चौथो अंग : पछिल्ला आन्दोलनमा मिडिया पनि तारो बनिरहेका छन्, अब आत्मसमीक्षाको विकल्प छैन
चैत १५ गते राजतन्त्रवादीहरूले प्रदर्शन गरे। उक्त प्रदर्शनमा फोटोपत्रकार सुरेश रजकको ज्यान गयो। उनी जुन घरमा बसेर काम गरिरहेका थिए, त्यही घरमा आगजनी भयो र उनको ज्यान गएको देखियो। तर, मिथ्या सूचना यसरी फैलिएको थियो कि कतिले सरकार पक्षले मारेको, कतिले प्रदर्शनकारीले ढोका थुनिदिएको लगायतका सूचना बाहिरिएका थिए।
म त्यतिबेला ‘मिडिया कुराकानी’मा काम गर्थें। ‘मिडिया कुराकानी’का सम्पादक रविराज बराल र डेटा सेन्टरका अरुण कार्कीले घटना भएकै दिन क्राउड सोर्सिङ गरेर भिडियो बनाउने सल्लाह गर्नुभयो। यसमा फुटेज खोज्ने, भेरिफाइ गर्ने र त्यसलाई अन्यत्र प्रस्तुत भएभन्दा अलग तरिकाले भिडियो बनाउने काम भयो। तीन महिनासम्म गरिएको दृश्य अनुसन्धानमा एक-एक मिनेटको विश्लेषण प्रस्तुत गरियो। खुला स्रोतबाट सङ्कलित सयौँ फोटो र भिडियोको विश्लेषण गरिएको थियो।
यसका लागि हामीले सामाजिक सञ्जालमा रहेका २०० भन्दा बढी प्रत्यक्ष प्रसारण (लाइभ) र रेकर्ड गरिएका भिडियो क्लिपहरू जाँच्यौँ र तिनीहरूलाई हाम्रो स्रोतबाट प्राप्त मौलिक फोटो र भिडियोहरूसँग समय र तथ्यका आधारमा तुलना गर्यौँ। त्यसपछि, पत्रकार सुरेश रजकको मृत्यु कसरी भयो भन्ने बुझ्न हामीले तिनकुनेस्थित ‘मार्बल हाउस’को थ्रीडी मोडेल तयार गरी आगलागीको विश्लेषण गर्यौँ। हाम्रो निष्कर्षअनुसार, यदि आगो समयमै निभाइएको भए सुरेशलाई बचाउन सकिन्थ्यो भन्ने निस्कियो।
यो कुरा हामीले ‘मिडिया कुराकानी’को युट्युबमा समेत राख्यौँ। भर्खर पत्रकारिता सिक्दै गरेको मलाई यस प्रकारको कामले कसरी ओपन सोर्स प्रयोग गरेर रिपोर्टिङ गर्न सकिँदो रहेछ भन्ने सिकायो। उहाँहरूले सेकेन्ड-सेकेन्डको भिडियो विश्लेषण गर्ने र त्यसलाई भेरिफाइ गर्ने काममा गम्भीर रूपमा लाग्नुभयो। क्राउड सोर्सिङ गर्ने, भेरिफाइ गर्ने, अनि त्यसलाई चाखलाग्दो तरिकाले प्रस्तुति दिन सक्नुपर्छ। अहिलेको जेन-जी उमेर समूह, जसले परम्परागत शैलीका समाचार रुचाउँदैन, यस्ता समाचारहरू रुचाउँदो रहेछ। यसको राम्रो प्रतिक्रिया आएको थियो।
चैत १५ पछि रिपोर्टिङ शैली नै बदलियो
