नेपाली टिभीलाई क्यानको धोका : स्टार स्पोर्ट्सको लोभमा नियम मिच्दै पारस नेतृत्वको काउन्सिल
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारण अधिकार बिक्री गर्ने क्रममा नेपाली टेलिभिजन च्यानलहरूलाई अन्तिम समयमा आएर धोका दिएको छ।
क्यानका सचिव पारस खड्का नेतृत्वको एनपीएल गभर्निङ काउन्सिलले सुरुमा ‘एक्सक्लुसिभ’ (एकलौटी) अधिकार दिने वाचा गरे पनि अन्तर्राष्ट्रिय ब्रोडकास्टर ‘स्टार स्पोर्ट्स’को प्रवेशसँगै आफ्नो बोली फेरेको हो।
तर क्यानले स्टार स्पोर्ट्सलाई टेन्डरमार्फत नभएर सिधै सम्झौता गरेको हो। क्यानले कात्तिक १८ गते प्रसारण अधिकारको टेन्डर खुलाउँदा नेपालभित्रका लागि टेलिभिजन र विश्वव्यापी रुपमा स्ट्रिमिङका लागि ओटीटी प्लेटफर्मलाई टेन्डर आह्वान गरेको थियो।
क्यानले भारतका लागि न त टेलिभिजन प्रसारण अधिकारको टेन्डर खुलाएको छ न त स्ट्रिमिङ अधिकारको, यसले पनि भारतीय च्यानल स्टार स्पोर्ट्ससँग क्यानले विना प्रतिस्पर्धा सिधै सम्झौता गरेको पुष्टि गर्छ।
यो घटनाले क्यानको अपारदर्शी र गैरकानुनी कार्यशैलीलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ, जसले गर्दा प्रतियोगिता सुरु हुनुअघि नै गम्भीर विवादमा तानिएको छ।
क्यानले सार्वजनिक खरिद ऐनलाई ठाडै लत्याउँदै जम्मा सात दिनको म्याद राखेर एनपीएलको प्रसारण अधिकारका लागि टेन्डर आह्वान गरेको थियो। जसमा नेपालभित्र प्रसारणका लागि नेपाली टेलिभिजनलाई ‘एक्सक्लुसिभ’ अधिकार दिइने स्पष्ट पारिएको थियो।
यसको अर्थ, जसले ठेक्का पाउँछ, उसले मात्र नेपालमा एनपीएलका खेलहरू देखाउन पाउने थियो, जसले गर्दा उक्त च्यानललाई विज्ञापन र दर्शक आकर्षित गर्न ठूलो अवसर मिल्थ्यो।
तर, जब भारतको प्रतिष्ठित च्यानल ‘स्टार स्पोर्ट्स’ले पनि खेल देखाउने पक्का भयो, क्यानले रातारात आफ्नो निर्णय बदल्यो। बुधबार टेन्डर खोल्नुभन्दा केही घण्टाअघि मात्र क्यानले बिडमा सहभागी नेपाली टेलिभिजनहरूलाई इमेल पठायो।
उक्त इमेलमा भनिएको थियो, ‘स्टार स्पोर्ट्सले पनि खेल देखाउने भएकाले अब नेपालभित्र एक्सक्लुसिभ अधिकार दिन सकिँदैन, तपाईंहरूले ‘नन-एक्सक्लुसिभ’अधिकारका लागि आफ्नो टेन्डर रकम रिभाइज गरी पेश गर्नुहोस्।’
यसले गर्दा नेपाली दर्शकहरू विज्ञापन नआउने भारतीय च्यानल स्टार स्पोर्ट्समा हेर्ने भए, जसले नेपाली टेलिभिजन च्यानलहरूले विज्ञापन उठाउन समेत समस्या पर्ने देखिन्छ। स्टार स्पोर्ट्सले विज्ञापन नदेखाउने भनेर क्यानले बिडिङका लागि पुगेका नेपाली च्यानलहरूलाई ईमेलमार्फत जानकारी गराएको थियो।
यो निर्णयले टेन्डर प्रक्रियामा सहभागी हुन तयारी गरिरहेका नेपाली कम्पनीहरूलाई अलमलमा परे। उनीहरूले एक्सक्लुसिभ अधिकारका लागि प्रस्ताव तयार पारेर योजना अघि बढा पनि क्यानले अन्तिम समयमा आएर नेपाली च्यानलहरूको योजना चौपट पारिदियो।
क्यानको यो कदम केवल नैतिक रूपमा मात्र गलत छैन, यो कानुनी रूपमा पनि गम्भीर त्रुटिपूर्ण छ। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कुनै पनि ठेक्का आह्वान गर्दा कम्तिमा १५ दिनको समय दिनुपर्छ। तर क्यानले केवल ७ दिनको म्याद दिएर हतारमा प्रक्रिया टुंग्याउन खोज्यो।
के हो एक्सक्लुसिभ र नन एक्सक्लुसिभ प्रसारण अधिकार?
