राष्ट्रिय परिचयपत्रबाटै मतदाता नामावलीमा नाम दर्ता सुरू, निर्वाचन कार्यालय जानु नपर्ने

राष्ट्रिय परिचयपत्रबाटै मतदाता नामावलीमा नाम दर्ता सुरू, निर्वाचन कार्यालय जानु नपर्ने

काठमाडौं : निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको छ।

यो नयाँ व्यवस्थाले परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकहरूका लागि दर्ता प्रक्रियालाई थप सहज र छिटो बनाउनेछ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, यस प्रणालीलाई कार्यान्वयनमा ल्याउन बुधबार रातभरि प्राविधिक परीक्षण र तयारी गरिएको थियो।

अब राष्ट्रिय परिचयपत्र नम्बर भएका व्यक्तिहरूले मतदाता नामावली दर्ताका गर्नका लागि आयोगका कार्यालयहरू जानुपर्नेछैन।

उनीहरूले घरबाटै आवेदन दिँदा राष्ट्रिय परिचयपत्रका लागि दिएको बायोमेट्रिक डाटाबेसबाटै निर्वाचन आयोगले स्वतः प्राप्त गर्नेछ।

आयोगले यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने अन्तिम मिति तोकेको छ। यसका लागि यहाँ क्लिक गर्नुपर्नेछ।

दर्ताको समयसीमा नजिकिँदै गर्दा यो नयाँ सुविधाले बाँकी दिनहरूमा नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढ्ने आयोगका अधिकारीहरूको अपेक्षा छ।

यो व्यवस्था लागू गर्नुअघि निर्वाचन आयोग, राष्ट्रिय पञ्जीकरण विभाग र सरकारी निकायहरूबीच समन्वय भएको थियो।

राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले राष्ट्रिय परिचयपत्रका लागि संकलन गरिएको बायोमेट्रिक विवरण निर्वाचन आयोगलाई उपलब्ध गराउन विभाग तयार रहेको बताएका थिए।

कात्तिक २७, २०८२ बिहीबार १४:०१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।