स्काइडाइभिङमा पर्यटकको आकर्षण, ‘एडेभेन्चर हब’ बन्दै पोखरा
गण्डकी : पोखराको पर्यटन अब केवल ताल, डाँडा र हिमालमै सीमित छैन। यहाँको सौन्दर्यसँगै साहसिक खेलको रोमाञ्चले पनि पर्यटकलाई तान्दै छ। ‘नेचर, कल्चर र एडेभेन्चर’का रूपमा परिचित पोखरा अहिले स्काइडाइभिङको नयाँ गन्तव्य बन्दै गएको छ।
प्याराग्लाइडिङ, हट एयर बेलुन, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका गतिविधिले पोखरालाई साहसिक पर्यटनको केन्द्र बनाइदिएका छन्। हरेक वर्ष असोज–कात्तिक र चैत–वैशाखको मौसममा विदेशी र नेपाली दुबै साहसिक पर्यटक स्काइडाइभिङका लागि पोखरा पुग्छन्। यस याममा नोभेम्बर १ देखि सुरु भएको स्काइडाइभिङ कार्यक्रम शनिबारसम्म सञ्चालनमा रहनेछ।
हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरसँग सहकार्यमा इनस्काइ स्काइडाइभ कम्पनीले लौरुक, पामेस्थित एभिया क्लबको मैदानबाट स्काइडाइभिङ सञ्चालन गरिरहेको छ। कम्पनीका सञ्चालक निर्मल पाण्डेका अनुसार हेलिकप्टरले पोखराको पुरानो विमानस्थलबाट उडान भरेर १३ हजार फिट उचाइ पुगेपछि प्रशिक्षकले पर्यटकलाई हाम फाल्न लगाइन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म एकपटकमा १५ दिनका लागि मात्र स्काइडाइभिङ अनुमति दिँदै आएको छ । “यो अवधिमा ५२ जना नेपाली र विदेशीले स्काइडाइभिङ गर्दै छन्। १२ जना रसियन जम्पर पनि आउँदै छन्,” पाण्डेले भने, “यदि अनुमति नियमित गर्न सकियो भने पोखरामा विदेशी पर्यटकको आकर्षण अझै बढ्नेछ।”
उनका अनुसार ‘आरएओसी’ अर्थात् मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र पाउने व्यवस्था बने स्काइडाइभिङ व्यवसायिक रूपमा विस्तार गर्न सजिलो हुने छ। अहिले कम्पनीहरूले हेलिकप्टर कम्पनीसँग छुट्टै सम्झौता गरेर अस्थायी रूपमा कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
“१५ दिनको अनुमति र झन्झटिलो प्रक्रिया भएकाले बजार प्रवद्र्धनमा चुनौती छ,” पाण्डेले भने, “यदि ‘आरएओसी’ दिएमा लगानी बढ्छ, आम्दानी र रोजगारी दुवै सिर्जना हुन्छ।”
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पोखरा र सगरमाथा क्षेत्र (स्याङबोचे) स्काइडाइभिङका उत्कृष्ट सम्भावित गन्तव्य हुन्। “प्राधिकरणले आवश्यक मापदण्ड पूरा गर्ने कम्पनीलाई ‘आरएओसी’ दिने तयारी गरिरहेको छ,” उनले भने, “सम्भव भएसम्म यही आर्थिक वर्षभित्र प्रक्रिया टुंग्याउने लक्ष्य छ।”
उनका अनुसार स्काइडाइभिङ कम्पनीसँग आफ्नै हेलिकप्टर वा पाँच वर्षे सम्झौता, आधारस्थल, एयर स्पेस र तालिमप्राप्त प्रशिक्षक अनिवार्य हुनुपर्छ।
हाल पोखरामा प्रशिक्षक एलिस थापाको नेतृत्वमा नेपाली टोलीले स्काइडाइभिङ गराइरहेको छ। चीन, थाइल्याण्ड र दुबईमा तालिम लिएका उनीसँगै सुवास थापा, मनिष हिराचन र नेपालकी पहिलो महिला स्काइडाइभर यसोदा केसी थापाले उडान गराइरहेका छन्।
नेपालीका लागि डिलक्स प्याकेज रु ९५ हजार, भिआइपी प्याकेज रु १ लाख १५ हजार र डायमण्ड प्याकेज रु १ लाख ५० हजार तोकिएको छ। विदेशीका लागि भने सोही प्याकेज क्रमशः ७५०, ९०० र १२०० अमेरिकी डलरका दरमा उपलब्ध छन्।
प्रशिक्षक थापाका अनुसार हेलिकप्टरबाट १३ हजार फिट उचाइमा हाम फाल्दा करिब ५० सेकेन्डपछि प्यारासुट खुल्ने र त्यसपछि सात–आठ मिनेटसम्म आकाशमा उड्ने अनुभव पाइन्छ। “हेलिकप्टरबाट हाम फाल्ने क्षणदेखि अवतरणसम्मको यात्रा निकै रोमाञ्चक हुन्छ,” उनले भने, “पोखराको हिमाल र ताल देख्दै उड्दा त्यो क्षण जीवनकै अविस्मरणीय अनुभव बन्छ।”
थापाले स्काइडाइभिङलाई नेपालमा व्यावसायिक रूपमा विस्तार गर्ने सोचका साथ तालिम लिएको बताए। “पोखरालाई साहसिक खेलको केन्द्र बनाउन सकिन्छ। यसले रोजगारी सिर्जना र अर्थतन्त्र दुवैलाई बल दिन्छ,” उनले थपे, “प्राधिकरणले छिट्टै ‘आरएओसी’ दिएर स्काइडाइभिङलाई नियमित रूपमा सञ्चालन गर्न सक्ने वातावरण बनाओस् भन्ने हाम्रो अपेक्षा छ।”
कात्तिक २७, २०८२ बिहीबार १५:२३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।