पर्वतारोही मायाको प्रसव पीडा र खुसी : मकालु चढ्ने तयारीमै रहँदा गर्भवती, छोरी जन्माएको चार वर्षमै केटु हिमालमा पाइला
कीर्तिमानी पर्वतारोही माया शेर्पा हिमाल आरोहणमा जाने महिलाका लागि प्रेरणाको स्रोत हुन। उनमा अहिले नयाँ पुस्तालाई हिमालसँगको सम्बन्ध, जोखिम र आत्मविश्वासबारे सिकाउने जिम्मेवारी पनि छ।
ट्राभल एजेन्सीहरूले सगरमाथा आरोहणको तयारी गरिरहेकाहरूसँग ‘एभेरेस्ट टक’ नामको एक घण्टे तालिम सञ्चालन गर्ने गर्छन्। सो सत्रमा माया आफैं उपस्थित भई महिलाहरूसँग आफ्नो वास्तविक अनुभव बाँड्छिन्। आरोहणका कठिन क्षणदेखि सफलताको खुसी साट्दै उच्च मनोबलका साथ अघि बढ्न प्रेरित गर्छिन्।
ओखलढुंगामा जन्मिएकी मायाका बुवा ट्रेकिङ गाइड थिए। बाल्यकालदेखि नै हिमाल, पदमार्ग र पर्यटक संसारसँग परिचित भएकी उनले पनि यही क्षेत्रमा केही योगदान गर्ने सपना बोकेकी थिइन्। त्यही सपनाको यात्रामा उनले ट्रेकिङ गाइडको रूपमा करियर सुरु गरिन् र क्रमशः विश्वकै उच्च शिखरहरूमा पाइला टेक्न पुगिन्।
उनले अहिलेसम्म आठ हजार मिटरभन्दा माथिका सातवटा हिमाल चढिसकेकी छिन्। आमा दब्लम, पुमोरी र चो ओयु हिमालमा पाइला टेक्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि उनको नाममा छ। आरोहणसँगै गाइडको काम निरन्तर गर्दै आएकी माया अहिले काठमाडौंमा आफ्नै व्यवसाय पनि सञ्चालन गर्छिन्।
जब उनी आफ्नो पर्वतारोहण करियरको सर्वोच्च शिखरमा थिइन्, त्यसैबेला उनी आमा बन्न लागेको खबरले उनको जीवनमा नयाँ मोड ल्यायो। मातृत्वको तयारीका कारण उनले पाँच वर्षसम्म हिमाल आरोहणबाट दूरी बनाइन्। सानो बच्चा छोडेर फेरि हिमालतिर फर्किनु उनको लागि असाध्यै ठूलो चुनौती थियो। माया भने चुनौतिबाट पछि हट्ने स्वभावकी थिइनन्। उनले मातृत्व र आरोहण दुवै भूमिकालाई सन्तुलनमा राख्दै अघि बढिन्।
उनको साहसको अर्को उदाहरण पाकिस्तानमा रहेको विश्वकै खतरनाक मानिने के-२ हिमालको सफल आरोहण हो। त्यो सफलता पछि माया शेर्पाको यात्रा कहिल्यै रोकिएन।
अब उनी केवल पर्वतारोही मात्र होइनन्- प्रेरणादायी प्रशिक्षक, आमा र उद्यमीको रूपमा पनि चिनिन्छिन्। उकेराको साप्ताहिक स्तम्भ प्रसव पीडा र खुसीमा उनले आफ्नो मातृत्वका पीडा, खुसी र आत्मानुभूति खुला हृदयले बाँडेकी छिन्।
०००
मैले सन् २००१ देखि ट्रेकिङको काम सुरु गरेको हुँ। त्यसबखत यस क्षेत्रमा महिलाहरू निकै कम थिए। हिमाल चढ्ने महिलाहरू पनि औंलामा गन्न सकिने मात्र थिए। तर अहिले समय धेरै अगाडि बढिसकेको छ। महिलाको एकदम राम्रो सहभागिता देखिन्छ।
