अवकाशकै दिन प्रहरी महानिरीक्षक खापुङलाई झट्का : देश छाड्न रोक, उपत्यका छाड्न पनि अनुमति चाहिने

अवकाशकै दिन प्रहरी महानिरीक्षक खापुङलाई झट्का : देश छाड्न रोक, उपत्यका छाड्न पनि अनुमति चाहिने

काठमाडौं : सेवाबाट अवकाश भएकै दिन नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी)चन्द्रकुबेर खापुङलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ।

भाद्र २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले उनलाई विदेश भ्रमणमा रोक लगाउने र काठमाडौं उपत्यका छाड्न पनि आयोगको स्वीकृति लिनुपर्ने निर्णय गरेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार, कार्तिक २७ गते बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने हुँदा आजै देखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।’

आयोगले यो निर्णयबारे आईजीपी खापुङलाई पनि जानकारी गराइने बताएको छ। छानबिनको सिलसिलामा आवश्यक परेको जुनसुकै बेला उपस्थित गराउन सकियोस् भनेर यस्तो निर्णय लिइएको आयोगले स्पष्ट पारेको छ।

यसैबीच, आयोगले भाद्र २३ र २४ (सेप्टेम्बर ८ र ९) को घटनामा कसैको क्षतिको विवरण पठाउन बाँकी भए आयोगलाई उपलब्ध गराउन पुनः आग्रह गरेको छ।

पीडितहरूले क्षतिको विवरण आयोगको इमेल ठेगाना [email protected] मा पठाउन सक्नेछन्। साथै, सिंहदरबारस्थित आयोगको कार्यालयमा पनि विवरण बुझाउन सकिने विज्ञप्तिमा उल्लेख छ।

आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पनि विदेश भ्रमणमा रोक लगाई काठमाडौं उपत्यका छाड्न पनि आयोगको स्वीकृति लिनुपर्ने भनेको थियो।

कात्तिक २७, २०८२ बिहीबार १२:५३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।