धनगढीबाट ९५ लाख बराबरको अवैध मोबाइल पार्ट्स बरामद, सप्लायर्ससहित दुई जना पक्राउ
धनगढी : कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले करिब ९५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध मोबाइल पार्ट्ससहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१९, खेदाका ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भारत घर बताउने २५ वर्षीय आशुतोष कुमार गुप्ता रहेका छन्।
सशस्त्र प्रहरी बलको विशेष सूचनाको आधारमा, भारतबाट सुदूरपश्चिम प्रदेश ०१-००८ प ५१३२ नम्बरको मोटरसाइकलमा करिब ९ लाख ८ हजार रुपैयाँ बराबरको पार्ट्स ल्याउँदै गर्दा चौधरीलाई धनगढी-४, उत्तरबेहडीबाट नियन्त्रणमा लिइएको थियो।
चौधरीसँगको सोधपुछका क्रममा उनले उक्त सामान उत्तरबेहडीस्थित शिव पार्वती ट्रेड एन्ड सप्लायर्समा पुर्याउने गरेको खुलेको थियो।
त्यसलगत्तै सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उक्त सप्लायर्सको गोदाममा छापा मार्दा बिलबिजक नभएको थप ८४ लाख ४२ हजार ५५० रुपैयाँ बराबरको मोबाइल पार्ट्स फेला पारेको थियो। त्यसपछि सञ्चालक गुप्तालाई पनि पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई बरामद गरिएका मोबाइल पार्ट्स र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
कात्तिक २६, २०८२ बुधबार ११:२८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।