पत्रकारिताको सुरुवात त २०७५ सालदेखि भयो। हामी जेन-जी उमेर समूहकाले रिपोर्टिङ सिक्दा त्यस्ता ठूला घटना भएका थिएनन्। २०७४ मा स्थानीय चुनाव भएपछि धेरैजसो मिडिया भ्रष्टाचारका कुरा लेख्न केन्द्रित थिए। मैले पनि सिक्ने क्रममा यस्तै बेथितिको रिपोर्टिङ गरेँ। त्यही बेला प्रहरी सेवाको प्रश्नपत्र बाहिरिएको कुरा आयो, अनि ‘प्रहरी आफैँ किन चोर्छ?’ भनेर रिपोर्टिङ गरेको थिएँ। यसले मलाई राज्य संयन्त्रबारे बुझ्न सहज भयो।

त्यस्तै, द्वितीय स्रोत प्रयोग गरेर अफगानिस्तानमा तालिबानको प्रवेशबारे समाचार लेखेको थिएँ, यसको पनि राम्रो प्रतिक्रिया पाएँ। खोजबिनमा जुट्न र द्वितीय स्रोत प्रयोग गर्न रामकृष्ण अधिकारी सरले सिकाउनुभयो। अनि, क्राउडसोर्सिङ गर्न रविराज बराल र अरुण सरले सिकाउनुभयो।
सामान्य समाचार लेखेर बितिरहेकै थियो। चैत १५ गतेको घटना घट्यो। यस घटनाले क्राउडसोर्सिङ गरेर कसरी काम गर्ने भन्ने सिकायो। मलाई लाग्छ, चैत १५ गते र भदौमा भएको जेन-जी आन्दोलनपछि मिडियाका प्राथमिकता फेरिएका छन्। हामीले नयाँ शैली र नयाँ विषयवस्तु उठाउनुपर्ने स्थानमा पुगेका छौँ।
कसरी त? चैत १५ मा व्यवस्थाविरोधी आन्दोलन थियो। हात-हातमा स्मार्ट फोनका कारण प्रमाण आम मानिससँग समेत हुन सक्छ। सरकारको मात्रै होइन, आम नागरिकसँग भएका तत्कालै खिचिएका भिडियो तथा फोटो पनि प्रमाण हुने भए। एक पक्षसँग मात्रै भर परेर नहुने भयो।
त्यस्तै, भदौमा भएको आन्दोलनमा विशेष कुनै नेता थिएनन्। एक जनासँग मात्रै कुरा गरेर हुँदैनथ्यो। आन्दोलन गर्ने शैली फेरियो; कुनै नेता वा सङ्गठित समूहले नभई असङ्गठित समूहले गरेको आन्दोलन भयो। निश्चित समूहसँग सूचना नहुने भयो, धेरै थरीका व्यक्तिका कुरा सुनेर, फिल्डमा गएर प्रमाण हेरेर लेख्नुपर्ने अहिलेका आन्दोलनका चुनौती भए।
जब प्रदर्शनकारी आफ्नै आँखाअघि ढले
भ्रष्टाचार र निषेधित सामाजिक सञ्जाल खुला हुनुपर्ने माग राखेर जेन-जी समूहले आन्दोलन गर्यो। कान्तिपुर दैनिकको कार्यालयबाट हामी बिहानैदेखि फिल्डमा खटिने कुरा भएको थियो। आन्दोलनको सुरुवात राष्ट्रगानबाट भयो, ‘गाउँ-गाउँबाट उठ’, ‘रातो र चन्द्र-सूर्य’ जस्ता गीतबाट सुरुवात गरियो। आन्दोलनका क्रममा के गर्ने, के नगर्ने भनेर ‘कोड अफ कन्डक्ट’ नै सुनाइएको थियो।
म आफैँ पनि जेन-जी उमेर समूहको, भलै म रिपोर्टिङ गर्न गएको थिएँ, तर भित्रैबाट आन्दोलनको शैलीप्रति श्रद्धाभाव जागेको थियो। प्रदर्शनकारीहरू अघि बढ्दै गए। सरकारले ब्यारिकेड एभरेस्ट होटलअघि मात्रै राखेको थियो। एक ठाउँमा मात्रै किन राख्यो? प्रदर्शनकारीलाई किन सहजै संसद् भवन जान दियो? म आफैँ छक्क परिरहेको थिएँ। एमसीसीविरुद्ध आन्दोलन हुँदा प्रहरीले प्रतिरक्षा राम्रोसँग गरेको थियो, यसमा तयारी फितलो थियो। यो कुरा रहस्यमय लाग्यो। त्यसपछि त गोली हानाहानकै स्थिति आइहाल्यो।
