रुपन्देहीका क्यासिनोमा मनपरी : गोलीकाण्डपछि खुल्यो गैरकानुनी धन्दा र कर छलीको पोल
बुटवल : भैरहवास्थित एक क्यासिनोमा भएको गोलीकाण्डले रुपन्देहीमा सञ्चालित मिनी क्यासिनोहरूको मनपरी र गैरकानुनी धन्दाको पर्दाफास गरेको छ। क्यासिनो नियमावलीलाई खुलेआम चुनौती दिँदै सञ्चालकहरूले नेपालीलाई प्रवेश गराउने, कर छल्ने र सुरक्षा मापदण्ड पालना नगर्ने गरेको तथ्य बाहिर आएको हो।
यो घटनापछि जिल्ला प्रशासनदेखि पर्यटन विभाग र राजस्व अनुसन्धान कार्यालयसम्मले चासो देखाएका छन्, तर क्यासिनोहरूको पुरानो अराजकता र नियामक निकायसँगको मिलेमतोको कथा पनि सँगसँगै सतहमा आएको छ।
गत हप्ता भैरहवाको निर्वाणा होटलमा सञ्चालित ‘गोल्डेन स्टार क्यासिनो’ भित्र नेपाली र भारतीय ग्राहकबीच भएको सामान्य विवादले उग्र रूप लियो। विवादपछि बाहिर निस्किएका भारतीय ग्राहकले होटलको गेटमा ढुकेर नेपाली ग्राहकमाथि गोली प्रहार गरे। यो घटनाले क्यासिनोभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, दिनदहाडै गोली चल्ने अवस्था सिर्जना हुनुले क्यासिनोभित्र नेपालीहरूको पहुँच कति सहज छ भन्ने स्पष्ट पारेको छ। यो घटनापछि पर्यटन विभागले समेत चासो देखाएको छ।
विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले भने, ‘सबै क्यासिनोमा नेपाली प्रवेशको गुनासो आइरहेकाले अनुगमन गर्ने तयारी थालिएको छ।’
गोलीकाण्डपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले तत्काल सक्रियता देखाएको छ। प्रशासनले सुरक्षा निकाय, राजस्व अनुसन्धान, व्यावसायिक संस्थाका प्रतिनिधि र क्यासिनो सञ्चालकहरूबीच आकस्मिक बैठक बोलायो।
बैठकमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले क्यासिनो सञ्चालकहरूलाई सुरक्षा जाँच कडा पार्न, भारतीय नक्कली आधारकार्ड बनाएर प्रवेश गर्ने नेपालीलाई रोक्न र ‘क्यासिनो नियमावली, २०८२’ का सम्पूर्ण शर्त र मापदण्ड पालना गर्न कडा निर्देशन दिएका छन्।
यसैगरी, राजस्व अनुसन्धान कार्यालय, बुटवलले पनि जिल्लाका सबै क्यासिनोलाई पत्राचार गर्दै विभिन्न ९ बुँदामा विस्तृत विवरण माग गरेको छ। राजस्व चुहावटको आशंकामा कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्मका इजाजतको प्रकार र खेलाइने खेलको विवरण, क्यासिनो नियमावली बमोजिमको वित्तीय र नगद कारोबारको विवरण उपलब्ध गराउन भनेको छ।
यसका अलावा आकस्मिक लाभकर दाखिलाको अवस्था, आधार कार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भए/नभएको जानकारी, न्यूनतम ६ महिनाको सीसीटीभी अभिलेख र त्यसको पालना, गत आर्थिक वर्षको करचुक्ता र चालु वर्षको इजाजत नवीकरणको प्रमाण पनि बुझाउन कार्यालयले निर्देशन दिएको छ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अधिकृत सुवास श्रेष्ठले भने, ‘राजस्व चुहावटको शंका लागेमा हामी विवरण माग्न सक्छौं। केही क्यासिनोले विवरण बुझाइसक्नुभयो, अरुले पनि बुझाउँछौं भन्नु भएको छ।’
अधिकांश क्यासिनो मापदण्डविपरीत, सञ्चालककै स्वीकारोक्ति
जिल्ला प्रशासन स्रोतका अनुसार रुपन्देहीमा सञ्चालित अधिकांश मिनी क्यासिनोले नियमावलीको ५० प्रतिशत मापदण्ड पनि पूरा गरेका छैनन्।