प्रसारण अधिकार भनेको कुनै पनि खेलकुद वा कार्यक्रमलाई टेलिभिजन, रेडियो वा इन्टरनेट जस्ता माध्यममा देखाउने कानुनी अनुमति हो। नेपाल प्रिमियर लिगको सन्दर्भमा, यो अधिकार लिग आयोजकले मिडिया हाउसहरूलाई बेच्ने गर्छन्।
यदि नेपाल प्रिमियर लिगको प्रसारण अधिकार कुनै एउटा मात्र मिडिया कम्पनी (जस्तै: एउटा मात्र टेलिभिजन च्यानल वा एउटा मात्रै स्ट्रिमिङ प्लेटफर्म) लाई बेचिन्छ भने, त्यसलाई एक्सक्लुसिभ अधिकार भनिन्छ। यसको अर्थ त्यो तोकिएको क्षेत्रमा (नेपालमा) लिगका सबै खेलहरू देखाउने एकलौटी हक त्यही कम्पनीसँग मात्र हुन्छ।
उदाहरणका लागि: एनपीएलले आफ्नो सम्पूर्ण प्रसारण अधिकार ‘प्लेटफर्म क’लाई मात्र बेच्यो भने, दर्शकहरूले खेल हेर्नका लागि अनिवार्य रूपमा ‘प्लेटफर्म क’ कै सेवा लिनुपर्छ। अरू कुनै पनि च्यानल वा डिजिटल प्लेटफर्मले त्यो खेल देखाउन पाउँदैन।
यस्तो अधिकारको मूल्य निकै महँगो हुन्छ, किनभने यसले अधिकार किन्ने कम्पनीलाई दर्शकको ठूलो भीड आफ्नोतर्फ तान्ने र विज्ञापनबाट बढी आम्दानी गर्ने ग्यारेन्टी दिन्छ। यो अधिकार भनेको एकलौटी बजार नियन्त्रण जस्तै हो।
त्यसैगरी यदि एनपीएलले प्रसारण अधिकार एकभन्दा बढी मिडिया कम्पनीहरूलाई बेच्छ भने, त्यसलाई नन-एक्सक्लुसिभ अधिकार भनिन्छ। यसमा एउटै खेल धेरै च्यानल वा प्लेटफर्ममा एकैसाथ उपलब्ध हुन्छ।
उदाहरणका लागि: एनपीएलले खेल देखाउने अधिकार ‘प्लेटफर्म क’, ‘प्लेटफर्म ख’, र ‘प्लेटफर्म ग’लाई एकैपटक बेच्न सक्छ। यस्तो अवस्थामा, दर्शकहरूले आफूलाई मनपर्ने जुनसुकै च्यानलमा गएर खेल हेर्न सक्छन्। यो अधिकार एक्सक्लुसिभको तुलनामा सस्तो पर्छ।
अन्तिम समयको हतार र अन्योल
सोमबारबाट लिग सुरु हुँदैछ, तर शनिबार दिउँसोसम्म प्रसारण अधिकार कसले पाउने भन्ने टुंगो छैन।
क्यानले बिहीबार बिहान सूचना निकालेर शुक्रबार दिउँसो ३ बजेसम्म पुनरावलोकन गरिएको प्रस्ताव र शनिबार १२ बजेसम्म नयाँ प्रस्ताव बुझाउन भनेको छ। यसले के देखाउँछ भने, प्रसारण अधिकार पाउने टेलिभिजनले बजार प्रवर्द्धन (मार्केटिङ) र विज्ञापन जुटाउनका लागि एक दिनको समय पनि पाउने छैन।
बुधबार क्यानको कार्यालयमा टेन्डर खोल्न पुगेका कम्पनीका प्रतिनिधिहरू यही विषयमा कुरा नमिलेपछि रित्तो हात फर्किएका थिए। सबैभन्दा बढी रकम दाबी गर्ने कम्पनीलाई समेत अस्वीकार गरिएपछि नेपाली टेलिभिजन च्यानलहरू क्यानसँग थप असन्तुष्ट बनेका छन्।
पुरानै बानी, नयाँ काण्ड
क्यानले नियम मिचेर अपारदर्शी काम गरेको यो पहिलो पटक होइन। एनपीएलको पहिलो संस्करणमा पनि अपारदर्शी काम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। तत्कालीन छानबिन समितिले क्यानले सार्वजनिक खरिद कानुन उल्लंघन गरेको निष्कर्ष निकाले पनि त्यो विषय अझै टुंगोमा पुगेको छैन।
त्यही पुरानो गल्तीबाट पाठ नसिक्दै क्यानले फेरि एकपटक नेपाली क्रिकेटको साखमाथि नै प्रश्न उठाएको छ। स्टार स्पोर्ट्स जस्तो ठूलो नाम जोडिँदा अन्तर्राष्ट्रिय पहुँच बढ्ने आशा गरिए पनि क्यानले आफ्नै घरेलु साझेदारहरूलाई भने धोका दिएको छ।
यस विषयमा क्यानका प्रवक्ता छुम्बि लामालाई फोन गर्दा उठेन।
एनपीएलबारे उकेराको श्रृंखला:
कात्तिक २७, २०८२ बिहीबार ०९:३२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।