संसद् भवनको पूर्वी गेटमा एक जना प्रदर्शनकारीलाई गोली लाग्यो। उनी ढले। उनको रगत मेरो गोडामा लाग्यो। मलाई गाह्रो भयो, साथीहरूले सम्हालेर कार्यालय लगे। कार्यालय पुगेपछि नसोचेको घटना भयो भन्ने लाग्यो। के लेख्ने, के नलेख्ने केही थाहा थिएन। त्यसपछि जे देखियो, त्यही मात्रै समाचार लेखियो।
२४ गते पनि म फिल्डमै थिएँ। त्यो दिनको माहोल नै डरलाग्दो थियो, त्यो दिन म पत्रकार हुँ भन्न सक्ने अवस्था पनि थिएन। कति ठाउँमा लखेटियौँ पनि। कार्यालयबाट पनि सबैले सुरक्षित हुनु भनेर फोन गरिरहनुभएको थियो। कान्तिपुरमा पनि आगजनी गर्ने भनेर डिस्कर्डमा छलफल चलिरहेकै थियो। त्यसले झन् धेरै त्रसित बनाएको थियो।
तर पनि हामी सबैले फिल्डमै खटिएर रिपोर्टिङ गरिरह्यौँ। सिंहदरबार जल्दा म पश्चिमी गेटमै बसेर लाइभ गरिरहेको थिएँ। थापाथलीतिर आगो दन्किएको दृश्य देखेँ। म त्यतै लागेँ। कान्तिपुरको थापाथलीस्थित कार्यालय जलिरहेको थियो। मन भाँचियो।

त्यहाँ मानिसहरू उत्सव मनाइरहेका थिए। आफ्नो घर जलिरहँदा जोगाउन पाए हुन्थ्यो भन्ने लागेको थियो तर माहोल अर्कै थियो। त्यो उत्सवका बीच मेरो निराशा फिक्का भयो।
उता तीनकुनेको कार्यालयमा पनि आगजनी भएको रहेछ। तर पनि हामीले काम रोकेनौँ। पीडाका बीच पनि सम्पादकीय नेतृत्वको साहस, व्यवस्थापनको सहयोग र रिपोर्टरहरूको मिहिनेतले २५ गते पत्रिका निस्कियो। अनलाइनको सर्भरमा समस्या आए पनि हामीले सूचना दिन रोकेनौँ। हामी लामो समयसम्म ‘वर्क फ्रम होम’ मोडेलमै काम गर्यौँ। तर दशैंअघि नै हामी भेला भएर सबैसँगै काम गर्ने वातावरण बनिसकेको छ।
पछिल्लो समय भएका आन्दोलनका तारोमा किन मिडिया पनि परे भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्ने भएको छ। हामीले समाचारका प्राथमिकताहरू बदल्नुपर्ने हो कि के हो भन्नेबारे काम गर्नुपर्नेछ। जेन-जी आन्दोलनको माग मूलतः भ्रष्टाचारमुक्त राज्य र सुशासन नै हो, जसमा मिडियाभित्रको सुधार पनि उनीहरूको माग हो। मिडियामाथि आक्रमण हुनु दुःखद कुरा हो। यद्यपि, किन आक्रमण भयो भन्ने कुरा समग्र मिडिया उद्योगले बुझ्नु आवश्यक छ।
