जेन-जी आन्दोलनमा हतियार लुट्ने ‘सम्राट’विरुद्ध मुद्दा दायर, थिए ज्यान मार्ने उद्योग र ठगी मुद्दाका पुराना अभियुक्त

जेन-जी आन्दोलनमा हतियार लुट्ने ‘सम्राट’विरुद्ध मुद्दा दायर, थिए ज्यान मार्ने उद्योग र ठगी मुद्दाका पुराना अभियुक्त

काठमाडौं : गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरबाट प्रहरीको एसएलआर हतियार लुटेर आतंक मच्चाउने व्यक्ति ज्यान मार्ने उद्योग र ठगी जस्ता गम्भीर अपराधमा संलग्न भइसकेको खुलासा भएको छ।

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रअनुसार, प्रदर्शनका क्रममा हतियार बोकेर विध्वंसात्मक गतिविधिमा संलग्न ३७ वर्षीय राजु परियार उर्फ ‘सम्राट’को लामो आपराधिक पृष्ठभूमि रहेको देखिएको हो।

अभियोग पत्रमा संलग्न परियारको बयानअनुसार, उनी करिब डेढ वर्षअघि ठगीको मुद्दामा पक्राउ परी दुई महिना कारागार बसेका थिए। त्यसभन्दा अघि पनि उनी ज्यान मार्ने उद्योगको मुद्दामा करिब ४ महिना कारागारमा बसेर पछि सफाइ पाएको उनले स्वीकार गरेका छन्।

पटक-पटक गम्भीर फौजदारी अभियोगमा पक्राउ पर्दै आएका परियारले पुनः जेन-जी आन्दोलनको मौका छोपेर हिंसात्मक गतिविधि गरेको प्रहरीको निष्कर्ष छ।

अभियोग पत्रअनुसार, भदौ २४ गतेको आन्दोलन हिंसात्मक बनेपछि परियार पनि भीडमा मिसिएका थिए। उनले सर्वोच्च अदालतभित्र रहेको प्रहरी पोस्टमा प्रवेश गरी अन्य प्रदर्शनकारीसँग मिलेर एक थान एसएलआर हतियार लुटेका थिए।

त्यसपछि कालो पाइन्ट, कालो टोपी र मास्क लगाएका, छाती र हातमा ट्याटु खोपेका परियारले उक्त हतियार बोकेर सिंहदरबार क्षेत्र, महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालत परिसरमा तोडफोड तथा आगजनीमा नेतृत्वदायी भूमिका खेलेको भिडियो फुटेजबाट पुष्टि भएको छ।

ललितपुरको सुनाकोठीबाट पक्राउ परेका परियारले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन्। उनले भदौ २३ गतेको प्रदर्शनमा विद्यार्थीको मृत्यु भएको खबरले आफूलाई आक्रोशित बनाएको र भोलिपल्ट आन्दोलनमा सहभागी हुन सिंहदरबार आएको बताएका छन्।

उनले बयानमा भनेका छन्, ‘मैले भीडसँग मिलेर सर्वोच्च अदालतभित्रबाट प्रहरीको एसएलआर हतियार लुटेर लिएर आएको हुँ। उक्त हतियार कहिले आकाशमा त कहिले सिंहदरबारको गेटतिर ताकेर तथानाम अपशब्द बोल्दै फोटोसमेत खिचाएँ।’

उनले सोही राति हतियार एक सैनिकलाई बुझाएको दाबी गरेका छन्।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले परियारविरुद्ध ‘आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार उनलाई ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ।उनको आपराधिक पृष्ठभूमि, घटनास्थलको मुचुल्का, भिडियो फुटेज, उनको आफ्नै बयान र मोबाइलबाट प्राप्त प्रमाणका आधारमा  मुद्दा दायर गरिएको हो।

कात्तिक २६, २०८२ बुधबार १४:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।