेग्मीलाई काजमा खटाएको जानकारी गरायो।

त्यसपछि डा. रेग्मीले २०८० जेठ २९ मा निजामती कर्मचारी अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. विधाननिधि पौडेललाई हस्त लिखित पत्र लेखेर असार १ बाट लागु हुनेगरी हाजिर गराउन र स्त्री तथा प्रसूति रोग विभागमा कार्यसम्पादनको अनुमति दिन अनुरोध गरे।

उनी अस्पतालमा काजमा खटिएर काम गर्न थाले। डा. रेग्मीले प्रतिष्ठानबाट निजामती कर्मचारी अस्पतालका लागि लिएको दुई वर्षे बेतलबी काज बिदा २०८२ जेठ १४ मा सकियो।

प्रतिष्ठानले २०८२ जेठ १४ मा नै डा. रेग्मीलाई पत्र लेखेर बिदाको अवधि २०८२ जेठ १४ मा पुरा हुने भएकोले २०८२ जेठ १५ देखि प्रतिष्ठानमा हाजिर हुन अनुरोध गर्यो। तर, उनी प्रतिष्ठानमा हाजिर हुन गएनन्।

हाजिर हुन नगइसेकेपछि प्रतिष्ठानले २०८२ जेठ २० पुनः अर्को पत्र लेख्दै प्रतिष्ठानमा हाजिर हुन अनुरोध गर्दै हाजिर हुन नसक्ने अवस्था भए स्पष्ट कारण सहित जानकारी उपलब्ध गराउन अनुरोध गर्यो। नत्र नियमानुसार प्रक्रिया अगाडी बढाइने समेत प्रतिष्ठानले उनलाई जानकारी गरायो।

तर, डा. रेग्मी प्रतिष्ठानले तोकेको समयमा हाजिर हुन गएनन्। डा. रेग्मी २०८१ फागुन २८ मा नै  चार वर्षे कार्यकालका लागि निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भइसकेका थिए।

डा. रेग्मीले २०८२ जेठ १४ मा प्रतिष्ठानलाई पत्र लेख्दै आफू निजामती कर्मचारी अस्पताल विकास समितिको कार्यकारी निर्देशकको रूपमा कार्यरत रहेकोबारे जानकारी गराए। सो पत्रमार्फत डा. रेग्मीले २०८२ जेठ १५ देखि २०८५ फागुन २७ सम्म प्रतिष्ठानबाट निजामती कर्मचारी अस्पतालका लागि काज बिदा दिन समेत माग गरे।

स्वास्थ्य मन्त्रालयले समेत २०८२ जेठ १४ मा प्रतिष्ठानलाई पत्र लेख्दै २०८२ जेठ १६ देखि लागु हुनेगरी चार वर्षका लागि निजामती कर्मचारी अस्पतालमा खटाइदिन अनुरोध गरेको देखिन्छ। 

यसरी हेर्दा २०८१ फागुन २८ मा नै निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका डा. रेग्मीले नियुक्त भएको डेढ महिनापछि २०८२ जेठ १४ मा पत्र लेख्दै २०८५ फागुन २७ सम्म प्रतिष्ठानसँग काज बिदा मागेको देखिन्छ।

तर, प्रतिष्ठानले नियम अनुसार नमिल्ने भएकाले डा. रेग्मीलाई काज बिदा दिन  नसकिने जानकारी गराएको देखिन्छ। उकेरालाई प्राप्त गरेको तथ्य अनुसार डा. रेग्मीले बिदा स्वीकृत नै नगराई निजामती अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएको प्रस्टै देखिन्छ।

जबकि उनले प्रतिष्ठानबाट काज बिदा स्वीकृत गराएर वा राजीनामा गरेर मात्रै निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा नियुक्तिका लागि दरखास्त दिनुपर्ने थियो।

‘नो अब्जेक्शन लेटर अभिलेख देखिएन’