अहिले मिडिया र समाजबीच दूरी बढेको जस्तो देखिन्छ। मानौँ, धादिङमा एउटा दुर्घटना भयो भने पत्रकारहरूको स्रोत प्रहरी वा सीडीओ कार्यालय हुन्छ, न कि स्थानीय वा प्रत्यक्षदर्शी। यसले गर्दा पत्रकार र आम मानिसबीचको दूरी बढ्दै गएको देखिन्छ। यद्यपि, सबै खत्तम भएको भने होइन। तर अझ यसलाई मजबुत बनाउनु आवश्यक छ। हामी मिडियालाई 'भ्वाइस अफ द भ्वाइसलेस' भन्छौँ, तर त्यो भएको छ कि छैन? पुनर्विचार गरिनुपर्छ।
मिथ्या सूचना चिर्नु नै हाम्रो चुनौती
आन्दोलनको फिल्ड रिपोर्टपछिका दिनमा सरकार कुन बन्नेभन्दा पनि मलाई चाहिँ यस्ता घटना कसरी भए भन्नेमा केन्द्रित हुनुपर्छ भन्ने लाग्यो। भिडियोहरू कलेक्सन गर्ने काम भइरहेको थियो। कान्तिपुरको समाचारकक्षमा अब डिस्कर्डमा के-के कुरा भएको थियो, त्यो हेर्ने र काम गर्ने भन्ने कुरा भयो। पत्रकार गौरव पोखरेल र म भएर हेर्यौँ। त्यहाँ थरीथरीका कुरा भएका थिए।
पेट्रोल बम हान्नेदेखि कसकोमा के-के गर्ने भन्नेसम्मका योजनाहरू बनेका थिए। तिनै कुराहरू केलाएर समाचार लेख्यौँ। विदेशी मिडियाले केमिकल नै प्रयोग गरेको भनेपछि झन् हामी नेपाली मिडियाप्रति प्रश्न उठेको थियो। त्यसलाई चिर्न ती रिपोर्टहरूले धेरै काम गरे भन्ने लाग्छ।

सिनियर पत्रकारहरूले भनेअनुसार, २०६२/६३ को आन्दोलनपछि ६ महिनासम्म घाइते तथा अन्यको रिपोर्टिङ आएको थियो रे। अहिले हामीले पनि गरिरहेका छौँ, तर घाइतेहरू असन्तुष्ट हुनुहुन्छ। यस्तो किन भइरहेको छ, सोच्नुपर्ने भएको छ। जेन-जी आन्दोलनपछि हाम्रा स्रोतहरू बदलिएका छन्। हामीले आन्दोलनको उद्देश्य के थियो, कसरी काम भइरहेको छ भनेर निरन्तर खबरदारी गर्नुपर्ने अवस्थामा पुगेका छौँ। अझै पनि २३ गते त्यसरी गोली किन चलाइयो, २४ गतेको विध्वंस किन र कसरी भयो, यसबारे खोजबिन त जारी नै राख्नुपर्छ।
अहिले सूचना व्यक्ति-व्यक्तिसँग हुन्छ। हामीले सबैसँग भएको सूचना सङ्कलन गरेर कुन सही, कुन मिथ्या हो भनेर चिरफार गर्नुपर्ने अवस्थामा छौँ। राज्यका अङ्गहरू सबैतिर कमजोर भएको बेला मिडिया किन कमजोर हुनुहुँदैन भनेर यस घटनाले पाठ सिकाएको छ। भ्रामक सूचना चिर्नु नै हाम्रो चुनौती रहेको छ।
(दियोपोस्टबाट काम सुरु गरेका दुदराज, ‘मिडिया कुराकानी’ हुँदै अहिले कान्तिपुर दैनिकसँग आबद्ध छन्। उनीसँग जेन-जी आन्दोलनको रिपोर्टिङमा केन्द्रित भएर प्रजु पन्तले गरेको कुराकानी।)
चौथो अंगका पुराना श्रृंखला :
कात्तिक २६, २०८२ बुधबार १२:१४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।