कार्कीले लगाए आईजीपीको फुली, अमर प्रहरी सम्झिँदै टिस्युले आँशु पुछे
काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार दर्ज्यानी चिह्न ग्रहण (फुली) गर्दै नेपाल प्रहरीको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन्।
गृह मन्त्रालयमा आयोजित समारोहमा सम्बोधन गर्ने क्रममा उनी वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूको सम्झनामा भक्कानिए। आफ्नो मन्तव्यको सुरुमै उनले वीर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे।
‘महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सुशोभित हुँदै गर्दा राष्ट्र र नागरिकको सेवाको क्रममा वीर गति प्राप्त गर्नुभएका सम्पूर्ण वीर अमर प्रहरीप्रति श्रद्धान्जली अर्पण गर्दछु,’ कार्कीले भने, ‘साथै कर्तव्य पालनको क्रममा वीर गति प्राप्त सम्पूर्ण प्रहरीको अतुलनीय योगदानको स्मरण गर्दै सेवा निवृत हुनुभएका प्रहरीहरूको सहज जीवनयापनको कामना गर्दछु।’
यो भनाइ राख्दा उनको गला अवरुद्ध भएको थियो र केहीबेर स्तब्ध बनेका उनले टिस्यू पेपरले आँसु पुछे।
यसअघि, गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
३० वर्षे सेवा अवधिका कारण पूर्वआईजीपी चन्द्रकुवेर खापुङ बुधबार मध्यरातबाट अनिवार्य अवकाशमा गएपछि कार्कीले नेतृत्व सम्हालेका हुन्।
एसएसपीको रूपमा काठमाडौं प्रहरी प्रमुख रहँदा कार्कीकै नेतृत्वमा बहुचर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेको थियो।
डीआईजी हुँदा लुम्बिनी प्रदेशको नेतृत्व गरेका उनले हालै जेनजी आन्दोलनका बेला काठमाडौं उपत्यका प्रहरीको कमाण्ड सम्हालेका थिए।
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीले फिल्डदेखि प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभाग प्रमुख र आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ।
२०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्कीले प्रहरी ऐनमा परिवर्तन नभए २०८४ चैत १८ सम्म संगठनको नेतृत्व गर्नेछन्। दर्ज्यानी चिह्न लगाएपछि उनी पदबहालीका लागि प्रहरी प्रधान कार्यालय, नक्सालतर्फ लागेका छन्।
कात्तिक २७, २०८२ बिहीबार ११:४८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।