सेवा अवधि नसकिँदै राजीनामा दिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक बाराकोटीको राजीनामा स्वीकृत
काठमाडौं : मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टङ्कप्रसाद बारकोटीको राजीनामा स्वीकृत गरेको छ।
स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव समेत रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक बाराकोटीले कार्तिक २१ गते शुक्रबार सरकारी सेवाबाटै राजीनामा दिएका थिए। शुक्रवार स्वास्थ्यमन्त्री सुधा शर्मालाई भेटेर उनले राजीनामा पत्र दिएका हुन्। १२ औँ तहका उनको सेवा अवधि अझैँ करिब दुई वर्ष बाँकी नै थियो।
राजीनामा दिएकोबारे उकेराले जिज्ञासा राख्दा उनले आफ्नो स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको बताए। ‘मेरो स्वास्थ्य र पारिवारिक कारणले आज सरकारी सेवाबाट राजीनामा दिएको हुँ,’ उनले भने,‘मलाई सहयोग गर्ने सबैलाई धन्यवाद।’
गत वर्ष फागुनमा उनी स्वास्थ्य सचिवको प्रतिस्पर्धामा थिए। तर राजनीतिक निकटताको आधारमा निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त गरेका थिए। त्यसपछि डा. बाराकोटीको विभागको महानिर्देशकमा सरुवा भएको थियो।
उनी विभागमा आएपछि उनी आउनु अगाडि डा विकास देवकोटाले मिलेमतोमा अगाडि बढाएका केही खरिदको प्रक्रिया रद्द गराएका थिए।
कात्तिक २५, २०८२ मंगलबार १८:२४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।