भदौ २४ पछि उपत्यकाका प्रहरी कार्यालय : कुनै धर्मशालाको शरणमा, कुनै ब्याङक्वेटमा

भदौ २४ पछि उपत्यकाका प्रहरी कार्यालय : कुनै धर्मशालाको शरणमा, कुनै ब्याङक्वेटमा
तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं : भदौ २३ को शान्तिपूर्ण आन्दोलन भड्किएर संसद् भवन जलाउन जाँदा गोली चल्दा १९ जना मारिएको आक्रोशमा २४ गते सडकमा उत्रिएका प्रदर्शनकारीको निशानामा संसद् सरकारी भवन र अदालत मात्र परेनन्, शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी कार्यालय र प्रहरी समेत परे।

उग्र भएका प्रदर्शनकारीहरूले भेटेजति प्रहरी कार्यालयमा आक्रमण गरे, हतियार र लत्ता कपडा जे भेटिन्छन् लुटे अनि अन्तमा कार्यालयमा आगो लगाइदिए। त्यो विध्वंसमा काठमाडौंमा रहेका अधिकांश प्रहरी कार्यालय जोगिन सकेनन्।

त्यही मध्येको एक उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जेन-जी आन्दोलनको दुई महिनापछि पुग्दा प्रहरी कार्यालय हो कि खण्डहर हो छुट्टाउनै हम्मे हुने दृश्य देखियो।

प्रहरी बृत्त गौशालाको अवस्था।कार्यालय परिसर जलेका सवारीसाधनले भरिएका थिए। कार्यालय बम खसेर ध्वस्त भएको संरचना जस्तै देखियो। आन्दोलनको बलमा नयाँ सरकार बनेसँगै जिम्मेवारी पुरा गर्न प्रहरी कार्यालय त फर्किए तर न बस्ने ब्यारेक बाँकी थियो न त कार्यालय सञ्चालन गर्ने ठाउँ।

उनीहरू कार्यालय नजिकै रहेको स्काई बैङ्गकेटमा भेटिए। अहिले उपत्यकाको ट्राफिक व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी पाएको कार्यालय यही ब्यांक्वेटबाट चलिरहेको रहेछ। कार्यालय पनि त्यहीँ अनि सुत्ने र खाने ब्यारेक पनि त्यही।

कार्यालय नजिकै रहेको यो व्याङक्वेट कानुनी विवादमा परेकाले रित्तो थियो। अनि प्रहरीले यता कार्यालय बस्न लायक नभएसम्मका लागि भन्दै त्यही ब्यांक्वेटमा गएर बसे। अहिले पनि अधिकांश ट्राफिक प्रहरी कार्यालयको काम त्यही ब्यांक्वेटबाट भइरहेको देखियो।

प्रहरी वृत्त गौशाला बसेको धर्मशाला।जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको नेतृत्वमा सरकार बन्दा गृहमन्त्री भए ओमप्रकाश अर्यालले। उनले शान्ति सुरक्षा कायम गर्न प्रहरी कार्यक्षेत्रमा खटिइसकेको बताए। आन्दोलनमा ध्वस्त भएका प्रहरी कार्यालय बनिरहेको दाबी गरे। तर उकेराले जेनजी आन्दोलनमा जलेका उपत्यकाकै प्रहरी कार्यालयहरू घुम्दा कोही यसरी नै ब्याङक्वेटमा देखिए त केही त धर्मशालामा बसेका भेटिए।

२४ गतेको आन्दोलनमा प्रदर्शनकारीले आगो लगाइदिएर ध्वस्तै बनाइदिएको प्रहरी वृत्त गौशालामा उकेराकर्मी पुग्दा केही कामदारले अस्थायी हिरासत कक्ष बनाइरहेका थिए। तर मुख्य भवन भने क्षतविक्षत थियो। जलेका सामान र कागजपत्रको खरानीको थुप्रो थियो। स्थानीय तथा सङ्घ- संस्थाको पहलमा भवन बाहिर अस्थायी भौतिक संरचना बने पनि मुख्य भवन बस्न सक्ने अवस्थामै थिएन।

