राजस्व चुहावट र अपराध नियन्त्रणका लागि भारतसँगको सीमामा चार एसएसपी खटाइए
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले बदलिँदो सुरक्षा चुनौती सामना गर्न र राजस्व चुहावट नियन्त्रण गरी राजस्व अभिवृद्धि गर्न भारतसँगको मुख्य सीमा नाकाहरूमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई खटाएको छ।
सीमा नाकाहरूमा खटाइएका एसएसपीहरूले सशस्त्र प्रहरी बलको बाहिनी मुख्यालयसँग समन्वय गरी काम गर्नेछन्। उनीहरूले आफ्नो कार्यप्रगतिको दैनिक तथा साप्ताहिक प्रतिवेदन सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा बुझाउनुपर्नेछ।
राजस्व चुहावट, चोरी-निकासी र अवैध पैठारी नियन्त्रण गर्ने, लागूऔषध, हातहतियार ओसारपसार र आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने, फरार अपराधीहरूको खोजी र नियन्त्रण गर्ने उनीहरूकोफ मुख्य जिम्मेवारी हो।
यसका अलावा सीमासँग सम्बन्धित सूचनाहरूको अभिलेखीकरण र व्यवस्थापन गर्ने, भन्सार, राजस्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय र सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने काम पनि उनीहरूले गर्नेछन्।
त्यसका लागि कोशी प्रदेशमा एसएसपी दिगविजय सुवेदी, मधेश प्रदेशमा एसएसपी माधवप्रसाद पौडेल, लुम्बिनी प्रदेशमा एसएसपी रविनराज कर्णजीत र सुदूरपश्चिम प्रदेशमा एसएसपी गंगाराम श्रेष्ठलाई खटाइएको हो। उनीहरूले तोकिएको नाकामा रहेर सम्बन्धित प्रदेशका अन्य सीमा नाकाहरूको समेत निगरानी गर्नेछन्।
यस्तै, सशस्त्र प्रहरीले आम सर्वसाधारणलाई सीमा क्षेत्रमा हुने कुनै पनि अवैध गतिविधि, सूचना वा गुनासो भएमा सम्बन्धित एसएसपीलाई दिइएको फोन नम्बरमा सिधै सम्पर्क गर्न आग्रह गरेको छ। खटाइएका एसएसपीहरू ‘बोर्डर आउट पोस्ट’ (बीओपी) मै बसेर सीमा निगरानी तथा अवैध गतिविधि नियन्त्रणको नेतृत्व गर्नेछन्।
यो कदमले भन्सार नाकाबाट हुने अवैध कारोबारलाई निरुत्साहित गरी वैध व्यापारलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। निश्चित समयपछि कामको प्रभावकारिता मूल्यांकन गरी यो अभियानलाई निरन्तरता दिन अन्य एसएसपीहरूलाई जिम्मेवारी दिइने संगठनले जनाएको छ।
को कहाँ खटिए?
-
कोशी प्रदेश: एसएसपी दिगविजय सुवेदी (सम्पर्क: ९८५१००१९४२) - काँकडभिट्टा, झापा र रानी, मोरङ।
-
मधेश प्रदेश: एसएसपी माधवप्रसाद पौडेल (सम्पर्क: ९८५१२६००२७) - वीरगञ्ज, पर्सा र धनुषास्थित गण।
-
लुम्बिनी प्रदेश: एसएसपी रविनराज कर्णजीत (सम्पर्क: ९८५१२५९६१७) - डण्डा (रुपन्देही), कृष्णनगर (कपिलवस्तु) र जमुनाह (बाँके)।
-
सुदूरपश्चिम प्रदेश: एसएसपी गंगाराम श्रेष्ठ (सम्पर्क: ९८५१२६७७७७) - त्रिनगर (कैलाली) र गड्डाचौकी (कञ्चनपुर)।
कात्तिक २६, २०८२ बुधबार १४:५५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।