न्यूजिल्याण्ड पठाउने भन्दै १४ लाख ठगी, एक जना पक्राउ

न्यूजिल्याण्ड पठाउने भन्दै १४ लाख ठगी, एक जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर १४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाका ४५ वर्षीय पुरुषोत्तम भण्डारीलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।

कार्यालयका अनुसार, भण्डारीले एक पीडितलाई न्यूजिल्याण्डमा आकर्षक रोजगारी मिलाइदिने आश्वासन दिएर रकम लिएका थिए। तर, रकम हात पारेपछि उनी सम्पर्कविहीन भएका थिए।

पीडितले दिएको उजुरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले भण्डारीलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गर्न सफल भएको हो। दोलखाको भीमेश्वर नगरपालिका-८ स्थायी ठेगाना भएका भण्डारी हाल काठमाडौँमा बस्दै आएका थिए।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।

कात्तिक २६, २०८२ बुधबार १३:१९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।