फेसबुकको वेब संस्करणमा विश्वभर समस्या, प्रयोगकर्ता हैरान

फेसबुकको वेब संस्करणमा विश्वभर समस्या, प्रयोगकर्ता हैरान

काठमाडौं : बुधबार बिहानदेखि सामाजिक सञ्जाल फेसबुकको वेब संस्करणमा विश्वभर समस्या देखिएको छ। यस समस्याका कारण कम्प्युटर र ल्यापटपबाट फेसबुक चलाउने लाखौं प्रयोगकर्ताहरू प्रभावित भएका छन्।

प्रयोगकर्ताहरूले फेसबुक खोल्दा ‘एरर ५००’ (Error 500) देखाउने, कमेन्ट बक्स नदेखिने, तर अरूको कमेन्टमा रिप्लाई भने गर्न सकिने जस्ता समस्याबारे रिपोर्ट गरेका छन्।

वेबसाइटहरूको समस्या ट्र्याक गर्ने प्लेटफर्म ‘डाउनडिटेक्टर’ (Downdetector) मा हजारौं प्रयोगकर्ताले यसबारे रिपोर्ट गरेका छन्। नेपालसहित अमेरिका, युरोप र एसियाका विभिन्न देशका प्रयोगकर्ताहरूले यो समस्या भोगिरहेको बताएका छन्।

तर, मोबाइल एपमा भने फेसबुक सामान्य रूपमा चलिरहेको छ।

फेसबुकको मातृ कम्पनी मेटाले यसबारे अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन। सामाजिक सञ्जाल ‘एक्स’मा पनि प्रयोगकर्ताहरूले यसबारे गुनासो गरिरहेका छन् र स्क्रिनसटहरू सेयर गरिरहेका छन्।

कात्तिक २६, २०८२ बुधबार ०८:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।