प्रहरी वृत्त नयाँबानेश्वरको अवस्था।“यो भवन बनाउँदा नै पिल्लर नहानी बनेको रहेछ। भित्री भागमा पस्नै सकिने अवस्था छैन,” एक प्रहरीले उकेरासँग भने “ अहिले त भवनभित्र पस्नै डर लाग्ने अवस्था छ। इन्जिनियरहरूले रेट्रो फिटिङ्ग गरेर बस्न हुने बताएका छन्। के हुन्छ थाहा छैन।”

जेनजी आन्दोलनको दोस्रो दिन जब प्रहरी कार्यालयमा आक्रमण भयो पाँच घण्टासम्म प्रहरीले थेगेका थिए। तर केही प्रदर्शनकारीले पशुपति मन्दिरतिर जाने बाटोतिरबाट भवनको झ्यालमा कोकको बोतलमा पेट्रोल हालेर फाल्दिए। अनि आगो सल्कियो। एक महिला प्रहरी घाइते नै भइन्। त्यसपछि प्रहरीको केही बल चलेन। प्रहरी पछाडिको फलामे बार भत्काएर नजिकै रहेको जङ्गलतिर भागे। प्रहरी कार्यालयसँगै अपराधसँग सम्बन्धित महत्त्वपूर्ण विवरण खरानी भयो।

अहिले रहेको अस्थायी कार्यालय।जेनजी सरकारले कार्यालय सञ्चालन गर्न निर्देशन दिए पनि कहाँ बस्ने तोकेन। प्रहरी त फर्किए तर न कार्यालय सञ्चालन गर्ने ठाउँ न त बस्ने ठाउँ।

नजिकै रहेको पशुपति धर्मशालाबारे मारवाडी परिषद् र काठमाडौं महानगरपालिकाबिच विवाद चलिरहेको थियो। उपत्यका प्रहरी कार्यालयले अस्थायी रूपमा प्रहरी कार्यालय चलाउन त्यही धर्मशाला उपर्युक्त देख्यो र प्रहरीलाई त्यतै पठायो। अहिले गौशाला वृत्त त्यही धर्मशालाबाट चलिरहेको छ।

आन्दोलनका घुसपैठियाहरुको आक्रमणको तारोमा परेको नयाँ बानेश्वरको प्रहरी वृत्त पनि बस्ने नहुने गरी जल्यो। वृत्तको पछाडिको भवनमा रंग लगाएर बस्न लायक बनाए पनि अगाडिको भवन कामै नलाग्ने भयो।

भदौ २४ को आगजनीमा जलेका महत्वपूर्ण कागजपत्रको खरानीको चाङ।रेट्रोफिटिङ्ग नगरी भवनमा बस्न सकिने अवस्था छैन। भवनको पश्चिमपट्टि नयाँ टहरा हालियो। पूर्वी भागमा रहेको भवनमा रंग लगाइयो।

बस्नका लागि भने उनीहरूले नजिकै रहेको पुरानो सञ्चय कोषको भवनको प्रयोग गरिरहेका छन्। त्यहीँबाट कार्यालयको काम समेत भइरहेको छ। खाना एकातिर पकाउने अनि अर्कोतिर गएर खानुपर्ने अवस्था छ। सञ्चय कोष भवनमा अन्य सरकारी कार्यालय समेत भएकाले त्यहाँबाट निकै सकसका साथ काम भइरहेको देखियो।

यो कार्यालयबाट हतियारसमेत लुटियो। प्रहरीलाई सरेन्डर गराइयो। ज्यान जोगाउन प्रहरी बागमती खोलामा हाम फाल्दा समेत प्रदर्शनकारीले ढुंगा हान्दै लखेटेका थिए। बानेश्वरमा लुटिएको हतियार कैलालीमा भेटिएकाले प्रहरी कार्यालय आक्रमणमा आपराधिक समूह नै संलग्न रहेको देखियो।