डा. रेग्मीले प्रतिष्ठानबाट बिदा नै स्वीकृत नगराई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएको त देखियो। तर उनी प्रतिष्ठानको शिक्षाध्यक्षबाट विभागीय सहमति लिएको उनले दाबी गरे।

‘विभागीय सहमति प्रतिष्ठानको शिक्षाध्यक्षबाट लिएर नियुक्त भएको हो,’डा. रेग्मीले भने। डा. रेग्मी प्रतिष्ठानको अब्सटेट्रिक्स एन्ड गाइनोकोलोजी विभागका प्राध्यापक हुन्। प्रतिष्ठानबाट आफूले अझै चार वर्ष लिन पाउने बिदा बाँकी रहेको डा. रेग्मीले दाबी गरे।

‘मेरो आफ्नै बिदा छ,’डा. रेग्मीले भने,‘तीन वर्ष स्वअध्ययन बिदा र एक वर्ष बेतलबी काज (बिदा) बाँकी नै छ। प्रतिष्ठानले दिए (बिदा लिन) मिल्छ।’

तर प्रतिष्ठानका एक अधिकारीले उनको बिदा बाँकी नै नरहेको बतायो।

 ‘कहाँ पाइन्छ र त्यस्तो? त्यो (बिदा) छ भने उहाँले हामीलाई उपलब्ध गराउनुहोस्,’ती अधिकारीले भने।

अकातर्फ कार्यकारी निर्देशक नियुक्तको लागि दरखास्त पेस गर्दा नै डा. रेग्मीले प्रतिष्ठानबाट निजामती कर्मचारी अस्पतालमा काम गर्न कुनै बाधा व्यवधान हुने छैन भनेर ‘नो अब्जेक्शन लेटर’ लिनुपर्ने पर्ने थियो। स्रोतले प्रतिष्ठानबाट अब्जेक्शन लेटर समेत उनले नलिएको दाबी गर्यो।

तर, डा. रेग्मीले भने प्रतिष्ठानबाट ‘नो अब्जेक्शन लेटर लिएर’ नै निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको लागि दरखास्त दिएको दाबी गरे।

‘नो अब्जेक्शन लिएर संघीय मामला मन्त्रालयमा बुझाएको छु,’डा. रेग्मीले उकेरासँग भने,‘प्रतिष्ठानको शिक्षाध्यक्षले नो अब्जेक्शन लेटर दिनुभएको छ। त्यसमा कसैलाई डाउट लाग्यो भने मन्त्रालयमा गएर सोध्दा हुन्छ।’

तर प्रतिष्ठानको अभिलेखालयमा उनले नो अब्जेक्सन लेटर लिएको अभिलेख देखिएन।

उता प्रतिष्ठानले बर्खास्त गरेपछि डा. रेग्मीले प्रतिष्ठानकै पुनरावेदन आयोगमा अन्याय परेको भन्दै पुनरावेदनका लागि निवेदन दिएका छन्। प्रतिष्ठानको पुनरावेदन आयोगमा विचाराधीन रहेको भन्दै यो विषयमा धेरै नबल्ने रेग्मीले बताए।

‘मैले प्रतिष्ठानको नियम विपरीत काम गरेको जस्तो लाग्दैन,’ डा. रेग्मीले भने,‘नो अब्जेक्शन सर्टिफिकेट लिएर नियुक्ति लिएको छु भने मलाई कहाँ छौ र हाजिर हुन आउ भनेर, म कहीँ भागेर गएको छैन। नेपालकै सरकारी निकायमा कम गरिरहेको छु। के अपराध गरेको छु।’

तर, उनले प्रतिष्ठानबाट बिदा स्वीकृत नगरी वा राजीनामा नै नदिई निजामती कर्मचारी अस्पतालको कार्यकारी नियुक्त हुनु नियमसँगत देखिँदैन। यो तथ्यले उनको निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदको वैधानिकता समेत सङ्कटमा देखिन्छ।

कात्तिक २७, २०८२ बिहीबार २२:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।