रवि र छविको मुद्दामा सर्वोच्चबाट मिसिल झिकाउन आदेश

रवि र छविको मुद्दामा सर्वोच्चबाट मिसिल झिकाउन आदेश

बुटवल : उच्च अदालत बुटवल इजालसले सहकारीका बचतकर्ताको रकम अपचलन र संगठित अपराधको अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको  थप प्रमाण आवश्यक रहेको भन्दै सर्वोच्च अदालतबाट मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीश द्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजालसले थप मिसिल झिकाउने आदेश दिएको हो। न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले यस अघि लामिछाने र जोशीको एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो।

सोही अनुसार बिहिबार दुवैको मुद्दा एक साथ पेशी मा चढेको थियो। यसअघि २० कात्तिकको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो। त्यस अघि १३ भदौमा जोशीका निवेदकले स्थगित गरेपछि दुवैको सुनुवाइ स्थगित भएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गएको साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए। लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत तुल्सीपुर बुटवल ईजालसमा निवेदन दर्ता गराएका थिए ।

कात्तिक २७, २०८२ बिहीबार १८:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।