म आफैंले पनि ‘हिमाल चढ्छु’ भनेर त सोचेकी पनि थिइनँ। सुरुमा मैले ४० दिनको अरुण भ्याली ट्रेक गरेको थिएँ। पछि बिस्तारै गाइड महिलाहरूको खोजी भइरहेको थाहा पाएँ। त्यही बेला सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविरजस्ता स्थानहरू पुग्न पाएँ।

सन् २००३ मा मैले आमा दब्लम हिमाल नै आरोहण गरेँ। पछि हिमाल आरोहणका तालिमहरू पनि लिएँ। यसरी नै पुमोरी, चोयु हिमालहरू पनि चढ्न सफल भएँ। ल्होत्से हिमालपछि भने सन् २००६ मा नेपालबाट सगरमाथा चढेँ। पछि चीनबाट पनि चढ्ने अवसर पाएँ।
सबै राम्रै चलिरहेको थियो। तर एक समयपछि छोरी मान्छेलाई घरदेखि समाजसम्म बिहेको प्रेसर आउने रहेछ। त्यही बेला मैले यसै क्षेत्रमा काम गरिरहेका, हिमालमै भेटिएका साथी सँग बिहे पनि गरेँ। बिहे गर्नु अघि मेरो एक मात्र शर्त भनेको म हिमाल चढ्नबाट बञ्चित नहुनु थियो।
बिहेपछि मैले आफू झन् स्वतन्त्र भएको महसुस गरेँ। एउटै क्षेत्रमा काम गर्ने साथी भएपछि त्यत्तिको बुझ्ने रहेछ जस्तो लाग्यो। उसले मसँगै मेरो कामलाई पनि बुझ्यो। त्यो भन्दा ठूलो कुरा मेरो लागि के नै हुन सक्थ्यो र! हामीले धेरै कामहरू मिलेर पनि गर्यौं। बिहेपछि पनि म निकै सक्रिय रहेँ।
नेपालसँगै विदेशका हिमालहरू समेत चढेँ। हाम्रो बेलामा २० वर्षको उमेर कटेपछि छोरी मान्छेलाई बिहे गर्नुपर्ने दबाब अनि बिहेपछि बच्चाको दबाब हुने रहेछ। तर हामीले अघि नै तयारी र योजना गरेर बिहेपछि केही समयपछि मात्र सन्तानको बारेमा सोच्ने निर्णय गरेका थियौं।
मकालु हिमाल चढ्ने तयारी हुँदै थियो। त्यसै बेला परिवार सहित सगरमाथा आधार शिविर जाने हाम्रो योजना बन्यो। त्यही अनुसार काठमाडौँबाट हामी लुक्ला गयौं। लुक्लाबाट माथि जाँदै गर्दा मलाई निकै गाह्रो भयो। नाम्चे जाँदा त हातखुट्टा नै गलेका थिए।
भर्खर हिमाल चढेर आएको भएर आराम नपुगेको हो कि भन्ने पनि लाग्यो। तर मलाई निकै गाह्रो भइरहेको थियो। सास फेर्न पनि सकिरहेको थिइनँ। कहिले ट्रेकिङ नगएका आमा र बहिनीहरू ठमठम परेर हिँडिरहँदा म पछि परिरहेकी थिएँ र लाज पनि लागेको थियो।
त्यो बेला फर्किने भनेर समेत तयारी गर्दै थिएँ। तर सबैले परिवार सहित आएको हुँदा “एक्लै कसरी फर्किन्छेस्” भनेपछि जसोतसो आधार शिविर पुगें। त्यतिबेला आफूलाई के भइरहेको छ भनेर मैले दिदीहरूलाई सुनाएँ। उहाँहरूले ‘प्रेग्नेन्ट भयो कि!’ भन्दा पनि होइन होला भन्ने लागेको थियो।
काठमाडौँ फर्केर जाँच गर्न जाँदा आठ हप्ताको गर्भ रहिसकेको रहेछ। त्यसपछि मजाले आराम गरेँ। अनि नानी भएको चार वर्षसम्म म हिमालबाट टाढा रहेँ। अफिसका भित्री कामहरू मात्र गर्थेँ। ट्राभल नगर्नू भनेर डाक्टरले सल्लाह दिएका थिए।
