जागिरको प्रलोभन देखाउँदै नर्सलाई यौन प्रस्ताव राख्ने डा. साहबारे छानबिन गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं : गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक डा. प्रकाश प्रसाद साहले पदको दुरुपयोग गर्दै स्वास्थ्यकर्मीलाई फोन गरेर यौन प्रस्ताव राखेको विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढाएको छ।
अस्पतालका निर्देशक डा. साहले एक स्वास्थ्यकर्मीलाई फोन गरेर जागिर र तालिमको प्रलोभन देखाउँदैन त्यसबापत आफूसँग निकट हुनुपर्ने, आत्मीय सम्बन्ध बनाउनुपर्ने लगायतका प्रस्ताव राखेको अडियो संवाद उकेराले सार्वजनिक गरेको थियो।
स्वास्थ्यमन्त्री सुधा शर्माले साहबारे केही गुनासो आएको र त्यसको जाँचबुझ भइरहेको सोमबार उकेरासँग बताइन्।
‘उहाँको बारेमा केही गुनासाहरू प्राप्त भएका छन्,’मन्त्री शर्माले उकेरासँगको कुराकानीमा भनिन्,‘त्यसको जाँचबुझ हुँदैछ।’
जाँचबुझपछि के नतिजा आउँछ त्यही अनुसारको निर्णय हुने मन्त्री शर्माले बताइन्। ‘जाँचबुझबाट केही आयो भने त्यसको कारबाही हुन्छ,’उनले भनिन्,‘अहिलेलाई केही भएको छैन।’
गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक डा. साहले पदको दुरुपयोग गर्दै रोजगारीको प्रलोभन दिँदै महिला स्वास्थ्य कर्मचारीलाई यौन प्रस्ताव राखेको अडियो उकेराले बिहीबार सार्वजनिक गरेको थियो। उकेराले अडियो सार्वजनिक गरेपछि साह काठमाडौंबाट अस्पताल गएर हिँडेका थिए। अस्पतालस्रोतका अनुसार त्यसपछि उनी अस्पताल फर्किएका छैनन्। क्वाटरमा ताल्चा लागेको छ।
अस्पतालको निर्देशकको पदको दुरुपयोग गर्दै उनले यौन प्रस्ताव राख्दै त्यस बापत आफूले जागिरको अवसर दिने प्रस्ताव राखेको अडियो सार्वजनिक भएको थियो।
उकेराले उनको आठ मिनेट ५१ सेकेन्ड लामो अडियो पाएपछि त्यसमा छेडखानी गरिएको छ या छैन भनेर परीक्षण गरेको थियो। परीक्षणमा अडियोमा कुनै छेडखानी नभएको देखियो। त्यसमा रहेको पुरुषको संवाद डा. साहको रहेकोबारे उकेराले समाचार सम्प्रेषण गरेको थियो। उनले समेत सो स्वर आफ्नै भएको स्विकारी सकेका छन्।
जेन–जी आन्दोलनको बलमा स्वास्थ्य मन्त्री बनेकी डा. शर्माले मन्त्रालय अन्तर्गतका विभिन्न कर्मचारीको सरुवाको निर्णय गर्दा डा. साहको पनि सरुवा भएको थियो। कात्तिक १८ को मन्त्रीस्तरिय निर्णयमा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख रहेका डा. साहको हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा गर्ने निर्णय भएको थियो।
तर, १९ गते नै उनको सरुवाको निर्णय सच्चियो। मन्त्रीले अघिल्लो दिन आफैंले गरेको निर्णय सच्याउँदै डा. साहलाई पुन सोही अस्पतालको प्रमुखमा यथावत् राख्ने निर्णय गरिन्।
मिलेमतोमा भएका खरिदमा संलग्न देखिएका डा. साहलाई निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरुवा गरेर गजेन्द्र नारायण अस्पताल पठाएका थिए। उनले गत वर्ष अस्पतालको स्वास्थ्य उपकरण खरिदमा निश्चित कम्पनीको सप्लायर्ससँग मिलेमतो गरेका थिए। उकेराले यसबारे प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।
सम्बन्धित समाचार
कात्तिक २४, २०८२ सोमबार २१:३०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।