भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव : नयाँ प्रयोगशाला सञ्चालन, ३०० शय्यामा विस्तारको योजना
भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले सोमबार आफ्नो ३१औं वार्षिकोत्सव एक विशेष समारोहका बीच मनाएको छ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले नवनिर्मित अत्याधुनिक प्रयोगशाला भवनको उद्घाटन गरेको छ भने भविष्यमा अस्पताललाई ३०० शय्यामा विस्तार गर्ने महत्त्वाकांक्षी योजना पनि सार्वजनिक गरेको छ।
समारोहकी प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गरिन्। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. गौतमले भक्तपुर क्यान्सर अस्पतालले तीन दशकमा हासिल गरेको प्रगतिलाई गौरवको विषय बताइन्।
उनले भनिन्, ‘यो अस्पतालले जनतामाझ क्यान्सर उपचारको पहुँच विस्तार गरेको छ। अब सरकारले यसलाई राष्ट्रियस्तरको ‘क्यान्सर एक्सिलेंस सेन्टर’का रूपमा विकास गर्न दीर्घकालीन योजना बनाउनेछ।’
मन्त्री गौतमले अस्पतालको पूर्वाधार, जनशक्ति र प्राविधिक क्षमता विस्तारका लागि सरकारले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पतालको ३१ वर्षे यात्राको स्मरण गर्दै भविष्यका योजनाहरू प्रस्तुत गरे।
उनले भने, ‘सन् १९९४ (वि.सं. २०५१) मा जम्मा दुई शैयाको प्यालियटिभ केयर युनिटबाट सुरु भएको यो यात्रा आज १५० शैयाको समग्र क्यान्सर अस्पतालमा विकसित भएको छ, जुन हामी सबैको साझा गौरव हो।’
उनले अग्रजहरूको सङ्घर्ष, समर्पण र अथक मेहनतले नै आज अस्पताल देशकै अग्रणी क्यान्सर उपचार केन्द्र बनेको उल्लेख गरे।
डा. चालिसेले अस्पतालको क्षमता विस्तारका लागि चाँगुनारायण नगरपालिका-३ मा ४५ रोपनी जग्गा नगर कार्यपालिकाबाट स्वीकृत भई प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पेश भइसकेको जानकारी दिए। उक्त जग्गा प्राप्त भएमा अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्दै नयाँ प्रविधिहरू भित्र्याउने योजना रहेको उनले बताए।
सोही अवसरमा डा. चालिसेले स्वास्थ्य मन्त्रीसमक्ष अस्पतालका कर्मचारी सेवा विनियमावली र ओएनएम शीघ्र स्वीकृत गरिदिन अनुरोध गरे। नियमावलीको अभावमा आवश्यक विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको पदपूर्ति र स्थायित्वमा कठिनाइ भइरहेको उनले स्पष्ट पारे।
कार्यक्रममा अस्पतालमा २० र २५ वर्षभन्दा लामो समयदेखि सेवा दिइरहेका समर्पित कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
अस्पतालले सुलभ शुल्कमा अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै उपचारका लागि विदेशिने प्रवृत्ति घटाएको र यसबाट अरबौँ रुपैयाँ देशभित्रै बचत गर्न सहयोग पुर्याएको पनि उनले बताए।
डा. चालिसेले ‘क्यान्सर उपचारमा समान पहुँच, करुणा र गुणस्तरीय सेवा’लाई अस्पतालको मूल उद्देश्यका रूपमा दोहोर्याउँदै आगामी दिनमा यसलाई देशकै उत्कृष्ट क्यान्सर केयर सेन्टर बनाउने बताए।
कात्तिक २५, २०८२ मंगलबार ११:२६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।