पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न नेपाली दूतावासको आग्रह

पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न नेपाली दूतावासको आग्रह

लिस्बन : पोर्चुगलस्थित नेपाली दूतावासले हाल पोर्चुगल सरकारले कामदार भिसा बन्द गरेको अवस्थामा ठगीका घटना बढ्न सक्ने भन्दै सचेत रहन सबै नेपालीमा आग्रह गरेको छ।

दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै पोर्चुगल सरकारले कात्तिक ६ गते (२३ अक्टोबर २०२५) उच्च दक्ष जनशक्तिबाहेक अन्य सबै प्रकारका नयाँ कामदार भिसा जारी गर्न बन्द गरेको जानकारी गराएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल तथा मध्यपूर्वका देशहरूमा रहेका नेपालीहरूलाई पोर्चुगलमा रोजगारी दिलाइदिने प्रलोभन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको जानकारी प्राप्त भएको छ।’

दूतावासले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र यस्ता प्रलोभनमा नपर्न सबैलाई सचेत गराएको छ।

कामदार भिसा बन्द भइसकेको अवस्थामा कुनै पनि व्यक्तिले त्यस्तो भिसामा पोर्चुगल आउन असम्भव रहेको दूतावासले स्पष्ट पारेको छ। तसर्थ, पोर्चुगल ल्याइदिने वा पठाइदिने नाममा हुने कुनै पनि आर्थिक कारोबारबाट जोगिन दूतावासले विशेष अनुरोध गरेको छ।

कात्तिक २७, २०८२ बिहीबार १३:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।