तर परामर्शमै रहेर केही विदेशी भ्रमणहरू भने छोडिनँ। केही समय अनावश्यक रगत पनि बगिरहेको थियो। त्यसले गर्दा दुई महिना जति तनाव भयो। पछि सामान्य हुँदै गयो। प्रायः घरमै बस्थेँ। ट्रेकिङ गरेको भएर मलाई थप शारीरिक रूपमा अफ्ठ्यारो भएन। तौल पनि धेरै बढेन।
आमा हुन लागेकोमा मनमा खुशी थियो। उत्साहित पनि थिएँ। पुरै समय आफू र सन्तानलाई दिएँ। तर डाक्टरले दिएको मितिसम्म सन्तान नजन्मिएपछि अप्रेशन नै गरेर निकाल्न पर्यो। नर्मल नै गराउने प्रयास पनि गरेकी थिएँ।
त्यो बेला विश्वकप फुटबल चलिरहेको थियो। मलाई पनि फुटबल निकै मन पर्ने भएकाले राति १२ बजे गेम हेर्दै थिएँ। व्यथा लागेको जस्तो भएपछि अस्पताल गयौं। बाटोभरि गेमको रौनक थियो। मलाई व्यथा भन्दा बढी ध्यान कसले गोल गर्छ भन्नेमा थियो।
बिहान पाँच बजे सम्म पनि प्राकृतिक रूपमा बच्चा ननिस्किएपछि अप्रेशन गरियो। नानीलाई २४ घण्टाको निगरानीमा राखियो। मलाई भने अप्रेशन कक्षबाट अर्को कोठामा लगियो। सिधा पारेर सुताउँदा निकै अफ्ठ्यारो भएको थियो। कोही बच्चा रोएको सुन्यो कि मेरो बच्चा रोएको हो कि भन्ने लाग्थ्यो।

रातभर रोयो होला, उ कसरी बसिरहेको छ होला भन्नेमा मेरो ध्यान थियो। अस्पतालको बसाइ मलाई खासै राम्रो लागेन। २४ घण्टा पछि नानी दिइयो। पहिलो पटक नानी देख्दा अर्कै अनुभूति भएको थियो। नानीका हातखुट्टा लामो, सर्लक्क परेका थिए।
त्यो बेला उसलाई स्तनपान गराएँ। स्तनपान गराएपछि मलाई उसँग आत्मीयता बढेको महसुस भयो। त्यसबेला देखि माया लागेको भन्दा पनि फरक नपर्ला। बच्चा रुने, दूध चुसाउने अनि बच्चा खुशी हुने। कस्तो मिठो सम्बन्ध महसुस हुने रहेछ।
नानी दिएपछि हामीलाई घर जान दिइयो। एक हप्ता जति त मलाई हिँड्न निकै कठिन भएको थियो। त्यो बेला ‘बच्चा पाएपछि केटीहरू पहिलाजस्तो हुँदैनन्’ भन्ने सुनेको कुरा याद आइरहेको थियो। मलाई पनि म पहिलाजस्तो फुर्तिलो हुँदिन कि भन्ने डर लागेको थियो। त्यसबेला निकै रिस पनि उठ्थ्यो।
जे होस्, मैले मजाले छोरीलाई समय दिएँ। नानीसँग समय बिताउँदै जाँदा आत्मीयता पनि बढ्दै गयो। म त्यसैमा रम्दै गएँ। स्तनपान गर्न सुरुमा त गाह्रो हुने रहेछ। भोक पनि धेरै लाग्ने अनि निन्द्रा पनि पुग्दैन। बच्चालाई दूध खुवाउन थालेपछि आमालाई निकै भोक लाग्ने रहेछ। मेरो नानी फेरि सुत्दै नसुत्ने थिइ। सुत्केरी स्याहार पनि राम्रो भयो।

