सकियो बिहारमा जारी विधानसभा निर्वाचन, शुक्रबार बिहानबाट मतगणना सुरू हुने

सकियो बिहारमा जारी विधानसभा निर्वाचन, शुक्रबार बिहानबाट मतगणना सुरू हुने

पटना : भारतको निर्वाचन आयोगले बिहीबार सम्पन्न बिहार विधानसभा निर्वाचन २०२५ शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार यस पटकको मतदानमा सन् १९५१ पछि सबैभन्दा उच्च जनसहभागिता देखिएको छ।

बुधबार सम्पन्न मतदानमा ६७.१३ प्रतिशत मतदाताको सहभागिता रहेको आयोगले जनाएको छ। बिहारका ३८ जिल्लामध्ये कुनै पनि जिल्लाबाट विवाद वा पुनःमतदानको अनुरोध नआएको आयोगको भनाइ छ।

आयोगका अनुसार नोभेम्बर ६ र ११ मा सम्पन्न दुई चरणका मतदानमा दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दल सहभागी थिए। आयोगले जारी गरेको सूचनामा भनिएको छ, “बिहार विधानसभा चुनाव २०२५ मा पुनः मतदानका लागि कुनै पनि आवेदन प्राप्त भएको छैन, सबै निर्वाचन क्षेत्र शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएका छन्।”

बिहारमा अन्तिम मतदाता सूचीअनुसार ७ करोड ४५ लाख २६ हजार ८५८ मतदाता दर्ता थिए। आयोगका अनुसार एसआइआर (स्पेशल इनसिडेन्ट रिपोर्ट) अन्तर्गत कुनै अपिल नपरेको पनि उल्लेख गरिएको छ।

निर्वाचन आयोगले नोभेम्बर १४ (शुक्रबार) बिहान ८ बजेबाट मतगणना सुरु हुने जनाएको छ। मतगणना सबै २४३ विधानसभा क्षेत्रहरूमा हुनेछ। प्रत्येक क्षेत्रका लागि १ जना निर्वाचन अधिकृत र मतगणना पर्यवेक्षक तोकिएको छ।

बिहारमा मतगणनाका लागि चार हजार ३७२ गणना टेबल तयार गरिएको छ। पहिलो चरणमा हुलाक मतपत्र गणना हुनेछ, त्यसपछि बिहान ८ः३० बजेबाट इलेक्ट्रोनिक भोटिङ मेसिनको गणना सुरु हुनेछ।

कात्तिक २७, २०८२ बिहीबार २१:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।