एपस्टिनको पुराना ईमेलले अमेरिकामा हलचल : ट्रम्पलाई नाबालिगबारे थाहा भएको दाबी, भनिएको छ- ‘ऊ नभुक्ने कुकुर हो’
एजेन्सी : अमेरिकामा यौन अपराधको आरोपमा जेलमै आत्महत्या गरेका अर्बपति जेफ्री एपस्टिन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धबारेको विवाद फेरि एकपटक सतहमा आएको छ।
अमेरिकी संसदको एक समितिले सार्वजनिक गरेका पुराना इमेलहरूमा एपस्टिनले ट्रम्प आफ्नो घरमा घण्टौंसम्म बस्ने गरेको र त्यहाँ नाबालिग केटीहरूको उपस्थितिबारे जानकार रहेको दाबी गरिएका छन्। जसले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ।
अमेरिकी संसदको हाउस ओभरसाइट कमिटीमा रहेका डेमोक्र्याट सांसदहरूले बुधबार यी इमेलहरू सार्वजनिक गरेका हुन्। यी इमेलहरूले एपस्टिनको अपराधको सञ्जालमा ट्रम्पको संलग्नता वा जानकारी कति थियो भन्ने विषयमा गम्भीर प्रश्नहरू खडा गरेका छन्।
सार्वजनिक गरिएका इमेलमध्ये एउटा सन् २०११ मा एपस्टिनले आफ्नी मुख्य सहयोगी घिसलेन म्याक्सवेललाई पठाएका थिए। उक्त इमेलमा उनले लेखेका छन्, ‘त्यो कुकुर जो भुकेन, त्यो ट्रम्प हो।’
यस रहस्यमयी भनाइलाई व्याख्या गर्दै उनले अगाडि लेखेका छन्, ‘ट्रम्पले मेरो घरमा एक पीडितसँग घण्टौं बिताएका छन्, तर उनको नाम कहिल्यै कतै उल्लेख भएन।’ यस भनाइमार्फत एपस्टिनले ट्रम्पले सबै कुरा देखेर र थाहा पाएर पनि चुप बसेको र आफूलाई बचाएको संकेत गर्न खोजेको देखिन्छ।
त्यस्तै, अर्को एक इमेलमा एपस्टिनले पत्रकार माइकल वुल्फलाई लेखेका छन्, ‘ट्रम्पलाई ती केटीहरू (नाबालिग) बारे थाहा थियो। उनले घिसलेनलाई उनीहरूलाई (त्यहाँ आउनबाट) रोक्न पनि भनेका थिए।’
यो दाबीले ट्रम्पलाई एपस्टिनको घरमा नाबालिगहरूको आवतजावतबारे जानकारी मात्र नभएर, उनले यसलाई रोक्न केही प्रयास गरेको जस्तो पनि देखाउँछ, तर उनी किन चुप बसे भन्ने प्रश्न पनि उठाउँछ।
को हुन् जेफ्री एपस्टिन?
जेफ्री एपस्टिन एक धनाढ्य अमेरिकी व्यापारी थिए, जो नाबालिग केटीहरूलाई यौन बेचबिखन र दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए।
सन् २०१९ मा उनले जेलमै आत्महत्या गरेका थिए। उनको अपराधमा विश्वका शक्तिशाली राजनीतिज्ञ, व्यापारी र राजकुमारहरूको समेत नाम जोडिएको थियो। उनकी मुख्य सहयोगी घिसलेन म्याक्सवेल हाल यही अपराधमा जेल सजाय काटिरहेकी छिन्।
ट्रम्प र एपस्टिन कुनै समय मित्र थिए र उनीहरूबीच राम्रो सम्बन्ध रहेको तस्बिरहरू पहिले पनि सार्वजनिक भएका थिए। यद्यपि, ट्रम्पले आफूलाई एपस्टिनको अपराधबारे कुनै जानकारी नभएको र उनीसँग आफ्नो सम्बन्ध धेरै पहिले नै टुटेको बताउँदै आएका छन्।
यी इमेलहरूले पुरानो विवादलाई फेरि ब्यूँताइदिएको छ र ट्रम्पको नैतिक छविमाथि गम्भीर प्रश्न उठाएको छ। यद्यपि, यी केवल एक मृत यौन अपराधीको दाबी मात्र हुन् र यसको सत्यता पुष्टि हुन बाँकी छ।
कात्तिक २७, २०८२ बिहीबार ०७:५७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।