भीम रावल पनि मिसिए नेपाली कम्युनिस्ट पार्टीमा

भीम रावल पनि मिसिए नेपाली कम्युनिस्ट पार्टीमा

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ बिच एकीकरणको सहमति पत्रमा हस्ताक्षर भयो। बुधवार पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरेर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र रावलले  ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे।

समाजवाद एवम् सामाजिक न्यायमा आधारित आर्थिक र सामाजिक रूपान्तरणमा अग्रसर हुने उल्लेख गरिएको सम्झौता पत्रमा ६ महिनाभित्र पार्टीको राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली हुने उल्लेख छ। पत्रमा रावल कुन हैसियतमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् भन्ने खुलाइएको छैन। पत्रमा उनको जिम्मेवारी चाँडै टुङ्ग्याउने मात्र उल्लेख छ। 

एमालेमा लामो समय बिताएका रावल पार्टी अध्यक्ष केपी ओलीसँगको तितो सम्बन्धका कारण पार्टीबाट अलग भएका थिए। पार्टीबाट अलग भएपछि उनले आफ्नो नेतृत्वमा  ‘मातृभूमि जागरण अभियान, नेपाल’ गठन गरे पनि यसले प्रभावकारी काम गर्न सकेको छैन।

जेन-जी आन्दोलनपछि माओवादी केन्द्रको पहलमा एकीकृत समाजवादीसहितका ८ कम्युनिस्ट दल मिलेर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका थिए। पार्टी गठनसँगै जनार्दन शर्मासहितका केही माओवादी नेता र घनश्याम भुसालसहित केही एकीकृत समाजवादीका नेताहरू अलग भएका थिए।

कात्तिक २६, २०८२ बुधबार १५:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।