आइएमईको २५औँ साधारण सभा सम्पन्न, ‘कम्प्लिट फाइनान्सियल सलुसन्स’को रूपमा विकास गरिने
काठमाडौं : रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
मंगलबार काठमाडौंमा सम्पन्न सभाले कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै प्रविधिको अधिकतम प्रयोग गरी सेवालाई विविधीकरण गर्ने र कम्पनीलाई ‘कम्प्लिट फाइनान्सियल सलुसन्स’को रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।
लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा उनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आइएमई लिमिटेड रेमिटेन्स उद्योगमा अग्रणी र सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुन सफल भएकोमा सबैलाई धन्यवाद दिए।
उनले भने, ‘२५ औँ वर्षमा व्यावसायिक हिस्सा विस्तार गर्दै नयाँ प्रविधि एवं रणनीतिका साथ हामी अघि बढ्नेछौँ। प्रविधिको सदुपयोग गर्दै आइएमईलाई कम्प्लिट फाइनान्सियल सलुसन्सको रूपमा विकास गर्ने हाम्रो नीति हुनेछ।’
कार्यक्रममा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले २५ वर्षको यात्रामा आइएमई थप परिपक्व बन्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याएर लोकप्रिय ब्रान्ड बन्नु गौरवको विषय भएको बताए।
त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाइने जानकारी दिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे।
कात्तिक २६, २०८२ बुधबार १३:१०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।