दिल्लीको हावा विषाक्त, प्रदूषण ‘गम्भीर’ श्रेणीमा पुगेपछि आपत्कालीन उपाय लागू
एजेन्सी : भारतको राजधानी दिल्लीको वायु प्रदूषण फेरि एकपटक खतरनाक स्तरमा पुगेको छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, दिल्लीको हावाको गुणस्तर ‘गम्भीर’ श्रेणीमा झरेको छ। बिहीबार दिउँसो, आनन्द विहार क्षेत्रको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२७ मापन गरिएको थियो, जसले स्थितिको गम्भीरतालाई देखाउँछ।
राजधानीका अन्य इलाकाहरूको अवस्था पनि चिन्ताजनक छ। चाँदनी चोकमा एक्यूआई ४५२ को सबैभन्दा उच्च स्तरमा पुगेको थियो भने वजीरपुरमा ४४६, आरके पुरममा ४३६ र आईटीओमा ४३५ रेकर्ड गरिएको छ।
बोर्डका अनुसार, बुरारी, नरेला, र सोनिया विहार जस्ता क्षेत्रमा पनि एक्यूआई ४०० भन्दा माथि नै रहेको छ।
वायु प्रदूषणको यो बढ्दो संकटलाई ध्यानमा राख्दै दिल्ली सरकारले तत्काल प्रभावकारी हुने गरी ग्रेडेड रेस्पोन्स एक्सन प्लानको तेस्रो चरण लागू गरेको छ।
प्लान एक आपत्कालीन कार्ययोजना हो, जुन प्रदूषणको स्तरअनुसार विभिन्न चरणमा लागू गरिन्छ। जब एक्यूआई ४०१ देखि ४५० को बीचमा पुग्छ, तब यसलाई ‘गम्भीर’ मानिन्छ र तेस्रो चरणका प्रतिबन्धहरू लगाइन्छ।
त्यस्तै, एक्यूआई ४५० नाघेपछि चौथो र सबैभन्दा कडा चरण लागू हुन्छ। यसअघि, एक्यूआई २०१ देखि ४०० सम्म हुँदा क्रमशः पहिलो र दोस्रो चरण लागू गरिन्छ।
काठमाडौंमा भने अहिले वायुको गुणस्तर ७१ एक्यूआई छ, जुन मध्यम मानिन्छ।
कात्तिक २७, २०८२ बिहीबार १४:२१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।