अमेरिकी शटडाउनको असर : पाँच हजारभन्दा बढी उडान रद्द, कयौं ढिलाइ
एजेन्सी : अमेरिकामा जारी सरकारी कामकाज बन्द (शटडाउन) का कारण हवाई सेवा अस्तव्यस्त बनेको छ।
सरकारले एयरलाइन्स कम्पनीहरूलाई उडान संख्या घटाउन निर्देशन दिएपछि शुक्रबार मात्रै ५ हजारभन्दा बढी उडानहरू रद्द भएका छन् वा समयमा उड्न सकेनन्।
यो समस्याले अमेरिकाका ४० वटा सबैभन्दा व्यस्त विमानस्थलका घरेलु उडानहरू प्रभावित भएका छन्।
विमानस्थलहरूमा ‘एयर ट्राफिक कन्ट्रोलर’ (उडान नियन्त्रक) को अभाव भएपछि अधिकारीहरूले उडान घटाएर उनीहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्।
सरकारी शटडाउनका कारण एयर ट्राफिक कन्ट्रोलरहरूले तलब पाएका छैनन्।
तलबविना काम गर्नुपरेपछि धेरैले बिरामी बिदा लिएका छन् भने कतिपयले अन्य काम खोजिरहेका छन्, जसकारण विमानस्थलमा उनीहरूको अभाव भएको हो।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) का अनुसार, घरेलु उडानहरूमा हाल ४ प्रतिशतले कटौती गरिएको छ।
आगामी हप्ताको अन्त्यसम्ममा यो कटौतीलाई बढाएर १० देखि २० प्रतिशतसम्म पुऱ्याउन सकिने एफएएले जनाएको छ।
कात्तिक २२, २०८२ शनिबार ०७:४०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।