भदौ २४ मा तोडफोड र आगजनीबाट ध्वस्त बालाजुको प्रहरी कार्यालय।उकेराकर्मी उपत्यकाका केही प्रहरी कार्यालय पुग्दा केही कार्यालय स्थानीयहरूको सहयोगमा पुन निर्माण भएको देखियो। बालाजु प्रहरी वृत्तमा पुग्दा चर्किएको भागमा सिमेन्ट भर्ने काम र रंग लगाउने काम भइरहेको थियो।

वृत्तका प्रहरी भने तारकेश्वर नगरपालिकामा बसेर कार्यालयको काम गरिरहेका छन्। भदौ २४ मा प्रहरीले हतियार र ज्यान जोगाउन सके। तर व्यक्तिगत सामग्रीदेखि कार्यालयका महत्त्वपूर्ण सामग्री केही जोगाउन सकेनन्।

प्रहरी कार्यालय भित्रको अवस्था।वृत्तलाई पुरानै अवस्थामा फर्काउन स्थानीयहरू जुटिरहेको देखियो। कार्यालय परिसरको पर्खाल लगाउनेदेखि भवनको टालटुल काममा स्थानीयहरू खटिएका थिए। उनीहरूले समिति बनाएर पैसा उठाएका छन्। त्यसैले कार्यालय मर्मत गरिरहेको देखियो।

दरबारमार्गमा रहेको प्रहरी प्रभागको पुन निर्माणको काम भने तीव्र भइरहेको देखियो। वृत्तमा आगो लगाएर सबै सामान लुटेका थिए। एक प्रहरीका अनुसार कार्यालयको कम्युटरदेखी कागजपत्र सबै जले।

यो भवन पनि सरकारकी कोषबाट हैन, स्थानीयको सहयोगमा मर्मत भयो।

प्रहरी ब्यारेकको अवस्था।जेनजी आन्दोलनमा आक्रोशले प्रहरी कार्यालय जले पनि अहिले स्थानीयले नै मर्मत गर्न सहयोग गरिरहनुभएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकार पवन कुमार भट्टराईले भने “आक्रोशमा प्रहरी कार्यालयमा आगजनी भए पनि पछि सुरक्षाका लागि स्थानीय आफैँले प्रहरी कार्यालय खोजे। मर्मतमा पनि सहयोग गरिरहनु भएको छ।”

७४ भवन पुरै ध्वस्त८४ करोडको क्षति

प्रहरी प्रधान कार्यालयले गरेको एक अध्ययन अनुसार देशभर ८४ करोडको भौतिक क्षति भएको छ। नेपालभर जेनजी आन्दोलनमा ७४ वटा भवन पुरै ध्वस्त बनाइयो। २ सय २२ वटामा आंशिक र ४८ वटामा सामान्य क्षति पुग्यो।

आन्दोलनकोक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा ७९ वटा भवनमा क्षति पुगेको थियो। त्यसमा ९ भवन पूर्ण ध्वस्त भयो। ४१ वटा आंशिक र २१ वटामा सामान्य क्षति पुग्यो। यी सबै भौतिक संरचनामा भएको क्षति ३१ करोड बराबर देखियो। ललितपुरमा ३ वटा भवन पूर्ण क्षति भयो भने १२ वटा आंशिक। क्षति करिब ९ करोड बराबर देखियो।

मर्मतपछिको कोटेश्वरको प्रहरी कार्यालय।धेरै प्रहरी कार्यालय ध्वस्त हुनेमा कोशी प्रदेश देखियो। कोशीमा १९ वटा प्रहरी कार्यालय जलाएर ध्वस्त बनाए। क्षति २२ करोड बराबर देखियो। त्यसपछि मधेस प्रदेशमा प्रहरीको १६ वटा कार्यालय ध्वस्त बनाए। बागमतीमा प्रहरीका १२ प्रहरी कार्यालय जलाए। कर्णालीमा भने एउटा प्रहरी कार्यालय पनि जलेनन्। एउटा पनि आक्रमण भएन। जेनजी आन्दोलनमा कर्णाली प्रदेश पुरै शान्त देखियो।

मर्मतहुँदै प्रहरी कार्यालय।

कात्तिक २६, २०८२ बुधबार १९:०८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।