स्काउटको जग्गामा बनेको पूर्वमन्त्री खड्काको संरचनामा चल्यो महानगरको डोजर
काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको जग्गामा अवैध रूपमा निर्माण गरिएको संरचना भत्काएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ले लैनचौरस्थित स्काउटको जग्गा भाडामा लिएर सम्झौता सकिएपछि पनि कब्जा जमाएको थियो।
पटक-पटकको ताकेतापछि पनि बक्यौता भाडा नतिरेको र जग्गा खाली नगरेपछि बिहीबार बिहान महानगरले डोजर प्रयोग गरी उक्त संरचना भत्काएको हो।
नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो। सम्झौता अवधि सकिएको लामो समय बित्दासमेत कम्पनीले स्काउटको स्वामित्वमा रहेको उक्त बहुमूल्य जग्गा खाली गरेको थिएन। उल्टै, भाडासमेत नतिरी जग्गा भोगचलन गर्दै आएको थियो।
जग्गा खाली गराउन र बक्यौता भाडा असुल गर्न नेपाल स्काउटले पटक-पटक ताकेता गरेको थियो। तर, कम्पनीले अटेर गरेपछि स्काउटले हालै सात दिनभित्र सम्पूर्ण बक्यौता रकम बुझाउन र जग्गा खाली गर्न अन्तिम अल्टिमेटम दिएको थियो।
उक्त समयसीमाभित्र पनि कम्पनीले कुनै सुनुवाइ नगरेपछि स्काउटले सहयोगका लागि काठमाडौं महानगरपालिकालाई गुहारेको थियो। सोही आग्रहअनुसार, बिहीबार बिहानै महानगर प्रहरीको टोलीसहित लैनचौर पुगेको महानगरको टोलीले अवैध संरचनामाथि डोजर चलाएको हो।
पूर्वमन्त्रीजस्तो सार्वजनिक पद धारण गरिसकेको व्यक्तिको कम्पनीले नै सरकारी सम्पत्तिमाथि कब्जा जमाएको भन्दै यो विषय लामो समयदेखि विवादित बनेको थियो।
कात्तिक २७, २०८२ बिहीबार ११:३०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।