घरबाट बच्चालाई असर गर्ने खानेकुराहरू खान दिनुहुन्नथ्यो। चार वर्षपछि मैले फेरि हिमाल चढ्ने आँट गरेँ। जाने भनेर सबै तयारी गरेँ तर जाने दिन आउँदै गर्दा छोरीको निकै माया लाग्थ्यो। उसलाई छोडेर जान पर्दा नरमाइलो लाग्थ्यो। हिमाल आफैंमा निकै चुनौतिपूर्ण हो। “म त्यहाँबाट फर्किएन भने छोरीको के हालत हुन्छ?” भन्ने पनि मनमा आउँथ्यो।
निकै गह्रौं मन लिएर गएँ। फोनबाट उसको बारेमा कुरा हुन्थ्यो तर उससँग प्रत्यक्ष कुरा गर्न सक्दिन थिएँ। ‘बच्चाको मायाले गर्दा पनि जोखिम लिँदैन होला, शरीर पनि कमजोर भयो’ भन्ने कुरा सम्झिँदा आफैंमा आँट आउँथ्यो। त्यसपछि मैले झन् धेरै हिमाल चढेकी छु।
एक दिन ‘कमब्याक गर्छु’ भनेर मैले त्यसबेला केटु हिमाल चढेँ। नानी भएपछि मेरो तौल पनि निकै बढेको थियो। त्यस्तो बेला विश्वकै सबैभन्दा गाह्रो मानिने हिमाल चढ्ने योजना बनाउनु आफैंमा साहसको कुरा थियो। त्यसबेला केटु चढ्ने पहिलो नेपाली महिला समूह भयौं।
मेरो १२ किलो तौल घटेको थियो। शरीरले जतिसुकै गाह्रो भयो भने पनि मनोबल बढाएर पूरा गरेरै छाड्यौं। हामी काठमाडौँ फर्किँदा धेरै मान्छेहरू एयरपोर्टमा स्वागत गर्न आएका थिए। त्यसमा सबैभन्दा भावुक भएको क्षण भने मेरो छोरीलाई देख्दा थियो। लगभग दुई महिना पछि मैले छोरीलाई भेटेकी थिएँ। अहिले सम्झिँदा पनि “ओहो!” भन्ने लाग्छ।
त्यसपछि त छोरीलाई छोड्ने बानी भयो। अहिले त उ ठूली भइसकेकी छे, बुझ्ने भइसकेकी छे। मेरो कामलाई पनि बुझ्छे। नौ कक्षामा पढ्दै छे। तर साथी जस्तै छे। मलाई हौसला दिने गर्छे। बीचमा म र उसको बाबा दुवै व्यस्त भएपछि उसले एक्लो महसुस गरेको हो कि भन्ने लाग्थ्यो। त्यसैले अहिले हामीले उसलाई छोडेर खासै बाहिर गएका छैनौं।
अहिले त उ किशोरावस्थामा छे, त्यसैले पनि बढी समय दिन्छौं। १७ वर्ष पुगेपछि भने उसले आफ्नो ख्याल आफैं गर्न सक्ला। म सँग भन्दा बढी मेरो दिदीसँग उ नजिक छे। म अलि कडा भएकाले डराउँछ पनि।
नानी भएपछि हामीले दोस्रो सन्तानको बारेमा सोचेनौं। पहिलो सन्तान छोरा भयो भने दोस्रो छोरी जन्माउने भन्ने मेरो सोच थियो। तर पहिलो नै छोरी भएपछि हामीले अर्को सन्तान चाहिँदैन भन्ने निर्णय गर्यौं। उसलाई राम्रो शिक्षा दिनुनै हाम्रो पहिलो प्राथमिकता हो। अहिले उ राम्रो विद्यालयमा पढिरहेकी छे।
उसलाई पनि ट्राभल खुब मन पर्छ। तर उ हिमालभन्दा समुद्रमा बढी रमाउँछे। पौडी र स्कुबा डाइभिङको तालिम पनि लिएकी छे। एकदम सिर्जनशील छे।
आमा हुनु भनेको एउटा मिठो अनुभव रहेछ। खुसी हुनु रहेछ। अझै पनि यस यात्रामा धेरै कुरा बाँकी छ। जति पनि गरेँ, त्यसमा निकै खुसी छु।

कात्तिक २३, २०८२ आइतबार १४:३५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।