प्रशासन स्रोतले भन्यो, ‘हामीले अनुगमन त गरेका छैनौं, तर मापदण्ड ५० प्रतिशत पनि पालना छैन। यो कुरा क्यासिनो सञ्चालकले नै स्वीकारेको कुरा हो।’
क्यासिनोहरूले कर छल्ने उद्देश्यले ग्राहकको विवरण दर्ता नगर्ने, गेटमा अनिवार्य हुनुपर्ने डिटेक्टर मेसिन नराख्ने र मागेको बेला सीसीटीभी फुटेजसमेत प्रशासनलाई उपलब्ध नगराउने गरेको पाइएको छ।
स्रोत भन्छ, ‘लाभकर लगायतका कर छलीका लागि क्यासिनो खेल्न जानेको विवरणसमेत इन्ट्री नगरेर क्यासिनोले बद्मासी गरिरहेका छन्।’
‘मिनी’को नाममा ‘ठूलो’ क्यासिनोको धन्दा
क्यासिनो नियमावली, २०८२ अनुसार ‘साना क्यासिनो’ (मिनी क्यासिनो) ले आधुनिक मेसिन वा विद्युतीय उपकरणबाट मात्र खेल खेलाउन पाउँछन्।
तर, भैरहवाका अधिकांश मिनी क्यासिनोले नियमविपरीत टेबल राखेर डिलरमार्फत तास, चिप्स र क्वाइन प्रयोग गरी जुवा खेलाइरहेका छन्, जुन ‘ठूला क्यासिनो’ले मात्र गर्न पाउने व्यवस्था हो।
रुपन्देहीमा टाइगर प्यालेसमा रहेको क्यासिनोबाहेक अन्य सबै मिनी क्यासिनो हुन्, तर उनीहरूले ठूला क्यासिनोको शैलीमा अवैध धन्दा चलाइरहेका छन्।
अनुगमनको नाममा ‘फिसिङ’ र मिलेमतोको खेल
गत आर्थिक वर्षको अन्त्यतिर पर्यटन विभागको एक टोली रुपन्देहीका क्यासिनो अनुगमनमा आएको थियो। तर, अनुगमन टोली भैरहवा आउनुअघि नै सञ्चालकहरूले सूचना पाइसकेका थिए।
एक पर्यटन व्यवसायीका अनुसार, अनुगमन टोलीले क्यासिनोको मापदण्ड जाँच गर्नुको सट्टा कपिलवस्तुको चन्द्रौटास्थित एक क्यासिनोमा पुगेर ‘फिसिङ’ गरी माछा मारेर समय बितायो। टोली आउने थाहा पाएपछि क्यासिनोहरूले हतार-हतार टेबल हटाएर सबै ठीकठाक देखाएका थिए।
त्यही अनुगमन टोलीको नेतृत्व गरेका निर्देशक लिलाधर अवस्थीले नै विभागमा ‘सबै क्यासिनो नियमावलीअनुसार सञ्चालनमा रहेको’ प्रतिवेदन बुझाएको दाबी व्यवसायीहरूको छ। अहिले उनै अवस्थी फेरि अनुगमनको तयारी भइरहेको बताइरहेका छन्।
मिनी क्यासिनो सञ्चालन गर्न कम्तीमा चारतारे होटल हुनुपर्ने नियम छ।
तर, भैरहवाको लाकौल होटल, जुन एक सामान्य गेस्ट हाउस हो र कुनै पनि स्टारको मान्यता पाएको छैन, त्यहाँ ‘ह्याप्पी आवर’ नामक क्यासिनो दशकदेखि अदालतको ‘स्टे अर्डर’को भरमा चलिरहेको छ।
अन्य कतिपय होटलले पनि विभागलाई प्रभावमा पारेर चारतारे मान्यता लिएको आरोप लाग्ने गरेको छ।
यता, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यस्ता घटना दोहोरिन नदिन व्यवसायी सचेत हुनुपर्ने बताएका छन्।
उनले भने, ‘व्यवसायीले पनि ग्राहक प्रवेश गराउँदा उनीहरुलाई जाँच गरेर परिचय खुल्ने रेकर्ड राख्नु पर्यो, क्यासिनो प्रवेश गरेका व्यक्तिको अनुहार प्रष्ट खुल्नेगरि सीसीटीभी क्यामेरा जडान गर्नुपर्यो।’
उनले प्रशासनलाई पनि ग्राहक नै नआउने गरी कडाइ नगर्न आग्रह गर्दै भने, ‘प्रशासनले पनि धेरै कडाइ गर्दा ग्राहक नआउने कुरालाई ख्याल राखेर सावधानी अपनाइदिनु पर्यो। कतिपय क्यासिनोमा नेपालीलाई प्रवेश गराउने कुराले व्यवसायी आलोचित बन्ने वातावरण रोकिनुपर्छ।’
कात्तिक २७, २०८२ बिहीबार १०:३०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।